घरेलु सामग्री बिक्री गर्न नपाउँदा जीविकोपार्जनमा समस्या

घरेलु सामग्री बिक्री गर्न नपाउँदा जीविकोपार्जनमा समस्या


  • डम्बर निदाल, डडेल्धुरा

कोरोना भाइरसको संक्रमण नियन्णका लागि निषेधाज्ञा जारी भएको महिनादिन भन्दा ज्यादा बितिसक्दा पनि निषेधाज्ञा कति लम्बिने भन्ने अन्योल कायम नै छ । यसले गर्दा उद्यमीजनले घरैमा उत्पादन गरेका सामग्री बिक्री गर्न नपाइ घरमै थन्किएका छन् । खासगरी अमरगढीका दलित उद्यमी समुदायलाई यो विकराल परिस्थितिका कारण छाक टार्न समस्या भएको छ ।

गाउँघरमा ज्याला-मजदुरी गरी खाने अवस्था पनि नभएको र पुर्ख्यौली पेशाको कामकाज पनि अनिश्चितकालका लागि बन्द भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलुक र देशका विभिन्न शहरबाट घर फर्किएका युवाहरूलाई समस्या भएको छ ।

बाली भित्र्याउने बेलामा निषेधाज्ञा शुरु भएपछि उत्पादित बाँस, निगालोका सामग्री बिक्री नहुँदा उद्यमीहरू संकटमा परेका छन् । दैनिक गुजाराका लागि बाँस निगालोजन्य सामग्री उत्पादन गर्ने अमरगढी नगरपालिका–७ पोखराका हस्तकला उद्यमीहरू अनाज राख्ने भकारी, डोको, डालो नाङ्लो छाप्री आदि बनाइएका सामग्री निषेधाज्ञाका कारण बिक्री हुन सकेका छैनन् ।

बाँस र निगालोबाट घरायसी सामाग्री बनाइ गाउँ-गाउँ पुगेर बिक्री गरी गुजारा गर्ने दलित समुदायलाई उत्पादन गरेका सामग्री निषेधाज्ञापछि घरमै थन्काएर राख्दा जीविकोपार्जनमा समस्या भएको हो । बाँस, निगालोबाट बनाइएका डोको डालो, नाम्लो बिक्री गर्न नपाउँदा अमरगढी नगरपालीका–७ पोखराका करिव एक सय दलित समुदायका घरपरिवारलाई छाक टार्न समस्या भएको छ ।

यहाँ उत्पादित कृषिजन्य सामग्री डडेल्धुरालगायत डोटी र तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बढी बिक्री गर्ने गरेको उद्यमीहरू बताउँछन् । निषेधाज्ञा शुरु भएपछि बाँस, निगालोबाट बनाइएका सामग्री बिक्री हुन सकेका छैनन् । बाँस तथा निगालोबाट बनाइएका डोका, सुप्पो, डालो, भकारो लगायतका सामाग्री दलित समुदायको घर-घरमै थन्किएर रहेको छ ।

गाउँमा रहेको सहकारी संस्थाले हप्तामा एक जना सेयर सदस्यबाट ६ वटा डोको डालोका साथै अन्य सामग्री किन्ने गरेको थियो । निषेधाज्ञापछि सहकारीमा नै सामग्री थन्किँदा समस्या भइरहेको सहकारीले जनाएको छ । यहाँ बनाइएका सामग्री डोटी र तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बढी बिक्रि गर्ने हुने गरेका थिए । निषेधाज्ञापछि बिक्री वितरण ठप्प भएको छ ।