हाम्रा र अन्य देशका गुप्तचरहरू र सामन्त गोयल सन्दर्भ

हाम्रा र अन्य देशका गुप्तचरहरू र सामन्त गोयल सन्दर्भ


  • केशवप्रसाद भट्टराई

कौटिल्यले इशापूर्व चौथो शताब्दीमा नै एउटा गुप्तचरले सिङ्गो राज्यलाई पल्टाइदिन सक्नेबारे उल्लेख गरेका थिए ।

उचित स्थान र जिम्मेवारी दिएमा यौटा गुप्तचर युद्धमैदानका हजारौँ सेनाभन्दा बढी प्रभावकारी हुने बताएका छन् ।

नेपोलियनले पनि बीसौँ हजार सेनाका लागि विजय सम्भव नहुने युद्धलाई एउटै गुप्तचरले सम्भव गराइदिने उल्लेख गरेका छन् ।

बीसौँ शताब्दीका कैयौँ त्यस्ता उदाहरण छन् जहाँ हजारौँ सङ्ख्याको सेना, आधुनिक हतियार र बम–गोलाले गर्न पनि असम्भव हुने जस्ता काम एक-दुई जना गुप्तचरले गरेर देखाएका छन् ।

१. नेपालको एकीकरणदेखिको गुप्तचरीको सन्दर्भ :

पृथ्वीनारायण शाह र बहादुर शाहहरूले नेपाल एकीकरणको अभियानमा गुप्तचरहरूलाई उम्दा रूपमा प्रयोग गरेको पाइन्छ ।

राणाशासनको लामो निरन्तरताको आधार बलियो गुप्तचर व्यवस्था थियो ।

दरबारको पनि बलियो गुप्तचर व्यवस्था थियो ।

चार–पाँच हजार सेना पनि दरबारभित्रै थियो ।

राणा कालअघि र पछिको नेपालको दरबारमा त्यस्ता घटना नौला पनि थिएनन् ।

त्यो सबै दरबारको गुप्तचर संयन्त्रले नदेखेको-नबुझेको होइन ।

दरबारभित्रको गुप्तचर संयन्त्र, सेना र राजदरबार सचिवालयको कर्मचारी प्रशासनका सबै व्यक्ति स्वयम् राजाका निकट सहयोगीहरूको कडा परीक्षण र निरीक्षणपछि नियुक्त हुने व्यवस्था थियो ।

२. गुप्तचरीको असफलता र हाम्रो वर्तमान :

तर दरबारभित्र राजा वीरेन्द्रको हत्या भयो ।

दरबारका कुनै संयन्त्र र संरचनाले त्यो षड्यन्त्रको अनुमानसम्म गर्न सकेन !

नेपालको गुप्तचर प्रणाली बलियो मानिथ्यो तर हाम्रा सेना, प्रहरी र गृह मन्त्रालयअन्तर्गतका गुप्तचर व्यवस्थाले राजाको हत्याको सम्भावनाको सुइँको पनि पाएन ।

लौ.. त्यो दरबारभित्रको कुरा भएछ– पञ्चायत शासनकालमा जनकपुरमा राजा महेन्द्र र विराटनगरमा राजा वीरेन्द्रमाथि बम र ग्रिनेडबाट आक्रमण भयो ।

नेपाल राष्ट्र बैंकको पैसा बोकेको शाही नेपाल वायु सेवा निगमको विमान अपहरण भयो, पैसा जति लगेर विमान फिर्ता भयो ।

हाम्रा गुप्तचरहरूले त्यसको अनुमानसम्म गरेको थाहा भएन ।

३. नेपालको गुप्तचर प्रणालीको असफलता र माओवादी विद्रोहको सफलता :

टाढा नजाउँ…, माओवादी विद्रोह आरम्भ, विकास र अन्त्य, १२बुँदे सम्झौता, प्रचण्ड र बाबुरामले भारतीय सुरक्षा निकायसमक्ष गरेको कबुलियत,

माओवादीले भारतमा पाएको सहयोग, संरक्षण, प्रशिक्षण, प्रोत्साहन र त्यस्तो युद्धमा प्रयोग भएका अत्याधुनिक विदेशी सेना र हतियारबारे त हाम्रा गुप्तचरले पत्तै पाएनछन् रे लौ,

तर नेपालका पूर्वप्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूको तहसम्मका व्यक्तिहरूको माओवादीसँगको निरन्तर सम्पर्क, भेटघाट र सम्झौताको पूर्वजानकारी पनि उनीहरूलाई भएन ।

सेना र प्रहरीको एकपछि अर्को ब्यारेकमाथि आक्रमण हुँदा पनि गुप्तचर व्यवस्था सुसुप्त !

