प्रबासी नेपालीहरूको पहलमा ‘अन्तराष्ट्रिय नेपाली युवा उद्यमी संघ’ गठन

प्रबासी नेपालीहरूको पहलमा ‘अन्तराष्ट्रिय नेपाली युवा उद्यमी संघ’ गठन


  • राजन घिमिरे

प्रबासलाई कर्मथलो बनाएका आ-आफ्नो क्षेत्रका दक्ष एवम् उत्साही युवाहरु अब एउटै छानामुनि आबद्ध भई मातृभूमिको लागि केही गर्ने तयारीमा छन् । यी युवाहरूको यस्तो आबद्धता र एकजुटता नेपाल र नेपालीहरूका लागि साँच्चैै फलदायी हुने निश्चित देखिएको छ।

विश्वभरी छरिएर रहेका नेपाली युवा ब्यवसायीहरूको छाता संगठन ‘अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी संघ’ अर्थात् फेडेरेशन अफ इन्टरनेशनल नेपाली यूथ इन्टरपेनियर्स (अफआइएनइ) गठन भएको हो ।

संघको गठनका बारेमा अष्ट्रेलियाका यूबा ब्यवसायी स्वतन्त्रप्रताप शाहले भने- ‘संघको मुख्य उद्देश्य विश्वभरि रहनुभएका नेपाली युवा ब्यवसायी साथीहरुबीच चिनजान, एकअर्का बीच ब्यवसायिक सोचहरूको आदानप्रदान, युवा साथीहरुलाई ब्यवसाय गर्ने हौसला र सहयोग प्रदान गर्नु हो ।’

संघले विदेशमा ब्यबसाय गर्ने युवासाथीहरु र नेपालमा ब्यवसाय गर्ने युवासाथीहरुबीच पुलको काम गर्ने शाहले जानकारी दिएका छन् । उनले अगाडि भने- ‘क्षमता र प्रतिभा भएकालाई प्रोत्साहन गर्ने र कस्तो ब्यापार ब्यावसायमा लगानी गर्दा राम्रो हुन्छ भन्ने जानकारी र सोचलाई पनि संघले लगानीको रूपमा पुलको काम गर्ने छ ।’

कुनै देशमा रहनुभएका प्रबासी नेपालीसँग ब्यवसाय गर्ने सोच र पैसा हुन सक्छ तर उपाय हुन सक्छ । नेपाल वा अर्को कुनै ठाउँमा भएको साथीसँग ब्यवसायको उपाय र पैसा नहुन सक्छ । स्वदेश र विदेशमा रहनुहुने नेपालीहरूलाई एउटै थलोमा जोड्ने पुलको काम संघले गर्ने उनको भनाइ छ ।

ब्यावसायिक रूपमा सफलताका साथ अगाडि बढेका ब्यक्तित्वबाट सिक्ने र उनिहरूबाट प्रोत्साहन मिल्ने बातावरणको सृजना गर्न संघ अगाडि बढ्ने बताइएको छ । संघले ब्यापार ब्यावसाय गर्ने सोच बनाएका प्रवासी नेपाली युवाहरूलाई प्रोत्साहन गर्दै चाहिने जानकारीको लागि माध्यम उपलब्ध गराउने भएको छ । संघको बारेमा विस्तृत जानकारी चाँडै नै विशेष कार्यक्रमको आयोजना गरेर उपलब्ध गराइने बताइएको छ ।

सो संघले विदेशमा नाम र चर्चा कमाएका ब्यावसायी र नेपालमा रहेका ब्यावसायीहरूलाई जमघट गराएर चाँडै नै नेपालमा एक बृहत कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । ‘हामी यो कार्यक्रममा प्रोत्साहन र हौशला प्रदान गर्न विभिन्न पेशा र क्षेत्रका युवा ब्यावसायीहरूका लागि उत्साह प्रदान हुने कार्यक्रम र प्याकेजको घोषणा गर्नेछौँ’- अष्ट्रेलियाका यूबा ब्यावसायी स्वतन्त्रप्रताप शाहले जानकारी दिए ।