१३ श्रावण २०७८, बुधबार

एनआरएनए बेल्जियममा ‘सर्वसहमति’को पहल गरिँदै

  प्रकाशित मिति
५ श्रावण २०७८, मंगलवार ०४:३६


अधिवेशन उद्घाटन गर्दै अध्यक्ष पन्तले भने- ‘नेपालमा नेताभन्दा कर्मचारी खराब’

  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको आठौँ राष्ट्रिय महाधिवेशन आइतबार आन्तर्पेनमा आयोजना गरिएको छ । प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी र विशिष्ट अतिथि एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको महाधिवेशनमा राजदूत राजभण्डारीले बेल्जियममा धेरै संघसंस्थाहरू स्थापित भएकोप्रति खुसी व्यक्त गर्दै यसकै परिणामस्वरुप नेपालको विपद्मा आफूले छोटो समयमा धेरै सहयोग प्राप्त गरेको बताउनुभयो ।

राजदूत भण्डारीले बेल्जियममा स्थापित व्यवसायीहरूले सानै रूपमा भए पनि नेपाली उत्पादनको प्रयोग र प्रचारप्रसार गरिदिन सुझाव दिनुभयो । उहाँले नेपालीमा उत्पादित साना-साना हस्तकलालगायतका बस्तुहरूले बेल्जियमा नेपालको पहिचान दिन सक्ने भएकोले सो कार्य गर्न व्यवासायी तथा एनआरएनहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले नेपालमा नेताहरूसँग काम लिन सजिलो तर कर्मचारीसँग कठिन भएको प्रसङ्ग सुनाउँदै कर्मचारीतन्त्रको सोच फराकिलो भए नेपालीमा वैदेशिक लगानी गर्न सजिलो हुने तर्क गर्नुभयो ।

अध्यक्ष पन्तले आफूले एनआरएनएभित्र अनावश्यक राजनीति र पैसाको खेलको अन्त्य गर्न खोजेको जिकिर गर्दै राजनीति गर्ने भए प्रवास छोडेर नेपाल जान सुझाव दिनुभयो । उहाँले एनआरएनएलाई नेपालको राजनीतिअनुसार नभाँड्न अनुरोध गर्दै मिलेर जाँदा संघले धेरै काम गर्न सक्ने बताउनुभयो ।

त्यस्तै, नेताले चुनावको बेला होटलको कोठा-कोठा धाउने र आशिर्वाद लिने प्रवृत्तिको अन्त्य गर्न आफूले अनलाइन मतदान पद्धतिको विकास गर्न खोजेको अध्यक्ष पन्तले खुलासा गर्नुभयो ।

केन्द्रीय सचिव आरके शर्माले संघमा सबै पक्ष मिलेर जाँदा धेरै काम गर्न सकिने उल्लेख गर्दै अहिलेको अवस्थामा एनआरएनलाई सामुहिक एकता खाँचो रहेको बताउनुभयो भने जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले सबै समुदायबीच सद्भाव बनाउनुपर्ने र समुदायलाई विभाजित गर्न नहुने सुझाव दिनुभयो ।

आफूहरूले राजनैतिक आस्था र विचारलाई मार्न नसक्ने तर्क गर्दै सापकोटाले राजनैतिक आस्था बोके पनि आफूहरू एनआरएनएलाई सर्वसम्मत गराएर लैजाने वातावरण बनाउन तत्पर रहेको बताउनुभयो । वैचारिक रुपले आफुहरू फरक भए तापनि वर्तमान कार्यसमितिलाई आफूहरूले पूर्ण रुपले सहयोग गरेको उहाँको जिकिर थियो ।

ओएनएफका अध्यक्ष बोधराज पौडेलले एनआरएनलाई सहि बाटोमा लग्नका लागि वैचारिक संगठनहरूको भूमिका महत्वपूर्ण भएको बताउँदै आफूहरू सम्मानजनक रूपमा सहमतिमा जान तयार रहेको उल्लेख गर्नुभयो । उहाँले कसैलाई घेराबन्दी गर्न नहुने र काम गर्न चाहेकाहरूलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

