को हुन् सलमान खानको ‘राधे’मा देखिएका साङ्गे ?

को हुन् सलमान खानको ‘राधे’मा देखिएका साङ्गे ?


  • राजन घिमिरे

मानिसको करिअरले कहाँ गएर कुन बेला कसरी मोड लिन्छ थाहा हुँदैन । जीवनमा कल्पनाभन्दा माथि ठानिएको या सोच्दै नसोचेको अवसर पनि आउन सक्छ भन्ने कुराको उदाहरण बनेका छन् लोता अर्थात् साङ्गे सेल्ट्रीम । साङ्गे सलमान खानको चलचित्र राधेको रिलिजसँगै चर्चामा आएका हुन् ।

गत मे १३ इद पर्वको दिन रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको चलचित्र राधेसँगै चलचित्रमा दायाँ हात बनेर सधैँ उनको वरिपरि रहने व्यक्तिको भूमिकामा सशक्त रूपमा देखिएका छन् साङ्गे । यही चलचित्र र उनले निभाएको भूमिकाका कारण यतिबेला साङ्गेको नेपाल र बलिउड चलचित्रमा क्षेत्रमा चर्चा चुलिएको छ।

साङ्गे भुटानका पूर्व सैनिक अधिकारी र शाही अंगरक्षक हुन् । भुटानी नागरिक शेल्ट्रिमलाई ‘राधे’मा सलमान खान आफैँले रोल दिएका हुन् । राधे टिमलाई सलमान आफैँले फिल्मको लागि शेल्ट्रिमलाई बोलाउन लगाएका थिए । बलिउडका सुपरस्टारसँगको फिल्ममा काम गर्ने मौका पाएकोमा साङ्गे पनि निकै खुसी छन् र, आफूलाई भाग्यमानी ठान्छन् ।

फिजिकल फिटनेसमा अत्यन्त लगाव राख्ने उनले बलिष्ठ पाखुरा र फिट बडीकै कारण राधेमा ‘लोता’को भूमिका पाएको बताइएको छ । हुन त साङ्गेको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा फिटनेस प्रतियोगितामार्फत आफ्नो देशलाई चिनाउनु थियो । यही कारण साङ्गेले सन् २०१३ मा सेनाबाट स्वेच्छिक सेवानिवृत्ति लिएका थिए । फिटनेस प्रतियोगिताहरूबाट धेरै पुरस्कार जितिसकेपछि उनले आफ्नो गृहनगरमा जिमखाना सञ्चालन गर्ने निर्णय लिएसँगै अभिनय पनि सुरु गरे । यही क्रममा उनको कुराकानी बलिउड फिल्म निर्माता हैदर खानसँग भयो । फिल्म निर्माता खानले साङ्गेलाई ओटीटी फिल्मका लागि मुम्बई बोलाए । यसै क्रममा उनले दबंग ३ को सेटमा सलमान खानसँग भेट्ने अवसर पाए ।

दबंग ३ को शुटिङमा साङ्गे र सलमान खानबीच करिब एक घण्टा कुराकानी भयो र, सलमानले उनलाई डिनरको अफरसमेत गरेका थिए । उनीहरूबीच फिटनेसका विषयमा मात्र कुराकानी भएको थियो । यो भेटको दुई महिनापछि नै निर्माता हैदर खानले साङ्गेलाई फेरि फोन गरेर भेट्न मुम्बई बोलाएका थिए । तर यो पटक हैदरले आफ्नो लागि नभइ सलमानले उनलाई चलचित्रका लागि दिएको अफरका कारण बोलाएका थिए । यसरी साङ्गेले सलमान खानको राधेमा आवद्ध हुने अवसर पाए ।

यसरी एउटा संघर्षरत भूटानी युवकले बलिउड चलचित्रमा मारेको यो छलाङको खबरले यतिबेला ब्यापकता पाएको छ । फ़िटनेसको दुनियाँमा रमाइरहेका साङ्गेको चर्चा बलिउडमा हुनु त्यो पनि सलमानको समूहमा, कमको कुरा होइन । राधेले साङ्गेको जीवनमा ल्याएको परिवर्तन र वाहवाहीले साङ्गेलाई अन्य वलिउड चलचित्रहरूबाट पनि अफर आउन थालेका छन् ।