युरोपमा क्रियाशील पत्रकारका लागि आधारभुत तालिम सम्पन्न

युरोपमा क्रियाशील पत्रकारका लागि आधारभुत तालिम सम्पन्न


  • सनत आचार्य (बेल्जियम)

नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा सञ्चालित एकमहिने आधारभुत पत्रकार तालिम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा बिहीबार (१० जुन) सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले युरोपमा क्रियाशील पत्रकारहरूको क्षमता विकासका लागि तालिम सञ्चालन गरेकोमा प्रशंसाका साथ खुशी व्यक्त गर्दै अझ बढी सक्रिय भएर आफ्नो विधामा कलम चलाउन आग्रह गर्नुभयो ।

अध्यक्ष पन्तले पत्रकारहरुको सीप र दक्षता अभिवृद्धिका लागि एनआरएनएले सक्दो सहयोग गर्ने बताउँदै प्रवासमा पत्रकारिता गर्नु सबैका लागि महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

एक फरक प्रसङ्गमा अध्यक्ष पन्तले एनआरएनएले नेपाल र नेपालीले भोग्नु परेको महासंकटमा आफूहरुले सधैं साथ दिएको जानकारी दिँदै कोभिडको महामारीमा पनि भेन्टिलेटर, अक्सिजन ग्याँस, पीपीई लगायत सहयोगको शुरुवात आफूहरूले गरेको दाबी गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले आफू पनि पत्रकार भएको स्मरण गर्दै पत्रकारहरुले आफू अरुबाट सिक्न आवश्यक रहेको अनुभव व्यक्त गर्नुभयो ।

उहाँले पढ्ने, लेख्ने र आफूलाई समयानुसार परिस्कृत गर्दै लग्न आवश्यक रहेको उल्लेख गर्दै पत्रकारिता पेशामा सबैभन्दा पहिले आफूले आफैलाई प्रश्न गर्दै अरुबाट पत्रकारिता गर्न सुझाव दिनुभयो ।

राजदूत लम्सालले पत्रकारले ‘अनुमानकारिता’ र ‘हनुमानकारिता’ नगरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पेशागत धर्म निर्वाह गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष एवं पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पहिलेभन्दा अहिलेको अवस्थामा प्रविधिले पत्रकारिता गर्न सजिलो तुल्याएको उल्लेख गर्दै युरोपमा पत्रकारहरूको क्षमता र सीपको विकास भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो संस्थाले संसारभरी व्यावसायिक दक्ष पत्रकार उत्पादन गर्न सहयोग गर्ने उल्लेख गर्दै प्रवासमा सबैले यसतर्फ सोच्न आग्रह गर्नुभयो ।

त्यस्तै, नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्माले युरोपमा पत्रकारहरूका लागि तालिम संचालित भएकोमा खुसी व्यक्त गर्दै यस प्रकारको तालिमले व्यवसायिक पत्रकारितामा टेवा पुर्याउन सहयोग पुगेको उल्लेख गर्दै अगामी दिनमा समाचारको गुणस्तरीयता र सत्यतथ्य समाचारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा युरोप शाखाका संस्थापक अध्यक्ष दधिराम सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, वरिष्ठ पत्रकार भगिरथ योगी, ईन्जा युरोपका सल्लाहकार थानेश्वर सापकोटाले पत्रकार र पत्रकारिता विषयमा चर्चा गर्नुभएको थियो । सहभागीको तर्फबाट रामकृष्ण पुडासैनीले पनि मन्तव्य दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्यूट काठमाडौंद्वारा संयुक्त रुपमा आयोजित उक्त तालिममा युरोपभरी छरिएर रहेका १९ जना पत्रकारहरुको सहभागिता रहेको थियो भने मुख्य प्रशिक्षकका रुपमा एनपिआईका तालिम संयोजक एवंम् समाचारपत्रका प्रधानसम्पादक कपिल काफ्ले, पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्ष धमेन्द्र झा, खेलकुद पत्रकार निरन्जन रावबंशी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ पत्रकार भगीरथ योगी, ईन्जा युरोपका सल्लाहकार थानेश्वर सापकोटा, मुख्य प्रशिक्षक कपिल काफ्लेले पनि सम्बोधन गर्नुभएको थियो ।