तत्कालीन शाही नेपाली सेना र प्रहरीले पालेका कर्णेल फुदुङहरूको योगदान त्यसमा कति थियो, त्यो उनै जानुन् ।

४. गुप्तचरहरूको सफलता र असफलताको अध्ययन र अनुसन्धान : राष्ट्रिय सुरक्षाको मार्गदर्शक सिद्धान्तका आधार :

नेपालमा गुप्तचरको नाउमा करोडौँ करोड खर्च भएको बताइन्छ ।

गृहमन्त्री, गृहसचिवहरूले पनि हरेक महिना हिसाब नै देखाउन नपर्ने गरी लाखौँ रकम खर्च गर्न पाउँछन् भनिन्छ ।

त्यस्तो रकम प्रमुख जिल्ला अधिकारीहरूलाई पनि उपलब्ध हुने बताइन्छ ।

राष्ट्रिय अनुसन्धान विभाग छ,

माथि भनेजस्तै सेना र प्रहरीहरूको पनि गुप्तचर विभाग छ तर तिनले के काम गर्छन्, गरिरहेका छन् भन्ने देखिन्न ।

त्यसबारे कुनै सार्वजनिक जानकारी बाहिर आउन्न ।

आज पो मिल्दैन, दुई-चार वर्षसम्म तिनका कृयाकलाप गोप्य नै रहनु पर्ला लौ १० वर्ष पर्ला, १५ वर्ष पर्ला, तीसम्बन्धी सबै जानकारी सधैँ अन्धकारमै रहनुपर्ने त होइन ।

२०१८ सालमा राजा महेन्द्रमाथि बम प्रहारबारे,

२०३१ सालमा राजा वीरेन्द्रमाथि ग्रिनेड आक्रमण बारे,

२०२८ सालमा राजा महेन्द्रको निधन ?

मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना र मृत्यू अनि राजा वीरेन्द्रको हत्या आदि बारे,

माओवादी विद्रोहबारे ती घटनाको अघि र पछि नेपालका गुप्तचर निकाय र गुप्तचर अधिकारीहरूले कुनै अध्ययन गरेनन् ?

तिनको कुनै निष्कर्ष छैन ?

ती कहिले असफल भए होलान्, कहिले सफल ।

सफल कहाँ भए, असफल कहाँ भए त्यो पनि मुलुकले जान्न पाउनुपर्ने नि ।

उनीहरूको नाउमा राज्यले गरेको खर्चको औचित्य जनतामाझ बुझाउन पनि निश्चित समयपछि ती विवरण सार्वजनिक हुनु पर्दछ, किनकि ती राष्ट्रिय इतिहासका अमूल्य स्रोत हुन् ।

राष्ट्रिय सुरक्षाका लागि मार्गदर्शक सिद्धान्त हुन् ।

मुलुकका लागि र उनीहरूकै संगठनका लागि पनि ।

५. गुप्तचरहरूको चयन र नियुक्तिको अभ्यास, उनीहरूको सफलताको आधार :

सफल मुलुकहरूले गुप्तचरहरूको नियुक्तिमा अब्बल नीतिहरू अख्तियार गरेका पाइन्छन् ।

विश्वविद्यालयका श्रेष्ठ उत्पादनहरू, दक्ष प्राविधिज्ञहरू, श्रेष्ठ क्षमता प्रदर्शन गरेका सैनिक र प्रहरीहरू, योग्यतम पत्रकारहरू, बडे-बडे वैज्ञानिकहरू, साहित्यकारहरू कूटनीतिज्ञ र प्राज्ञहरू मध्येबाट गुप्तचरमा नियुक्त गर्छन् उनीहरू ।

श्रेष्ठ व्यक्तिहरूबाट राष्ट्रिय सुरक्षाका लागि श्रेष्ठ सेवा ।

आफ्नो मुलुकका पनि त्यस्तै नियुक्त गर्दछन् र विदेशी राष्ट्रकामा गुप्तचरी गर्नका लागि पनि त्यस्तै ।

निष्कर्षमा भन्दा गुप्तचरहरू अब्बल राजनेता, कूटनीतिज्ञ र प्राज्ञ हुन्छन् !

केही उदाहरण हेरौँ-

धेरै अघि जानु पनि पर्दैन- जर्ज डब्ल्यु बुस अमेरिकी गुप्तचर सँस्था सिआइएका प्रमुख थिए– सफल र सम्मानित उपराष्ट्रपति र राष्ट्रपति भए ।

अन्तर्राष्ट्रिय राजनीतिका धुरन्धर (पिएचडी समेत) रोबर्ट एम. गेट्स सिआइएमा लामो समय रहे ।

पछि प्रमुख पनि भए ।

दुवै परस्परविरोधी दलहरूका अत्यन्त सम्मानित रक्षामन्त्री भए र, पछि कुनै विश्व विद्यालयका अध्यक्ष बने ।

जेम्स स्लेसिङ्गर, लिओन पेनेटा पनि सिआइए प्रमुखबाट अमेरिकाका रक्षामन्त्री भएका थिए ।

अलेन डलेस अमेरिकाका कुशलतम र सफलतम विदेशमन्त्री थिए र उनी पनि सिआइए प्रमुख थिए ।

जर्ज जोन टेनेट सिआइए प्रमुख थिए– पछि जर्ज टाउन विश्वविद्यालयमा कूटनीतिका विश्व विख्यात प्राध्यापक भए ।

आर. जेम्स उल्से सिआइए प्रमुखबाट अमेरिकी राष्ट्रपतिका विशिष्ट कूटनीतिक सल्लाहकार भए र धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय सवालमा राष्ट्रपतिका प्रतिनिधि र राजदूतको रूपमा सेवा गरे ।

धेरै अमेरिकी प्रतिष्ठानको नेतृत्व गरे ।

कस्ता–कस्ता मानिस चयन हुँदा रहेछन् त सिआइएमा काम गर्न !

६. गुप्तचर चयन र नियुक्तिका श्रेष्ठ अभ्यासका केही गतिला उदाहरण :

ठूला शक्तिराष्ट्रहरूमा सबैभन्दा लामो समयदेखि सत्तामा रहेका, सबैभन्दा अनुभवी राजनेता भ्लादिमिर पुटिन सोभियत संघको गुप्तचर संगठन केजीबीबाटै राष्ट्रपतिमा आएका हुन् !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल त्यहाँको आन्तरिक गुप्तचर विभाग (इन्टेलिजेन्स ब्युरो)मा सानो पदबाट उठ्दै त्यसको प्रमुख भए ।

उनी मोदीपछिका सर्वाधिक शक्तिशाली व्यक्ति मानिन्छन् ।

विगतमा उत्तरपूर्वको पृथकतावादी विद्रोहलाई अन्त्य गर्नेदेखि लै आएर कश्मिर असन्तोष र त्यहाँको आतंकवादलाई न्युन बनाउन उनको निर्णायक योगदान रहेको छ ।

भारतीय गुप्तचर संगठन (रअ)का प्रमुख रामेश्वर नाथ काव भारतका मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै अत्यन्त प्रतिष्ठित गुप्तचर थिए ।

मिथक बनेका छन्- उनी भारतमा र विश्व गुप्तचर जगतको इतिहासमा ।

‘रअ’का अर्का प्रमुख विक्रम सुद अन्तर्राष्ट्रिय गुप्तचरीको इतिहास र गुप्तचर शीप र कौशलका प्राधिकार मानिन्छन् ।

पाकिस्तानको सर्वशक्तिमान गुप्तचर संगठन आइएसआईका प्रमुख असद दुरानी पनि अन्तर्राष्ट्रिय स्तरमा नै घाग गुप्तचर मानिन्छन् ।

तीन बहुचर्चित पुस्तकका लेखक छन् ।

पूर्व जर्नेलहरू, सिनेटरहरू, काङ्ग्रेस सदस्यहरू पूर्वकूटनीतिज्ञहरू सिआइए प्रमुख र अन्य गुप्तचर निकायमा नियुक्त भएर जान्छन् । अमेरिकामा अहिलेका सिआइए प्रमुख दिग्गज कूटनीतिज्ञ र पूर्वराजदुत हुन् ।

भारतमा पनि प्रहरीसेवामा सर्वोच्च पदमा उत्कृष्ट सेवा गरेकाहरूले त्यहाँका गुप्तचर निकायहरूमा नियुक्ति पाउने गरेका छन्, नेपालका राजनीतिज्ञ र मिडियाले उल्लेख गरेजस्तो सानो महत्वका पद होइनन् ती !

संसारका जुनसुकै देशमा आफ्ना कार्यकारी प्रमुखसँग नियमित सम्पर्क र वार्तामा बस्ने व्यक्तिहरू हुन् ती !

सरकार वा राष्ट्रप्रमुखको मानसिकतालाई राम्रोसँग पढेका-बुझेका हुन्छन् उनीहरूले !

उनीहरूसँग भेटवार्ता गर्दा प्रोटोकलको कुरा आउँदैन !

७. सामन्त गोयल भ्रमणको परिवेश र परिणाम :

नेपालबाट राजसँस्था समाप्त पार्ने उद्देश्यले नेपालको २०४६ सालको आन्दोलनलाई पर्दापछाडिबाट ‘रअ’ले संचालन गरेको थियो ।

आज तिनै रअको लागि काम गरेकाहरू, रअको सहयोग, संयोजन र परिचालनमा भएको परिवर्तनका सहायक पात्रहरू प्रधानमन्त्रीसँगको रअ प्रमुखको भेटवार्तालाई राजनीतिक अपराधजस्तो मानेर तथानाम भनिरहेका छन् ।

जब दुइ देशबीचको सम्बन्धमा कुनै गतिरोध उत्पन्न हुन्छ, उच्च राजनीतिक र कूटनीतिक स्तरमा वार्ता सम्भव हुन्न, संसारभरी त्यस्तो गतिरोधको स्थिति अन्त्य गर्ने जिम्मा गुप्तचर सेवाका उच्च अधिकारीहरूले लिन्छन् ।

अजित डोभाल, सामन्त गोयलहरू प्रधानमन्त्री मोदीका निकट र विश्वस्त सहयोगी हुन् !

भ्रमण र वार्ताका लागि कुनै प्रोटोकल नचाहिने,

कसैले आमन्त्रण गर्नु नपर्ने ,

तत्कालको सूचनामा उनीहरू जतिखेर जहाँ पनि खटाइन सक्छन् ।

खटाइए, आए !

संसारको सबैभन्दा शक्तिशालीमध्येको मानिने संगठनको चौविस घन्टै ड्युटीको लागि तयार रहनुपर्ने सामन्त गोयललाई के बिहान के राति !

भोलीपल्ट कहाँ पुग्नु छ र कहाँ के भ्याउनु छ !

अनि विशिष्ट व्यक्ति आफैँलाई भेट्न आएको अवशरमा नेपालका प्रधानमन्त्रीलाई पो सबेरै सुत्ने, ढिलो उठ्ने, चिया, नास्ता, खाना खाएर एकछिन आराम गरेर अनि भेटौँला भनेर साइत हेरेर बस्ने फुर्सद पो कहाँ होला र ?

जतिखेर अनुकूल मिल्छ उतिखेर भेट्ने ।

उनीहरूका लागि प्रक्रियाले कुनै माने नै राख्दैन ।

उनीहरूसँगको वार्ता कसको आवश्यकता हो, प्रक्रियाको निर्णय उसैको रूचिअनुसार हुन्छ ।

सवाल परिणाम हो ।

ओली-गोयल वार्ताको परिणामबारे केही प्रष्ट भइसकेका छन् केही हुँदै जालान् ।

८. गुप्तचरहरूले निर्माण गरेका परिवेश र विश्व इतिहासका केही सन्दर्भहरू :

त्यस्तो समयमा नेपालका प्रधानमन्त्रीहरूले विदेशी प्रतिनिधिहरूलाई र विदेशी राष्ट्र र सरकार प्रमुखहरूले एकाएक सूचनाको आधारमा नेपाली प्रतिनिधिहरूलाई भेटेका उदाहरण छन्– थुप्रै !

सवाल र सरोकार समयको होइन, विषयको हुनसक्छ ।

हेनरी किसिन्जर र अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमणको वातावरण तयार गर्न पाकिस्तानदेखि लिएर रुमानिया, पोल्याण्ड, पेरिस, बेइजिङ र वाशिङ्टनमा कार्यरत अमेरिकी र युरोपेली मुलुकका गुप्तचरहरूले लामो गृहकार्य गरेका थिए ।

त्यसै भएको थिएन त्यो बीसौँ शताब्दिकै प्रमुखमध्येको एक ऐतिहासिक रणनीतिक र कूटनीतिक भ्रमण !

त्यसैको जगमा निर्माण भएको छ आजको विश्व-राजनीतिमा चीनको हैसियत ।

सफल गुप्तचर र सुरक्षा निकायका अधिकारीहरू सुशिक्षित हुन्छन्, अनुशासित हुन्छन् र कूटनीतिक वार्ता, सहमति, सम्झौता र रणनीतिमा पनि उत्तिकै उम्दा हुन्छन् !

हजारौँको सङ्ख्याको सेना, आधुनिक हतियार र बम-गोलाले गर्न पनि असम्भव हुने जस्ता काम यौटै गुप्तचरले सफलताका साथ गरेका अनेकौँ उदाहरण छन् ।

अपवादको अवस्थामा बाहेक कुनै पहिचानबिना, राज्य संरक्षणबिना मात्रै होइन,

राज्यले उस्तै परे ‘हामी चिन्दैनौँ’ भनेर परित्याग समेत गरिदिने अवस्थामा अत्यन्त ठूलो जोखिमको स्थितिमा पनि आफ्नो जीवन उत्सर्ग गर्ने, अर्थात् निष्काम कर्मयोगीको रूपमा काम गर्ने गुप्तचरहरूलाई अपमान गर्नु राष्ट्रको र राज्यका महान् सेवकहरूको घोर अपमान हो ।

युद्धमा हारजीत सेनाको क्षमता, सङ्ख्या र हतियारले मात्र हुँदैन, सक्षम गुप्तचरहरूको सूचनाको योगदान त्यत्तिकै हुन्छ ।

९. महान् प्रतिभाहरू र उनीहरूका ऐतिहासिक गुप्तचरी :

गुप्तचरहरूको आफ्नो ज्ञान, अनुभव र प्रतिभाको बलमा देश र विदेशका प्रमुख र निर्णायक हैसियतका व्यक्तिमाथि प्रभाव स्थापना गरेर आ-आफ्नो मुलुकको हित साधनामा सफल देखिन्छन् ।

नोवेल पुरस्कार प्राप्त अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्गवे सोभियत सङ्घको लागि गुप्तचरी गर्दथे ।

क्लाउस फुस र थियोडर हल अमेरिकी आणविक परियोजनाका विख्यात वैज्ञानिक थिए ।

उनीहरूले नै सोभियत सङ्घलाई लुकाएर आणविक बमको निर्माण प्रविधि उपलब्ध गराएका थिए र, त्यसैको आधारमा १९४९ मा सोभियत सङ्घले पहिलो आणविक परीक्षण गऱ्यो ।

भारतीय गुप्तचर सँस्थाले नेपालका कुन स्तरका राजनीतिक व्यक्तिहरूलाई, मिडिया हाउसहरूलाई र बौद्धिकहरूलाई खरिद गरेको रहेछ, सुरक्षा निकायमा उनीहरू कसरी पसेका रहेछन् भन्ने कुरा आज कसैले कसैलाई भन्नै पर्दैन ।

सिआइएले विगतमा नेपाली राजनीति र सत्ताको शिखरमा नै पहुँच बनाएको थियो ।

हिजो सोभियत गुप्तचर सँस्था केजिबी आज चीनियाँ गुप्तचर संगठन एम.एस.एस, एम.पी.एस. पाकिस्तानको आइ.एस.आइ. नेपालमा त्यत्तिकै प्रभावकारी हैसियतमा भएको देख्न बुझ्न सकिन्छ ।