फिजी, भुटान र सिक्किम चर्चित विषय

फिजी, भुटान र सिक्किम चर्चित विषय


  • स्वयम्भूनाथ कार्की

पञ्चायत ढाल्ने आन्दोलनको सुत्रपात गर्ने ‘चाक्सीबारी सम्मेलन’ भारतीय नेताहरूको भिडमा भयो । नेपाली काङ्ग्रेसका नजिकका संरक्षकहरू समाजवादी र नेहरूवादी नेता रहेका छन् । त्यसै गरेर नेपाली वामपन्थीहरूलाई भारतीय वामपन्थी नेताहरूको सबै प्रकारको सहयोग रहेको छ । वेदानन्द झाको तराई कांग्रेसको उत्तराधिकार बोकेको दाबी गर्ने मधेशी दलहरूको उल्लेख सान्दर्भिक नहोला । यो समुहकोे भारतले हमेशा भावनात्मक शोषण गरेको छ । शोषणको यही कुरा बुझेर नै वेदानन्द झा राजा महेन्द्रको राष्ट्रचिन्ताको सहभागी हुन पुगेका हुन् ।

आफूलाई सर्दो परेको बेलामा दलहरू कार्यकर्तालाई भारतको आलोचना गर्नेहरूलाई ‘अन्धराष्ट्रवादी’, ‘मण्डले’ आदिको पगरी गुथाउन खटाउँछन् । तर विपरीत हुनेवित्तिकै फिजीकरण, भुटानीकरण वा सिक्किमीकरणको षडयन्त्र हुन लागेको डङ्का पिट्न लगाउँछन् । यसको अर्थ त्यसप्रकारको खतरा छैन भन्ने होइन, यस्तो खतरा त हमेशा रहेकै हुन्छ । अरुलाई आफ्नो प्रभावमा लिनु, आफूमा बिलय गराउनु वा आफ्नो अनुचरसरह बनाउनु राष्ट्रहरूको स्वभाव नै हो । जो समर्थ छ त्यसले असावधान राष्ट्रलाई आफ्नो छातामुनि तान्छ नै । नेपाली नेताहरूको भारतीय नेताहरूसँगको अन्तरङ्ग सम्बन्धका जानकार मात्र होइन कतिपय घटनाका साक्षी भएका बीपीपुत्र प्रकाशले यसैको विरुद्ध विद्रोह नै गरे ।

फिजीकरण एक काल्पनिक अवधारणा हो । सन् १८७४ मा बेलाइतले फिजीलाई उपनिवेश बनायो । फिजीमा काम गर्न भारतबाट प्रशस्त मजदूरहरू त्यहाँ लगियो । त्यसमध्ये कम मात्र फेरि भारत फर्के अरुले त्यसै द्विपलाई अपनाए । उनीहरूले त्यहाँ आफ्नो भाषा संस्कृति जीवित राखे । अहिले पनि त्यहाँको प्रमुख भाषामध्ये फिजी हिन्दी छ । अवधि, भोजपुरी, हिन्दी, अंग्रेजी , स्थानीय सबैबाट यसका शब्दहरू बनेका छन् । जब भारतीयहरूले त्यहाँ भारतीय मुलका मानिसको वर्चश्व देखे आफ्नो सञ्चारमाध्यमहरूमा त्यसको प्रचार गरे । यो प्रचार अभियानले फिजी भारतकै हिस्सा भएको छनकसम्म दियो ।

भारतमा फिजीको नाम उस्तो लिइँदैन । न पहिले न अहिले, फिजीमा भारतको कुनै प्रकारको नियन्त्रण थिएन, न त भविष्यमा नै हुने सम्भावना देखिन्छ । त्यसैले फिजीकरण एक काल्पनिक अवधारणा हो।

