१३ श्रावण २०७८, बुधबार

सेतो फूल

  प्रकाशित मिति
२६ असार २०७८, शनिबार ००:२६


  • डिल्ली अम्माई

प्रिय तिम्रो उत्कर्षको दिन
तिम्रो अस्तित्व र तिम्रै अन्वेषणमा
तिम्रा हरेक लीलाको सोध
जुनेली रातभित्रको खोज
अँधेरी रात, गोधुली साँझ
उषाको परिभ्रमणमा
हुने सबै तिम्रा उत्कर्षमा
सुनगाभा फूलले सजिने छ तिम्रो बाटो

अन्तिम उत्सवमा जीवनको
मसानको भष्म बनेर
सेतो फूलको परलौकिकता
भविष्यको दिव्यतामा चम्किने छ,

प्रिय तिम्रा हरेक उत्कर्षमा
निःशब्द उत्तर बनेर
जन्म र जीवनको बिदाइ गर्दै
तिम्रो, मेरो र जगत
अस्तित्वको निष्प्राण समाधिमा
सहलेश फूलले सजिने छौँ
प्रिय तिम्रो महान् प्रेम
निलो गहिराइमा सहलेश बगैँचाबीच
सेतो दिब्यतामा
अस्तित्वरक्षाको आह्वान गर्दै
सन्त सत्यको संखनादसित
अन्तिम निमेष
र भविष्य यात्रा सम्झाइदिने छ
स्वेत बोधी
मालिनको सुनगाभा सेतो फूल
प्रिय तिम्रो उत्कर्षको निमेष

तुफानको संगीत सम्झाइदिने
महाअन्वेषणमा खोज
मन र आत्मा ज्ञान खोज
उदय र अन्त्यको स्मृति बोध
सबै सम्झनामा
फुलिरहनेछ सहलेश
सबै प्रलयमा युगको
योग फूल सजिने छु
ढकमक्क फुलेर
दिब्यताको प्रकाश
बासनामा दौडिने छ
आगतमा
तिम्रो समाधिलाई चम्काउने छ
प्रिय योग सेतो फूल,

तिम्रो देहको अन्तिम सृंगार
तिम्रै देहलाई चम्काउँदै
निष्कलंकित बनाउँदै
पवित्र भष्म
देह भष्ममा फुल्ने छ।
प्रिय तिम्रो उत्कर्षको दिन
तिम्रो अन्तिम निष्कर्षमा
जीवन धाराको खोज्
बितेका रातहरुको खोज्
उदय र अन्त्यको खोज्
सबै तिम्रा उत्कर्षमा
सहलेश फुलिरहने छ
सेतो फूल चम्किरहने छ
तिम्रो देहलाई निष्कलंकित बनाउँदै
बिलयमा समाहित गर्ने छ
पावन गर्ने छ
प्रिय सेतो फूल,

युद्ध र कोलाहलबीच
जीवन शान्तिको समागम
मानवताको महायज्ञमा
पुनर्जागरणभित्र
सभ्यताको आवरणमा
चाँदनीमा चाँदीको घेरा
कालो बादलभित्र
उज्यालो सृंगार
प्रिय सेतो फूल,

हिंसाको कालो बादलमा
अन्धकार
रक्त उन्माद
कोलाहलको संगीत
तुफान
सबैको विदाइमा
सन्त वृक्षमा सेतो फूल
पारिजातमा सेतो फूल
लौकिक स्वतन्त्रता
न्याय र भातृत्वको
जागरण ताण्डबको लागि
मृत संजीवनीको गीत लेख्दै
आत्मज्ञान
सृष्टि र विप्लवको कलामा
सौन्दर्यको लागि
सेतो फूल सजिने छ,

बुद्धको ज्ञान योग जस्तै
एउटै संकल्प लिएर
हिरोशिमाको चिहान
नागासाकीको सन्नाटासँगै
सुसाउँदै रोएको मानवता जहाँ
खरानीमा फुलेको सेतो फूल,
प्रिय तिम्रा आँधिमय समयमा
तिम्रै पुर्ख्यौली अतीत सम्झाउन
तिम्रै आँगन सजाउँदै
परलौकिकता चम्काउँदै
तिम्रै अन्तिम पल
र अस्तित्वको अतीत सम्झाउदै
आफैंलाई माया सिकाउँदै
तिम्रै देहमा सजिने छ
श्रद्धान्जलीभरि सेतो फूल,

प्रिय तिम्रो सम्झनामा
स्फटिक जस्तै स्वेत
शितल, निर्मल, सन्त र तृप्त
आवाजसँगै फुलेथ्यो
त्यो आशाको झंकार
भविष्यको मोहकता
र समुन्द्र ज्ञान
तिम्रो उत्कर्षको दिनमा
प्रत्येक युगमा
अगरबत्तीहरु बालिनेछन्
र तिम्रै देहमाथि राखिने छ
भियतनामी चिहान
इन्डोनेशियाको कब्रस्तान
अमेरिकी आदिबासी
जिउँदै जलाइएका बस्ती
ग्यास चाम्बर
र सेन्टपिटरवर्ग
सेतो फूलमा सजिएर
अगरबत्तीको महक
ममबतिको उज्यालोमा
सेतो फूलको आसनमा
सजिदै युगौँयुग सम्झिने छ
सहलेशकी प्रिया
मालिनको सुनगाभा,

हिंस्रक मनहरुलाई
तिम्रो युगपछि पनि
ललकारी रहनेछ
स्फटिक जस्तै शितल
तृप्त आवाजमा
आकाशे बत्ती
भविष्यको उषाजस्तै
ज्ञान बनेर फुलिरहने छ
तिम्रै जीवनको सार्थकता खोज्दै
तिम्रै देहलाई सुगन्ध दिन
तिम्रै संदेहमाथि फुल्नेछ
मानवताको चिनगार पारिजात,

पृथ्वी सुसाउँदै गरेको
शान्त शितमणि
आफ्नै अन्तर्यमा चम्कनेछ
दिब्य प्रकाशले सेतो फूल
सार्थक पल
निष्कर्षको पल
उत्पत्तिको पल
महाप्रलय
तिम्रै अनुरोधमा
गीत बनेर गुन्जिनेछ प्रलयको
र पुनः जोड्ने छ आवाज सृष्टिको
धर्तीमा पालुवा
भर्दै बैँश
हजारीबाट बर्षिने पानी झैँ
बादल पग्लिने छ
मन्दाकिनी मुस्कुराउने छ
अस्तित्वको निर्णय सुनाउँदै
र फेरि हराभरा हुने छ
प्रित बनेर लहलहाउने छ
सहलेशको बगैँचामा
सहलेशकै सम्झना बनेर फुल्नेछ
मालिनको सुनगाभा सेतो फूल ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा