तथाकथित अभियन्ताका कारण समाजसेवा पनि बदनाम बन्ने खतरा !

तथाकथित अभियन्ताका कारण समाजसेवा पनि बदनाम बन्ने खतरा !


  • राजन घिमिरे

पछिल्लो समय नेपालमा सामाजिक अभियन्ताहरूको संख्या ह्वात्तै बढ्न थालेको छ । यो नराम्रो कुरा होइन, तर सामाजिक अभियन्ताको रूपमा केहीले समाजमा मच्चाइरहेको असामाजिक क्रियाकलाप, यसले समाजमा पारेको दुष्प्रभावचाहिँ अन्तत्वगत्वा घातक नै सावित हुने देखिँदै छ । सामाजिक कार्यलाई देखावटी रुपमा अपनाउन खोज्नेहरुका कारण वास्तविक सामाजिक कार्य गर्नेहरुलाई समेत सोच्न बाध्य पार्ने परिवेश निर्माण हुँदै गरेको अनुभूति यतिबेला गर्न थालिएको छ ।

केही असल कार्य गर्नेहरूलाई छोडेर भन्नु पर्दा यतिबेला निकै फस्टाएको छ सामाजिक अभियन्ताको ब्राण्ड । त्यसो त, सामाजिक अभियन्ताको रूपमा लागिपरेका केहीहरूको भड्किलो शैली, व्यवहार, तिनले दिने धाकधम्की र प्रकट गर्ने प्रतिशोधको भावना देख्दा यिनीहरूले समाजमा सेवा दिइरहेछन् कि अराजकता मच्चाइरहेका हुन्, ठम्याउन मुस्किल पर्ने अवस्था छ । कथित रुपले सामाजिक अभियन्ता बनेर चर्चा कमाउने, सेलिब्रेटी बन्ने भोकले सताएको त छैन यिनीहरूलाई ? नेपाली समाजमा बहस शुरू भएको छ ।

सामाजिक अभियन्ता के हो ? यसको दायरा के कति हुनुपर्ने र आफूलाई सामाजिक अभियन्ताको पगरी गुथ्नेहरूले समाजमा कसरी प्रस्तुत हुनुपर्छ ? सामाजिक अभियन्ता भइसकेपछि त्यो अभियन्ताले निर्वाह गर्नुपर्ने भूमिका के हो र उसको आचरण, शैली र अरूमाझ प्रस्तुत हुँदा कसरी हुनुपर्छ ? केहीले बुझेका छन् र धेरै त यस विषयसँग अनभिज्ञ नै छन् ।

अहिले त सामाजिक अभियन्ताको शैली साउथ इण्डियन फिल्मका भिलेनको जस्तो हुन थालेको छ । ‘… मलाई चिनिनस्… ? यो कार्यालयको फाइल देखा…, अफिस किन ढिला आएको ? कार्यालयको रकम खर्च गर्ने अधिकार कसले दियो ?’ आदि-इत्यादि केके हो केके अन्टसन्ट प्रश्न तेर्स्याइन्छ । यस्ता अभियन्ताले समाजमा कस्तो प्रभाव पारेको होला त ? उ नै प्रहरी प्रशासन, अख़्तियार, कानुन र अदालत जस्तो ! सामाजिक अभियन्ताको खोल ओढेर मानिसलाई तर्साउने, धम्क्याउने यस्ता केही कथित अभियन्ताबाट समाजले के उपलब्धि प्राप्त गर्ने ? सामाजिक अभियन्ताले समाज मिलाउने हो कि भाँड्ने ? गम्भीर सवाल उत्पन्न भएको छ जसलाई अब उपेक्षा गरिरहन मिल्दैन ।

अनुराधा कोइराला, महाबीर पुन, पुष्पा बस्नेतलगायतका सामाजिक अभियन्ता पनि छन् नेपालमा । यिनीहरूलाई भेट्दा वा देख्दा श्रद्धाले शिर निहुरिन्छ तर, कामभन्दा आत्मप्रचार गर्न चौबिसै घण्टा यूटुबेहरू साथमा लिएर अभियानभन्दा हल्ला बढी गर्ने सामाजिक अभियन्तामाथि किन प्रश्न उठ्छ त ? यो सब यिनै स्वनामधारी सामाजिक अभियन्ताहरूकै कृयाकलापको कारण होइन र ?

खै त… अनुराधा कोइराला, पुष्पा बस्नेत र महावीर पुन लगायतका सामाजिक अभियन्ताहरूले कहिल्यै सरकार या अन्यलाई गाली गरेको सुनिएको छैन । यिनीहरूले कार्यालय-कार्यालयमा धाएर कहिल्यै कानुन हातमा लिएर कसैको खानतलासी पनि गरेका छैनन् । आफ्नो उद्देश्य र कर्ममा यिनीहरू लामो समयदेखि अनवरत लागिपर्दै आइरहेका छन् । न त यिनीहरूमा प्रचारको भोक छ न त यिनलाई कुनै यूटुबरहरुको बथानकै आवश्यकता छ । आफ्नो कर्म गर्छन्, बस् । सेवा गर्नेलाई किन चाहियो र तामझाम ?

जो आफूलाई सामाजिक अभियन्ताको रूपमा हल्लीखल्ली गरेर हिँडेका छन् उनिहरूको विगत र आयस्रोतको बारेमा प्रश्न उठाउन नमिल्ने अरे ! यिनीहरूले कार्यालय कार्यालयमा गएर खानतलासी गरेर कर्मचारी हप्काउन मिल्ने तर जनताले यिनीहरूको रातारात उकासिएको आर्थिक हैसियतको हिसाबकिताब खोज्न नमिल्ने ? एकातिर महावीर पुनहरू आफ्नो सम्पत्ति बेचेर छाप्रोको बास र चप्पलको भरमा समाजका लागि खटिरहेका छन् भने अर्कोतर्फ केही तथाकथित अभियन्ताहरू करोडौँको गाडीमा सयर गर्दै आलीशान जीवन बिताइरहेका छन् । सामाजिक अभियन्ताको यस्तो शान देख्दा तातो घाममा घोटिएर प्रवासमा कमाएको रकम नेपाल पठाएका प्रवासी नेपालीहरूको मन कति रोला ?

सामाजिक अभियन्ताको खोल ओढेर आफ्नो जीवनशैली उकास्नहरूको भिड देख्दा यिनैका कारणले अब त यो सामाजिक अभियन्ता पनि कमाई खाने भाँडो र लाभदायक ब्यावसाय हुन थालेको भान समाजमा पर्न थालेको छ । सामाजिक अभियन्ता आयो भन्नासाथ सम्मान गर्ने हातहरूले भोलि औंला उठाउने अवस्था नआओस् । तथाकथित अभियन्ताहरुलाई समयमै दुरुत्साहित गर्नु समाजकै कर्तव्य हो भन्ने मनन गरौँ ।

symbolic image