रुसमा विमान दुर्घटनामा नौ जनाको मृत्यु

रुसमा विमान दुर्घटनामा नौ जनाको मृत्यु



रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।

सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पकटको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको थियो ।

यता इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । त्यसमा रहेका एक जनाको ज्यान गएको छ ।

सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका पनि बताइएको छ । विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन् ।