खोजी

खोजी


  • डा. बिष्णुप्रसाद सुवेदी

एकदिन म बाफ भएँ
आकासिएर हेरेँ
फेरि एकदिन पानी भएँ
पातालिएर हेरेँ
त्यसरी नै
जमेर हेरेँ
बगेर हेरेँ
सुस्ताएर हेरेँ
बत्तिएर हेरेंँ
हिँडेर पनि हेरेँ
दौडेर हेरेँ
अँध्यारोमा हेरेँ
उज्यालोमा हेरेँ
आफैंले आफैंलाई चिथोरेर हेरेँ
बिना शिर हेरेँ
बिना पाउ हेरेँ
मभित्र मै पसेर
सबतिर खोजेर हेरेँ
कता छु म भनी
सब एकएक खोसेर हेरेँ
त्यहाँ मात्र एक मणी छ
उर्जावान जादुको छडी छ
स्वर्गसमान एक गढी छ
त्यहाँ लक्ष्मी कविता लेख्न सिकाउँछन्
नारायण गीत गाउन सिकाउँछन्
माइकल नाचिरहेका हुन्छन्
अल्बर्ट हिसाब गर्दै हुन्छन्
ओशो हृदयबाट बोल्दै हुन्छन्
सुन
त्यहाँ
प्रकृतिका वादहरु चाङका चाङ छन्
न्युटनका फर्मुला ऱ्याङका ठ्याङ छन्
बुद्धको गाउँमा जे खोज्यो त्यो भेटिन्छ
ज्ञान रत्नबाहेक अरु सब मेटिन्छ

त्यो मेरो एकादेशमा मान्छे उड्न सक्छ
विचारले
चरा बोल्न सक्छ
भावले
सब सब ठाममा मिलाएकी छन् रानीले
त्यसैले
भावमै ईश्वर देख्छ दिव्य ज्ञानीले
आजकल
मलाई लौकिक कुराहरु गुडिया लाग्छन्
बचेराको छेउमा छरीएका
खेलाइएर टुटाइएका
त्यसैले होला
ज्ञानको भोकले बालक रुन्छ
पेटको भोकभन्दा पहिले
तर
ईश्वरको बतिलोलाई
सुन पैसा दिइन्छ
भुलाइन्छ
लाग्छ भुलभुलैया उस्को नियति हो
लोभ क्षोभको पत्कर टाँसेर
ब्रमाण्डतिर उडाइन्छ
अनि उतै प्रकृतिलाई जिस्काएर बटुलिन्छ
दुई थान तक्माहरु
फेरि मान्छेहरुको समाजमा
अरुलाई जीवनका गल्ठ्याङहरुमा पैँठेजोरी खेल्न
तयार पारिन्छ
पारिन्न आफ्नै कमजोरीसँग लड्न
चिनाइन्न मान्छेको असली दुस्मन
अनि पड्किन्छन् हिरोसिमामा पटका
खोतलिन्छन् सुनका गुफाहरु
बेचिन्छन् तेलका कुवाहरु
बिर्साइन्छन् मौलिकताहरु
अनि पर सुनिन्छन एक थान थपडी
भन्न त भनिएला
तर आफ्नै कुनाकाप्चामा मान्छे
एकदम एक्लै बच्चा जस्तो
रोइरहेको
भोकाइरहेको
हुने रहेछ
जे कुराले फुल्यायो
त्यै कुरामा पल्किने रहेछ
बिचरो ईश्वरको बचेरो
म आफैलाई सोधेर हेरेँ
आफैभित्र खोजेर हेरेँ

  • भरतपुर, चितवन