सन् १९९९ मा भारतीय मुलका दाबी गरिएका महेन्द्र चौधरी फिजीका प्रधानमन्त्री नियुक्त भए, भारतमा कतै-कतै खुब खुशी मनाइयो । महेन्द्र चौधरीले स्पष्ट आफू फिजियन भएको र फिजी आफ्नो मुलुक भएको प्रष्टिकरण दिए । कुनै समयमा भारतबाट पुर्खा आएका भए पनि अब फिजी आफ्नो मुलुक भएको र एक स्वतन्त्र मुलुक भएको भन्ने उनको भनाइ आयो । यसपछि भारतमा फिजीको नाम उस्तो लिइँदैन । न पहिले न अहिले, फिजीमा भारतको कुनै प्रकारको नियन्त्रण थिएन, न त भविष्यमा नै हुने सम्भावना देखिन्छ । त्यसैले फिजीकरण एक काल्पनिक अवधारणा हो ।

भुटानीकरण एक अप्रत्यक्ष उपनिवेश हो जो भारतको छातामुनि बसेको छ । धेरै वर्षसम्म सार्कमा भुटानको हिस्सामा परेको भाग भारतले उपयोग पनि गरेको छ । अत्यन्त सौविध्यप्राप्त मुलुकको अवधारणामा शुरुदेखि भुटान भारतसँग रहेको छ । राजा महेन्द्रको स्वर्गारोहणको केही पछि भुटानी राजा जिग्मे दोर्जी वानचुकको निधन भयो । जिग्मे सिङ्घे वानचुकले आफ्नो व्यक्तिगत संरक्षकको रूपमा त्यसैबेला इन्दिरा गान्धीलाई माने । समकालिन विश्वमा उनी सबैभन्दा कम उमेरका राजा थिए जसको नायवी इन्दिरा गान्धीले सम्हालिन् । उनको प्रयत्न राजा वीरेन्द्रले पनि जिग्मे सिङ्घे वानचुकले जस्तै गरुन् भन्ने थियो । तात्कालिन भारतीय छापामा यो प्रष्ट देखिन्थ्यो ।

सिक्किमीकरण राष्ट्र विलयको उदाहरण हो । सिक्किममा विलयको विरोध भयो वा भएन तर नेपालमा भने त्यसको विरोध भयो । विलयभन्दा पहिले सिक्किम पनि भारतको अति सौविध्यप्राप्त मुलुक थियो । भारतीय प्रभाव र समर्थनप्राप्त सिक्किम राष्ट्रिय काङ्ग्रेस जनताबीचमा राजा चोग्याललाई बदनाम गर्न तल्लिन थियो । भारतबाट खटाइएका प्रमुख प्रशासक बि.एस. दास र सिक्किम राष्ट्रिय कांग्रेसका काजी लेन्डुप दोर्जेले यसमा सफलता प्राप्त गरे । अन्ततः राजसंस्थाको बारेमा जनमत सङ्ग्रह भयो । १४ अप्रेल १९७५ को त्यो जनमत सङ्ग्रहको परिणामले चोग्यालको गद्दी खोसेर सिक्किमलाई गणतन्त्र बनायो ।

यसको लगत्तै गणतन्त्र सिक्किमको संसद्ले भारतमा गाभिने प्रस्ताव पारित गऱ्यो । प्रस्ताव पारित गरेको लगत्तै सिक्किममा भारतीय सेना परिचालन भयो । यसको विरोध गर्न सक्ने सबैको जानकारी लेन्डुप र दासलाई थियो । ती व्यक्तिहरू थाहा पाउनुभन्दा पहिले भारतीय सैनिकको घेरामा परिसकेका थिए । एक स्वतन्त्र मुलुक आधा घण्टा भन्दा कम समयमा भारतको प्रान्त भयो । जनमत संग्रहले सिक्किममा राजाको अधिकार समाप्त गरेर संसद् सार्वभौम बनाइयो । सार्वभौम संसदले पारित गरेको प्रस्तावले मुलुक विलय भएकोले विश्वले बोल्ने अवसर पनि पाएन । नेपालमा भने राजा वीरेन्द्रको पालादेखि नै अति सौविध्यप्राप्त मुलुकको रूपमा नेपाललाई राख्ने भारतीय चाहना, प्रयत्न अस्विकार हुँदै आएको छ । मुलुकको अस्तित्वको निमित्त राजा ज्ञानेन्द्रले राजगद्दी नै त्याग्न पनि हिच्किचाएनन् ।