द्रौपदीदेखि विद्या भण्डारीसम्म

द्रौपदीदेखि विद्या भण्डारीसम्म


  • बबिता बस्नेत

महाभारतमा दुर्योधनहरूले द्रौपदीमाथि बदला लिने तरिका अनेक हुन सक्थे । द्रौपदीले दुर्योधनलाई ‘अन्धाको छोरा अन्धा’ भनेपछि दुर्योधनको ‘इगो’मा हर्ट भएको थियो । बदलामा बोल्न सक्ने अनेक शब्द र वाक्यहरू हुन सक्थे । उनका बाबु द्रुपदका अवगुण या ससुरा पाण्डुको रोगको कुरा… जे पनि हुन सक्थ्यो । तर, उनीहरूले भारी सभामा द्रौपदीको बस्त्रहरणको प्रयास गरे ।

अहिले एक्काइशौँ शताब्दीमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका राजनीतिक क्रियाकलापलाई लिएर वादविवाद र प्रतिवाद गर्ने अनेक तरिका वा माध्यम हुन सक्थे । तर प्रतिवाद गर्न सक्ने र मिल्ने राजनीतिक संस्कृतिको प्रयोगभन्दा मिडिया र सोसियल मिडियामार्फत उहाँको बस्त्र उतार्ने काम भइरहेको छ । लेखन, बोली-बचन, गीत, कार्टुन, फेसबुक, ट्वीटर, युटुब, अखबार जताततै मानिसहरूले उहाँको बस्त्र उतार्दै गर्दा हामी चुपचाप हेरिरहेका छौँ जसरी महाभारतमा भीष्म पितामहदेखि गुरु कृपाचार्य, द्रोणाचार्यहरूले हेरेका थिए । त्यतिबेला ती महात्माहरूले द्रौपदीको बस्त्र उतारेको दृष्य सिधा आँखाले हेर्न सकेका थिएनन्, अहिले हामी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बनाइएका अश्लील गीत र कार्टुनहरू बडो मनोरञ्जन लिएर ‘क्या गज्जब !’ भन्दै हेरिरहेका छौँ ।

यस्तो टिप्पणी गरिरहँदा ‘राष्ट्रपतिले विषयलाई थप गम्भीर नबनाउनका लागि हाँसेर टारिदिन खोज्नुभएको थियो कि ?’ भनेर अनुमान गरी सोहीअनुरुपको टिप्पणी कसैले गरेको पाइएको छैन । कहिलेकाहीँ देखिएका सबै कुरा सत्य हुँदैनन् ।

यही २०७८ साल वैशाख ३१ गते राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ गराउँदै गर्दा जब प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्नुभो, उक्त समारोहलाई टेलिभिजनमा हेर्नेहरू आश्चर्यचकित भए । प्रधानमन्त्रीले औपचारिक समारोहमा त्यसरी ‘त्यो पर्दैन’ भन्नुहोला भन्ने राष्ट्रपतिले सोच्नुभएको थिएन भनेर बुझ्नु स्वभाविक हो । वास्तवमा राष्ट्रपतिका लागि त्यो धेरै नै असहज परिस्थिति हो । ‘त्यो ठाउँमा म भएको भए के गर्थें होला ?’ हामीमध्ये कतिले त्यस्तो परिस्थितिको कल्पना पनि गऱ्यौँ होला । त्यो अवस्थामा राष्ट्रपतिसँग केही विकल्प थिए, उहाँले ‘आइ रिपिट…’ या ‘म फेरि दोहोऱ्याउँछु’ भनेर त्यो लाइन दोहोऱ्याउन सक्नुहुन्थ्यो । किनभने अरु बेला सरकारका कार्यकारी प्रधानमन्त्रीले र मन्त्रिपरिषद्ले गरेका निर्णयहरू बदर गर्ने अधिकार राष्ट्रपतिलाई नभए पनि उक्त समारोहको सर्वेसर्वा उहाँ नै हुनुहुन्थ्यो । राष्ट्रपतिले बोलेका शब्द हुबहु बोलेर शपथ खानु प्रधानमन्त्रीको कर्तब्य थियो । या त राष्ट्रपतिले ‘त्यो पर्दैन’ भन्ने शब्द सुनेको नसुन्यै गरी शपथ अगाडि बढाउन सक्नुहुन्थ्यो । तर, उहाँ हाँस्नुभयो, जुन हाँसोलाई ‘त्यो पर्दैन’ भन्दा बढी विवादमा ल्याइयो । उहाँहरूबीचको निकटताका कारण हाँसो स्वस्फुर्त रूपमा आएको र उहाँहरू दुई जनाले त्यति ठुलो औपचारिक समारोहलाई ब्यक्तिगत झैँ बनाएको भनी ब्यापक टिप्पणी भयो, भइरहेको छ । यस्तो टिप्पणी गरिरहँदा ‘राष्ट्रपतिले विषयलाई थप गम्भीर नबनाउनका लागि हाँसेर टारिदिन खोज्नुभएको थियो कि ?’ भनेर अनुमान गरी सोहीअनुरुपको टिप्पणी कसैले गरेको पाइएको छैन । कहिलेकाहीँ देखिएका सबै कुरा सत्य हुँदैनन् ।