जनप्रगतिशील मञ्चका अध्यक्ष जीत लामाले जहाँ गए पनि हामी नेपाली भएको उल्लेख गर्दै ‘एक पटकका लागि, सधैंका लागि’ भन्ने नारा सार्थक बनाउन एकतामा जोड दिनुपर्ने बताउनुभयो ।

संघीय समाजवादी पार्टिका अध्यक्ष नेत्र मगरले उम्मेदवारी घोषणा गर्ने नभई अधिवेशनको उद्घाटन शत्र भएको बताउँदै समितिले सदस्यता नविकरण गर्ने प्रक्रियालाई जटिल बनाइएको कारण के हो भन्ने प्रश्न गर्नुभयो । उहाँले सदस्य बन्नेहरूका लागि संगठन उदार हुनुपर्ने कुरामा जोड दिँदै प्रक्रिया पुऱ्याएर आएका आवेदकहरूलाई संघको सदस्यता दिनुपर्ने सुझाव दिनुभयो ।

आईसीसी सदस्य एवंम अध्यक्षकी प्रत्यासी अनुजा प्रधानले वर्तमान समितिले उल्लेख्य कार्य गरेको बताउँदै एकिकृत भएर आएको समितिलाई काम गर्न सजिलो हुने धारणा राख्नुभयो । सबै मानव जातिको राजनैतिक चेतना हुने भएता पनि एनआरएनलाई बढी राजनैतिक हस्तक्षेप गर्न नहुने र यसले समाजलाई सकारात्मक रुपले अगाडि बढाउन नसक्ने उहाँको भनाइ थियो ।

उद्घाटन शत्रमा लोकतान्त्रिक समावेशी समुहका तर्फबाट अध्यक्षका उम्मेदवार सीपी भट्ट, अर्का उम्मेदवार खड्गबहादुर केसी, सांग्रीला समाज बेल्जियमका अध्यक्ष नारायण अधिकारी, कास्की समाज बेल्जियमका अध्यक्ष डिल्लीराम भण्डारी, तमु समाज बेल्जियमका अध्यक्ष ओमराज गुरुङ, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, म्याग्दी समाज बेल्जियमका अध्यक्ष योगेन्द्र वि.क., पर्वत समाव बेल्जियमका अध्यक्ष भीम जोशी, चितवन सहयोग समाज बेल्जियमका अध्यक्ष रामचन्द्र सुवेदी, पूर्वअध्यक्षहरू जानकी गुरुङ, प्रेम गुरुङ, गंगाधर गौतम, सुवास जोशी, नेपाली व्यवासायी संघ बेल्जियमका अध्यक्ष यमु निरौला लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने अधिकांश वक्ताहरूले आगामी कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्न आग्रह गरेका थिए ।

कार्यक्रमपश्चातको बन्द शत्रमा सांगठनिक प्रतिवेदन महासचिव तीर्थराज धमला, युवासम्बन्धी प्रतिवेदन युवा संयोजक कासी दनै, महिला फोरम प्रतिवेदन महिला संयोजक सुशीला खतिवडा र आर्थिक प्रतिवेदन प्रकाशराज गिरीले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य हरि भट्टराईले दिनुभएको थियो ।

ज्ञातव्य छ, एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ भने लोकतान्त्रिक समावेशी समुह र स्वतन्त्र समावेसी समुह चुनावी मैदानमा छन् ।

उम्मेदवारहरूले बेल्जियमका विभिन्न शहरहरूमा सामुहिक रूपमा प्रचारप्रसार शुरु गरेका छन् । सामाजिक संजालहरूमार्फत पनि उनीहरूले आफूसमर्थकलाई भोट दिन आग्रह गरेका छन् । निर्वाचन समितिले भने आज मंगलबार २ बजेबाट उम्मेदवारहरूको परिचय र सर्वसहमतिको लागि पहल गर्ने कार्यक्रम आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर