टोकियो ओलम्पिक हुन ५० दिन बाँकी, खेलप्रेमीको जापानमा चहलपहल सुरू

टोकियो ओलम्पिक हुन ५० दिन बाँकी, खेलप्रेमीको जापानमा चहलपहल सुरू


टोकियो ओलम्पिक खेलको उद्घाटनको अब ५० दिन बाँकी रहँदा आयोजकले बिहीबार प्रतिस्पर्धामा समावेश गरिने खेलको सूची सार्वजनिक गरेको छ ।

आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहे पनि ओलम्पिक खेल यथावत सञ्चालन गरिने जनाएका छन् ।

‘मलाई विश्वास छ, समारोहले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ’, हाशिमोतोले अगाडि भने– ‘हामीसँग अब ५० दिन मात्र बाँकी छ, यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु ।’

‘यदि विश्वका विभिन्न देशले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरैजसो देशबाट खेलका लागि प्रतिनिधिमण्डल आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियौँ । सहयोग र समर्थनका लागि विश्वका सबै खेलसँग सम्बन्धित खेलाडी र त्यहाँका सरकार तथा खेलकूद संस्थाप्रति टोकियो खेल आयोजक समिति आधार व्यक्त गर्न चाहन्छ’, होशिमोतोले स्थानीय एक खेलकूद् पत्रिका निक्कानसँग भनेका छन् ।

अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुने उनले जिकिर गरे ।

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ सङ्क्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको बताइएको छ ।