जहाँसम्म शपथको कुरा छ, शपथ ग्रहणमा यसपटक प्रधानमन्त्री कपी शर्मा ओलीले ‘इश्वरको नाममा’ भन्न हिच्किचाउनु होला भन्ने सोचिएको थिएन । ठोरीका रामदेखि पशुपतिनाथको दर्शनसम्मले प्रधानमन्त्रीलाई इश्वरप्रति आस्था रहेछ भन्ने सर्वसाधारणलाई लागेको थियो । राष्ट्रप्रमुख र सरकारप्रमुखको शपथमा विश्वका अधिकांश मुलुकमा इश्वर शब्द उच्चारण गरिन्छ । राजसंस्था भएका मुलुकहरूमा प्रायः ‘राजा या राजसंस्था, संविधान र इश्वरप्रति’ भनिएको हुन्छ । विकसित या अविकसित मुलुक जे-जस्तो भए पनि शपथको अन्त्यमा धेरैले ‘हेल्प मि गड’ अर्थात् ‘मलाई सहयोग गर्नुुस् भगवान्’ भनी उल्लेख गरेका हुन्छन् । छिमेकी मुलुक भारतमा पनि इश्वरका नाममै शपथ खाइन्छ । इश्लामिक मुलुकहरूले कुरानलाई साक्षी राखेर या ‘आइ स्वेर बाइ अल्लाह’ भन्ने उल्लेख गरेका हुन्छन् ।

त्यतिबेला ती महात्माहरूले द्रौपदीको बस्त्र उतारेको दृष्य सिधा आँखाले हेर्न सकेका थिएनन्, अहिले हामी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बनाइएका अश्लील गीत र कार्टुनहरू बडो मनोरञ्जन लिएर ‘क्या गज्जब !’ भन्दै हेरिरहेका छौँ ।

राज्यका उत्तरदायी ओहदामा बस्नेहरूलाई शपथ खुवाउने चलन अमेरिकाले बसाएको हो । गृहयुद्धपछिको अमेरिकामा तात्कालिन राष्ट्रपति अब्राहम लिंकनले सङ्घीय राज्यहरूलाई एकताबद्ध गर्नका लागि पदाधिकारीहरूलाई एकै खालको शपथ खुवाउने अवधारणा ल्याएका थिए । पछि बिस्तारै–बिस्तारै शपथको चलन विश्वब्यापी हुँदै गयो । अन्य मुलुकमा जस्तै नेपालमा पनि समारोहकै आयोजना गरेर शपथ ग्रहण गरिन्छ तर राष्ट्रका महत्वपूर्ण पदमा बस्नेहरूका शपथ ग्रहणहरू बेला-बेलामा विवादास्पद हुने गरेका छन् । कोही राष्ट्रिय पोशाक नलाएर विवादमा आए, कोही ईश्वरको नाम नभनेर । यस पटकको विवाद फरक कुरामा आयो, शपथ खुवाउन बोलिएको शब्द ‘त्यो पर्दैन’ भनेर । प्रधानमन्त्रीले यसो भन्दा राष्ट्रपतिलाई निर्देशन गरेझैँ देखिन्थ्यो । निर्देशन र अपमान फरक कुरा हुन् । हाँस्नु राष्ट्रपतिको गल्ती थियो, जुनसुकै अर्थमा भए पनि औपचारिक समारोहमा नहाँसेको भए हुन्थ्यो । तर त्यसपछिको बहस प्रधानमन्त्रीले राष्ट्रपतिलाई निर्देशन दिन मिल्छ कि मिल्दैन ? भन्ने हुनुपर्नेमा शपथ सकिन नपाउँदैदेखि अहिलेसम्मका टिका-टिप्पणी हेर्दा प्रधानमन्त्री भन्दा बढी राष्ट्रपति दोषी झैँ गरी हाँसोलाई मुख्य केन्द्रबिन्दु बनाइएको छ । टिप्पणीहरू निकै नै अस्वस्थ र अमर्यादित छन् ।

हामी कल्पना गरौँ, शपथ ग्रहण समारोहमा त्यही दृष्य र संवाद नेता झलनाथ खनाल र केपी शर्मा ओली या माधवकुमार नेपाल या प्रचण्डबीच भएको भए के हुन्थ्यो होला ? पुरुष-पुरुष नेताहरूबीच त्यस्तो भएको भए हँसिमजाकमै त्यो कुरा सकिन्थ्यो । या, कतिपयले बढीमा कम्युनिष्टहरूले शपथ ग्रहण जस्तो गरिमामय समारोहलाई मजाक बनाए भनी टिप्पणी गर्ने थिए । अहिलेजस्तो ब्यक्तिगत आक्षेप लगाएर कार्टुन र गीतहरू बन्ने थिएनन् ।

शपथपछि सोचेभन्दा फरक तरिकाले मुलुकको राजनीतिक दृष्य अघि बढिरहेको छ । यसैबीच केही अध्यायदेशहरू आए । सत्ताको भागबण्डाका लागि राजनीतिक जोड-घटाउ चल्यो, चलिरहेको छ । राजनीतिक चलखेललाई थाँती राखेर सबै मिलेर कोरोनाले निम्त्याएको विपदलाई ब्यवस्थापन गर्न लाग्नुपर्नेमा आँखा बिझाउने दृष्यहरू टेलिभिजनमा हेर्न जनता बाध्य छन् । प्रत्येक दिन सयौँको सङ्ख्यामा मानिसहरू मरिरहेका छन् । घर-घरमा युवाहरूको सङ्ख्या सकिएला जस्तो अवस्था भइसक्यो । कोरोनाले धेरैजसो युवाहरूको मृत्यु भएकाले बाबुआमाहरू आफ्नो सन्तानको वियोगमा छटपटाइरहेका छन् । अस्पताल त खाली छैनन् नै, आर्यघाटको पाखामा चिता बनाएर आफन्तलाई जलाउन पालो पर्खिनु पर्छ । विदेशमा रहेका सन्तान बाबुआमाको मृत्युमा काजक्रिया गर्न घर फर्कन पाएका छैनन् । बिदेशमा कोरोनाको समस्या नभए पनि देशकै स्वार्थी निर्णयकर्ताहरूका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । पैसा खर्च गर्न सक्नेहरू चार्टर फ्लाइटमा यात्रा गरिरहेका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमाकी नायिका सुम्निमा निर्बस्त्र थिई तर उ नाङ्गै भएर पनि आफ्नो स्वभावका कारण छोपिएकी थिई, उसको नाङ्गोपन नाङ्गो लाग्दैनथ्यो । हाम्रा नेता र निर्णयकर्ताहरू राम्रा, महँगा लुगा लगाए पनि आफ्नो ब्यवहारले निर्वस्त्र छन् ।

बेथिति एउटा क्षेत्रमा मात्र नभइ अस्पताल, औषधि, खोप केमा छैन ? बिरामी ओसार्ने हेलिकोप्टरको भाडा अचाक्ली छ । भोक लाग्यो भनेर सडकमा आउन पो मिलेको छैन भोकै पर्नेहरूको संख्या बढिरहेको छ । यो महामारीमा के गरेर बाँचेका होलान् उनीहरू ? कसैले सोधेको छैन, सोचेको छैन । यस्तो बेलामा राजनीतिक जोडघटाउ र चलखेलमा संलग्न हुने सबै नेताहरू सर्वसाधारणको दृष्टिमा सामान्य मान्छे होइनन् । सामान्य मानिसमा संवेदना हुन्छ । विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमाकी नायिका सुम्निमा निर्बस्त्र थिई तर उ नाङ्गै भएर पनि आफ्नो स्वभावका कारण छोपिएकी थिई, उसको नाङ्गोपन नाङ्गो लाग्दैनथ्यो । हाम्रा नेता र निर्णयकर्ताहरू राम्रा, महँगा लुगा लगाए पनि आफ्नो ब्यवहारले निर्वस्त्र छन् । अहिले राजनीतिमा हस्तक्षेप गरेको आरोप राष्ट्रपतिमाथि लगाइएको छ । यस्ता बेथितिहरूमा पनि राष्ट्रपतिले हस्तक्षेप गर्नुभएको भए जनताले सामान्य मान्ने थिए । विपदका बेला जनतालाई सहज परिस्थिति बनाउनु राष्ट्रप्रमुखको कर्तब्य हो । राष्ट्रपतिले अहिले पनि यस्ता कुरामा हस्तक्षेप गर्नुभयो भने कसैले ‘किन गरेको ?’ भन्नेवाला छैन ।

राष्ट्रपतिलाई अहिले ‘रबरस्ट्याम्प’ र ‘प्रधानमन्त्रीको खल्तीको’ भनि खिसिटिउरी गर्ने गरिएको छ । हाम्रा दृष्टिकोणहरू लैंगिक पूर्वाग्रही छन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई नभएर राष्ट्रपतिबाट प्रधानमन्त्री पो प्रयोग भइरहनु भएको छ कि ? राष्ट्रपति आफैले ‘पावर एक्सरसाइज’ गरिरहनु भएको छ कि ? कसैले त्यस्तो सोच्दैन । किनभने, पुरुषले महिलालाई प्रयोग गर्छ भन्ने कुराले हाम्रो मष्तिष्कमा जरो गाडेको छ । यदि विद्यादेवी भण्डारी प्रधानमन्त्री र केपी शर्मा ओली राष्ट्रपति हुनुभएको अवस्थामा अहिलेको जस्तो राजनीतिक परिस्थिति बनेको भए निश्चय नै प्रधानमन्त्रीलाई राष्ट्रपतिले खल्तीको झैँ बनाए भनी टिप्पणी गरिने थियो । हाम्रो समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र मापदण्डहरू फरक छन्, चाहे त्यो घर-परिवारमा होस् या राज्यसत्तामा । अहिले कमेडीका रूपमा बनाइएका केही गीत र मनोरञ्जनका लागि बनाइएका केही कार्टुनहरू अमर्यादित मात्र होइन आपत्तिजनक छन् । राष्ट्रप्रमुखलाई मात्र होइन कसैलाई पनि त्यस्तो भाषा प्रयोग गर्न पाइँदैन । साथै केही वरिष्ठ ब्यक्तित्वहरूले टेलिभिजन अन्तवार्तामा प्रयोग गर्नुभएका शब्दहरू ‘मिडियामा यस्तो पनि बोल्न पाइन्छ ?’ भनी आश्चर्य मान्नुपर्ने खालका छन् । पूर्वाग्रही मानसिकताले स्वतन्त्र बिचार दिन सक्दैन । राष्ट्रपतिले गरेको काम राजनीतिक थियो, हो । तर, हामीले टिप्पणीचाहिँ ब्यक्तिगत गऱ्यौँ, गरिरहेका छौँ । सभ्य मानिसबाट ब्यक्तिगत टिप्पणीको अपेक्षा गरिँदैन । राजनीतिक मुद्दामा कटाक्ष र टिप्पणी पनि राजनीतिक नै गरौँ ।