‘मैले सहज रूपमा लिने कुरै भएन’ : धीरेन्द्र शाह

‘मैले सहज रूपमा लिने कुरै भएन’ : धीरेन्द्र शाह


(२० वर्षअघिको घटना र विचारबाट)

श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव स्वास्थ्य परीक्षणका लागि लण्डनमा राज होइबक्सेका बेला यहाँ प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको महसूस गरेर प्रतिनिधिसभाका सदस्यहरूले यो साता संसद्मा उधुम मच्चाए । पूर्व श्री ५ अधिराजकुमार धीरेन्द्र शाहले अतिथिका रूपमा भाग लिनुभएको कुनै एक कार्यक्रममा वक्ताहरूले बोलेका कुराहरूलाई लिएर सांसदहरूले स्वयम् धीरेन्द्र शाहमाथि गत सोमबारको संसद्मा तीर वर्षाए ।

राष्ट्रवादी युवा मोर्चा नाम गरेको तर कहिल्यै नाम नसुनिएको संस्थाले श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाहदेवको शुभजन्मोत्सवको अवसरमा गत २४ गते शनिबार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा पूर्व श्री ५ अधिराजकुमार धीरन्द्रलाई उद्घाटन गरिदिनका लागि आग्रह गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बनेर पुग्नुभएका धीरेन्द्रलाई देखेर वक्ताहरू सम्भवतः अधिक उत्तेजित भए र, मुखमा जे आयो त्यो बोलेर ‘प्रजातन्त्रको सदुपयोग’ गर्न पुगे । खासगरी सिने कलाकार मोहन निरौलाले आदेश पाए प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्छु र मार्छुसम्म भन्न पुगेपछि स्वयम् धीरेन्द्र शाहसमेत त्यहाँ झस्किनुभएको बताइन्छ । तर शाह झस्किए पनि विरोधको निसाना भने उहाँ नै बन्न पुग्नुभएको छ । कांग्रेस-कम्युनिष्ट सबै पक्षका सांसदहरूले धीरेन्द्र शाह अतिथि रहनुभएको कार्यक्रममा वक्ताहरूले बोलेका कुरालाई अत्यन्त गम्भीरताका साथ लिएका छन् र, यसलाई प्रजातन्त्रमाथि खतराको पूर्वसङ्केतका रूपमा ब्याख्या गरेका छन् ।

संसद् अधिवेशनमा सांसदहरूले निकै ठूलो इस्यू बनाएर यस प्रकरणलाई उठाएपछि धीरेन्द्र शाहले यस घटनाबाट आफू दुखित र चकित भएको बताउनुभएको छ । हिजो मंगलबार अपरान्ह घटना र विचारका लागि बबिता बस्नेसँग कुराकानी गर्दै धीरेन्द्र शाहले भन्नुभयो- ‘श्री ५ युवराजाधिराजको शुभजन्मोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइएको हुँदा म गएको हुँ । शुभजन्मोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मलाई बोलाइँदा म नजाने भन्ने कुरा हुन सक्दैनथ्यो, त्यसैले गएको थिएँ ।’ उहाँले अगाडि भन्नुभयो- ‘तर मलाई त्यो कार्यक्रममा क-कसले के-के बोल्नेवाला छन् भन्ने थाहा थिएन । मैले भाग लिएको कार्यक्रममा मात्र होइन कसैले पनि भाग लिने कार्यक्रममा वक्ताहरूले के-के बोल्नेवाला छन् भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन ।’

० के-के बोल्नेछन् भन्ने थाहा हुँदैन, त्यो ठीक छ तर ती वक्ताले आदेश पाए प्रधानमन्त्रीलाई मार्छु भनेर भनिसकेपछि चाहिँ तपाईंलाई कस्तो लाग्यो त ?
– मलाई त अचम्मै लाग्यो । देशको प्रधानमन्त्रीलाई गोली ठोक्छु भनेर कसैले कहीँ पनि भन्दा कसैलाई पनि स्वाभाविक लाग्दैन र मलाई पनि लागेन । प्रधानमन्त्रीलाई मात्र होइन कि एउटा मानिसले अर्को मानिसलाई मार्ने वा मार्छ भन्ने काम कहिल्यै उचित हुन सक्दैन । मुलुकमा त्यसै पनि हिंसा भड्किएकै छ, वर्तमानमा देखिएको हिंसात्मक स्थितिको अन्त्य गर्ने दायित्व हामी सबै नेपालीको हो । यस्तो अवस्थामा मेरै सामुन्ने कसैले प्रधानमन्त्रीकै हत्या गर्छु भन्ने कुरा गर्दा मैले त्यसलाई सहज रूपमा लिने कुरै भएन ।’

