तिमीले मलाई रोजेको त्यो दिन

तिमीले मलाई रोजेको त्यो दिन


  • सुन्दरा कार्की

धेरै घुम्तीपछि
भित्रभित्रै भौँतारिदा भौँतारिदै
जीवनको तँछाडमछाड मैदानमा
खेलाडीको हैसियतले प्रतियोगी हुँदै गर्दा
आवश्यकता र पहिचानको नटुङ्गिने दौडमा
कामनाले ग्रसित, अपूर्णतासँग
झुटो मुस्कानको कुशल अभिनेत्री म
जीवनको मूल्यसम्म अबोध पात्रमाथि
एक्कासी जीवन नै उथलपुथल हुने गरी
तिमीले मलाई करोडौँमा रोजेको दिन

खै के योग्यता थियो र मेरो आज सोँच्छु
त्यतिबेला त खुबै योग्य नसम्झेको पनि होइन आफूलाई
म खास छैन भन्दै विशेष देखिने प्रयत्नहरुका साथ
मानवताको मूल्य बोध दूर-दूरसम्म नगरेकी म
यसैलाई
जीवनको ठूलो उपलब्धिको भ्रम पाल्ने
आनन्दको छिटासम्म नचाखेकी व्याकुल मलाई
मरुभूमिबाट सिधै महासागरमा फालिदिँदा
तातो फलामलाई पानीमा फालेझैँ
धेरै दिन पुत्ताइ रहेँ अवाक भइ
त्यो नैसर्गिक शीतलता भनक पाएको दिन,
मेरो पुनर्जन्म भएको क्षण
तिमीले करोडौँमा मलाई रोजेको दिन !!

टाँसेर राखेका भ्रम स्वतः पग्लेर मबाट अलग्गिएको त्यो दिन
अतृप्त यात्रीमाथि तृप्तिको वर्षा भएको दिन
कण-कण क्षण-क्षण नृत्य बनेको त्यो दिन
मुर्छितलाई होसको जलले छ्यापेर जगाइएको
जीवनलाई जीवन्त पार्ने दृष्टि
प्राप्त त्यो वसन्त,
पागल बस्तीको सदस्यमा प्रवेशको क्षण
क्लेशले स्वर्णलाई छाड्दा चम्केझैँ
वर्षौंपछि असली स्वरुपसँग भेटघाट
नामभित्रको बेनामी, रुपभित्रको अरुपीले
मलाई भेट्दा
प्रिय बनेको थियो अचानक जगत् ।
अन्धोले दृष्टि पाउँदा उमङ्गित सरी
बिना पाउजेब उमङ्गित भइ नृत्यमा समावेश हुने क्षण,
तिमीले मलाई रोजेको दिन

बाँसुरी मधुर ध्वनी नशा-नशामा बग्दा
त्यही नशामा बगेको धुनले म ढल्दा
अचानक म पुगेँ असली गृहमा
जहाँ केही छैन तर सबै छ
वृक्षको आलिगङ्गनमा धुकधुकी छाम्दा
म अझै नजिक पुगेँ तिम्रो
बतासको स्पर्शमा तिमीलाई पाउँदा
म तिमीमै विलिन भएँ
तर यी सब अनुभूति तिमीले नरोजेको भए कहाँ सम्भव थियो र प्रिय !
न शब्द समर्थ छ कृतज्ञको पूर्ति गर्न न कुनै बाटो नै छ
धन्न तिमीलाई शब्दको जाल चाहिन्न
नत्र यहाँ शब्दजालमै जीवन गुमेको छ,
तिमीलाई केवल म भए पुग्छ
रित्तो म अनि मेरो समर्पण
रिक्ततामा पूर्णता पाएको दिन
तिमीले मलाई रोजेको दिन !!

तिमी मेरो हृदयमा उठेका भाव लोचनसम्म नआइपुग्दै बुझिहाल्छौ
भावले आकार लिनुअगावै परिचित हुन्छौ,
कोही नहुँदा पनि म तिमिसँगै हुन्छु
तिमीसँग हुँदा म कोहीको हुन्न
केवल आफ्नो हु्न्छु अर्थात् तिम्रो हुन्छु
अहोभावको लागि हृदयदेखि नेत्र हुँदै वर्षिने
पवित्र भावगुच्छा, मेरो सम्पत्ति
यही चढाउँछु है प्रिय
थाह छ मलाई तिमी सट्टामा केही चाहन्नौ
केवल शून्य केवल शून्य !!

(उपप्राध्यापक, सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल)