नर्भिक हस्पिटलले घोषणा गऱ्यो सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

नर्भिक हस्पिटलले घोषणा गऱ्यो सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’



नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोष्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

सिंहका अनुसार पोष्ट कोभिडसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीले कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर हस्पिटलले प्रदान गरेको छ ।

पोस्ट कोभिड प्याकेजअन्तर्गत दुई प्रकारका प्याकेज घोषणा गरिएको छ । अस्पतालले ७,५०० र १४,५०० गरी सस्तो दररेटको प्याकेज तथा सिटी स्क्यानसहितको प्याकेज सार्वजनिक गरेको छ । सस्तो प्याकेजअन्तर्गत बिरामीको सिबिसी, कोभिड एन्टीबडी, सिआरपी, डी डाइमर, चेस्ट एक्स–रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ भने सोही शुल्कमा विशेषज्ञ चिकित्सकको परामर्श सेवासमेत उपलब्ध हुनेछ ।

यस्तै चेस्ट एक्स–रेको ठाउँमा कसैले सिटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको दर भने केही बढ्न सक्छ । दोस्रो प्याकेजअन्तर्गत सिटी स्क्यानसहितको प्याकेजको दर रु १४,५०० तोकिएको छ । सो प्याकेज आफ्नो सुविधाअनुसार लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुकसमेत गर्न सक्नेछन् । यस्तै सोझै अस्पतालमा नै गएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

नर्भिक हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेको सङ्ख्यासँगै मृत्युदरमा समेत वृद्धि भएको छ ।

कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेशन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँ-स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने गर्छन् । यस्ता समस्यालाई बेवास्ता नगरी तुरुन्त अस्पताल जान बिरामीलाई चिकित्सक जैसवालले आग्रहगरेका छन् ।