म्यान्मारमा थप ६३८ जना गिरफ्तार

म्यान्मारमा थप ६३८ जना गिरफ्तार



म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादीसम्बन्धी ऐनअनुसार उनीहरुलाई पक्राउ गरिएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्यासम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्‍याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।

म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि भइरहेको छ । त्यहाँको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ ।

सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृत्यु भइसकेको एएनआईले जनाएको छ ।