समयमै नहरमा पानी छोडिएपछि गण्डक क्षेत्रका किसान हर्षित

समयमै नहरमा पानी छोडिएपछि गण्डक क्षेत्रका किसान हर्षित


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीअन्तर्गत गण्डक बाँधबाट निकालिएको नेपाल गण्डक पश्चिमी नहरमा पानी छोडिएको छ । हिउँदको समयमा सुख्खा नहरमा यस वर्ष नहर सरसफाइ गरि धान रोपाइँको लागि पानी खोलिएको हो ।

विगत वर्षमा समयमै नहरमा पानी नहुँदा समस्या भोग्दै आएका गण्डक क्षेत्रका किसानहरु यस वर्ष नहर सफा गरेर समयमै पानी छोडिएपछि खुसी भएका छन् ।

विगतका वर्षमा झारो टार्ने गरि सामान्य मरम्मत सम्भार हुँदै आएको नहरमा बालुवा भरिएर दूरावस्था पैदा भएको थियो। संघीय सरकारको लगानीमा नेपाल गण्डक पश्चिम नहर सिचाइँ प्रणाली सेमरीले ४० वर्षपछि २२ करोडको लागतमा नहर सफाइ गरेको जल उपभोक्ता समितिका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिए ।

नेपाली नहरको नामबाट चिनिने नेपाल गण्डक पश्चिमी नहर ३२ किलोमिटर लम्बाइ रहेको छ भने नहरमा २५० क्युसेक पानी छोडिएको छ । नहरको पानीबाट पश्चिम नवलपरासीका ६ ओटा स्थानीय तहका ४ हजार हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पुग्ने बताइन्छ ।

नहर सफाइ र मरम्मत सम्भारका लागि उपभोक्ता समितिले नेपाल सरकार सङ्ग एक अर्ब रकम माग गरेको थियो । नेपाल गण्डक पश्चिमी नहरमा तीनओटा शाखा ७ को सङ्ख्यामा माइनर र २६ ओटा कुलो रहेको उपभोक्ता समितिले जानकारी दिएको छ । नहरमा हाल २५० क्युसेक पानी छोडिएको छ भने किसानको मागअनुसार पानीलाई बिस्तारै बढाउने लक्ष्य रहेको नहरका डिभिजन प्रमुख रन्जित कुमार शाहले जानकारी दिएका छन् ।

नेपाल सरकारद्वारा करोडौँको धनराशि खर्च गरेर मरम्मत गरिएको नेपाली नहरको अधिकांश भाग अझै पनि पुर्ण रुपमा ठोस मरम्मत हुन नसक्नुलाई अर्थपूर्ण मानिएको छ । नेपाली नहरमा पानीको तह व्यवस्थापन गर्न भारतीय पक्षसङ्ग अनुरोध गर्नुपर्ने हुँदा भारतीय पक्षको आफ्नो अनुकुलताअनुसार गण्डक नदीको लेबल मेन्टेनमा आश्रित हुनुपर्ने पीडा अहिले पनि नेपाली किसानहरूले भोग्दै आएका छन् ।