अब फिरङ्गीहरूको रजगज ?

अब फिरङ्गीहरूको रजगज ?


  • राजबाबु शंकर

वि.सं. १८६० को दशकमा काजी दामोदर पाँडेले ‘इष्ट-इण्डिया कम्पनीका प्रतिनिधि हाम्रा शत्रु हुन् र तिनबाट सजग सचेत रहनुपर्छ भनेर अंग्रेजहरूलाई सङ्केत गर्दै भनेका कुरा अहिले आएर केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको ‘नागरिकता’ वितरणसम्बन्धी प्रकरणसित मिल्दोजुल्दो छ ।

हामी नेपाली प्रायः भन्ने गर्छौं- ‘नेपालमा वैदेशिक दबाब बढ्यो । शासन सञ्चालनमा तिनको प्रत्यक्ष/परोक्ष हस्तक्षेप छ । तर, त्यसरी हस्तक्षेप गर्ने, दबाब दिने को हुन् भनेर औंल्याइरहनु पर्ने खण्ड छैन, मोटामोटी जगजाहेर छ ! इतिहासको विभिन्न कालखण्डमा यस्ता अनेकौं दबाब र हस्तक्षेप देशले भोग्नु परेको छ । र, तिनै हस्तक्षेपकारी साम्राज्यवाद र विस्तारवादका पिठ्ठुहरूलाई नै ‘फिरङ्गी’ भनिएको स्पष्ट हुन्छ ।

आधुनिक नेपालको निर्माणदेखि विभिन्न कालखण्डमा अनेकन् आरोह/अवरोह र चुनौतिको सामना नगरिएको भए आज शायदै हामी यो नेपाल-भूगोलमा रहने थियौँ । यो तथ्य स्वाभिमानी नेपालीहरूले बिर्सिन्नन् । इतिहासले प्रष्ट पारेको छ, फिरङ्गीहरूले हामीलाई लगातार दुःख दिएका छन् । फिरङ्गी मार्काहरूले आजसम्मै पनि स्वरूपमा हस्तक्षेप गरिरहेकै छन् । ती कहिले एनजीओ/आईएनजीओका नाममा, त कहिले जात-धर्मको नाममा, त कहिले विविध अनुदान र सहयोगका नाममा हाम्रो नभएर तिनका आफ्नै नितान्त छद्मभेषी लक्ष्य भेदन गर्दैछन् !

पुर्खाहरूदेखि आजसम्म नेपाल कसैको उपनिवेश बनेन । तर, प्रजातन्त्रोत्तर कालयताका हाम्रा शासकहरू भने औपनिवेशिक ‘दास’ बनिरहेका छन् ! विभिन्न भेषधारी फिरङ्गीहरूको कुटिल स्वार्थमा हेलिएका छन् ! नेपालको सामरिक भू-राजनीतिको फाइदा उठाउन उद्यत त्यस्ता भँडुवाहरूलाई समयमै चिन्न नसक्नु वा चिनेर पनि तिनका गतिविधिलाई रोकथाम गर्न नसक्नु वा तिनको स्वार्थमा यहाँका शासकहरूले पनि आफ्नो निहीत स्वार्थ जोड्नुको अन्तर्य भेगिलो छ ।

संसारको पहिलो शक्तिशाली देश अमेरिकाले एमसीसी परियोजनाको ललिपप देखाएर पछिल्लोखेप गरिरहेको घुसपैठ फिरङ्गीहरूको षडयन्त्रको ताजा उदाहरण हो । अर्को फिरङ्गी छेवैको इण्डिया हो र यहाँको प्रायशः राजनीतिक एवम् सामरिक उथलपुथलमा उसैको लगभग प्रत्यक्षजस्तो लगातार हस्तक्षेप रहने गरेको छँदैछ । संसारको दोस्रो शक्तिशाली देश चीनको प्रभाव नेपालमा नपरोस् भन्ने उद्देश्यबाट अमेरिकी र इण्डियन फिरङ्गीहरूको गतिविधि चलायमान छ ।

डा. युवराज संग्रौलाको ‘साउथ एसिया चाइना जियो-इकोनोमिक’ भन्ने पुस्तकमा- २०५१ सालसम्म १२-१३ हजार एनजीओ/आईएनजीओ काम गर्थे भने एमालेको ९ महिने सरकारमा ४३-४४ हजार एनजीओ/आईएनजीओ पुगेको उल्लेख छ । जुन फिरङ्गीहरूकै दीर्घकालीन चालबाजीको एउटा पाटो थियो ।

नेपाली राजनीतिमा रहेका चरम मौकापरस्त जमातलाई फिरङ्गीहरूले आफ्नो स्वार्थरक्षा गर्न विभिन्न किसिमका चारो छर्दै गए, छरिरहेकै छन् । कर्मचारीदेखि लिएर राज्यको विभिन्न निकायहरूमा सेमिनार, तालिम, अन्तरदेशीय भ्रमण, योजना निर्माण गर्नेसम्मको नाममा फिरङ्गीहरूको निर्वाध प्रवेश भएको पाइन्छ । र, तिनलाई यहाँ चलखेल गर्न सत्तास्वार्थी जमातले करिव देशद्रोहसम्मको हदमा सघाइरहेका छन् ।

त्यसैगरी, अहिले पछिल्लो समयमा नेपालमा रहेका इण्डियन फिरङ्गीहरूलाई राज्यसत्तामा घुसपैठ गराउन चालिएको नागरिकता प्रकरण सर्वाधिक खतरनाक श्रृङ्खला बन्ने आसार देखिएको छ । शदियौँदेखिका झ्याङिएका फिरङ्गीहरूका यस्ता कुकृत्यहरूको बढ्दो प्रभावलाई शमन गरिनु अनिवार्य भएको छ । यस देशमा राजनीतिक स्थिरता हुन नदिने, विकास एवम् समृद्धिको बाटोमा जान नदिने र त्यही कुटिल चक्रब्यूहमा यहाँका कथित राष्ट्रवादी शासकगण पनि परिरहेबाट सुशासन लगातार भाँडिंदै गएको छ । अनि फिरङ्गीहरूको रजगज नियन्त्रणभन्दा पर जाने खतरा आँगनमै ढिम्किसकेको छ । चेतना भया ।