० तपाई आयोजकहरूलाई पहिल्यैदेखि चिन्नुहुन्थ्यो ?
– आयोजकमध्येका एक-दुई जनालाई चिन्दथेँ । सबैलाई होइन ।

० प्रधानमन्त्रीलाई मार्छु भन्नेमाथि कुनै कानूनी कारबाही हुनुपर्छ कि पर्दैन ?
– मैले प्रजातन्त्रमा बोल्नचाहिँ पाइन्छ भन्ने सुनेको हुँ । बोलेकै आधारमा मात्र कारबाही गर्न मिल्छ-मिल्दैन मलाई थाहा भएन । त्यसैले कारबाही गर्ने-नगर्ने भन्ने कुरा त सरकारकै हातमा छ ।

० यो मुद्दा संसद्मा जोडतोडका साथ उठ्दा तपाईंलाई कस्तो लाग्यो नि ?
– संसद् भनेको अत्यन्त गरिमामय निकाय हो जहाँ मुलुकका गम्भीर समस्याहरूका बारेमा जनप्रतिनिधिहरूले गम्भीर छलफल र निर्णय गर्छन् भन्ने मलाई जानकारी थियो । तर एउटा सामान्य नागरिकले कता हो केही भनेको भन्ने विषयलाई लिएर यति ठूलो हङ्गामा गर्ने ठाउँ त्यो होलाजस्तो चाहिँ मलाई लागेको थिएन । सांसदहरू यो विषयमा जसरी एकजुट भए त्यसैगरी मुलुकका साँच्चै गम्भीर समस्याहरूमा पनि एकजुट हुने गरेका भए शायद आज मुलुकको यो गति हुँदैनथ्यो । सानातिना कुराहरूमा पनि सांसदहरूले ठूलो समय यसैगरी खर्च गर्दै जाने हो भने त्यो प्रजातन्त्रका लागि पनि राम्रो होइन ।

० नेपालमा दरबारबाट प्रजातन्त्रमाथि खतरा छ भनिन्छ, वास्तवमा राजाबाट प्रजातन्त्रमाथि खतरा छ कि छैन, तपाईंलाई के लाग्छ ?
– राजाबाट प्रजातन्त्रलाई खतरा कसरी हुन सक्छ मैले बुझिरहेको छैन । २००७ सालमा प्रजातन्त्रको लागि लड्ने पनि राजा थिए र अहिले पनि राजाको इच्छाबमोजिम नै बहुदलीय किसिमको प्रजातन्त्र आएको हो । राजा त प्रजातन्त्रको स्रोत हुन सक्छन्, खतरा होइन । म त के भन्छु भने राजाबाट प्रजातन्त्रमाथि खतरा हुन्छ भन्ने भ्रममा कोही पनि नेपालीले कहिल्यै पर्नुपर्ने छैन ।

० वर्तमानमा तपाईंको प्रतिबद्धता के हो ?
– मेरो प्रतिबद्धता त स्पष्ट नै छ नि, मेरो देश, नेपाली जनता, संवैधानिक राजतन्त्र, संविधान र प्रजातन्त्र मेरा प्रतिबद्धता हुन् । अर्को कुरा राष्ट्रियता वा राष्ट्रवाद भनेपछि साहै प्रभावित हुन्छु । हुन त यहाँ राष्ट्रवादी हुनु भनेकै मण्डले हुनु हो भनेजस्तो गर्छन् । तर राष्ट्रवादी हुन त निकै राम्रो कुरा हो नि । पञ्चायतमा काम गर्ने मानिस मात्र राष्ट्रवादी थिए र ? कांग्रेस वा कम्युनिष्ट पाटीमा काम गर्ने मानिस पनि राष्ट्रवादी छन् नि । हाम्रो नेपालको परिप्रेक्ष्यमा त जसले नेपालको हित गर्न खोज्छ उही राष्ट्रवादी हुन्छ । पहिले राष्ट्रवादी विद्यार्थी मण्डलमा काम गरेकाहरू मात्रै राष्ट्रवादी हुन्छन् भन्ने कुरा पनि होइन । नेपालको हितमा काम गर्ने हरेक नागरिक राष्ट्रवादी हुन्, ती हरेकलाई म समर्थन गर्दछु ।

(घटना र विचार साप्ताहिक, २०५७ असार २८ गते बुधबार)