माओवादीले फेरि सुरु गर्ने भो-सत्ता नपाए स्वाधीनताको सङ्घर्ष !

माओवादीले फेरि सुरु गर्ने भो-सत्ता नपाए स्वाधीनताको सङ्घर्ष !


नेपालमा जनवादी क्रान्ति सम्पन्न हुन छिमेकी मित्रराष्ट्र भारत नै मुख्य बाधक रहेको निष्कर्षसहित नेकपा माओवादी केन्द्रीय समितिको बैठक सकिएको छ । जेठ ७ गते शुक्रबार सुरु भएको बैठकमा माओवादी अध्यक्ष प्रचण्डको व्यापक आलोचना भएको थियो भने माओवादी पार्टीकै इतिहासमा सम्भवत: पहिलोपटक वरिष्ठ नेता डा. बाबुराम भट्टराई बैठकमा हाबी हुनुभयो । संविधानसभाको कार्यकाल थप गर्ने या नगर्ने सवालमा भएको बहसमा भट्टराईको मत पारित भएपछि उहाँ हाबी हुनुभएको महसुस गरिएको हो । मोहनवैद्य (किरण) र अध्यक्ष प्रचण्ड संविधानसभाको म्याद थप गर्दै नगर्ने पक्षमा हुनुहुन्थ्यो भने भट्टराईले ससर्त म्याद थपको पक्षमा पैरवी गर्नुभएको थियो । अन्तत: भट्टराईको मत नै माओवादी पार्टीको निर्णय हुन पुगेको छ । माओवादीले राष्ट्रिय सहमतिको सरकार तथा बहुमतीय प्रणालीको सट्टा सहमतीय प्रणाली -संविधान) हुनुपर्ने कुरालाई मुख्य सर्तका रूपमा अघि सारेको छ । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रतिबद्धता मात्र आए पनि माओवादी म्याद थप गर्न राजी हुने हो या माधवकुमार नेपालले राजीनामा नै दिनुपर्ने भन्ने विषयमा माओवादी आफैं अन्योलमा रहेको छ । तर, कालान्तरमा सबै सर्तहरू छोडेर निसर्त म्याद थप गर्न माओवादी तयार हुने अनुमान केही राजनीतिक विश्लेषकहरूले गरेका छन् । माओवादी बैठकले प्रधान अन्तरविरोध अर्थात् दुश्मन शक्तिको बारेमा पनि गम्भीर छलफल गरी निष्कर्ष निकालेको छ । प्राप्त जानकारीअनुसार बैठकमा पार्टी -अर्थात् क्रान्ति) को प्रमुख अन्तरविरोध भारतसँग रहेको र यसलाई घोषित रूपमै स्वीकार गर्नुपर्ने मत केहीले प्रकट गरेका थिए भने केहीले चाहिँ भारत, काङ्ग्रेस तथा काङ्ग्रेस निकटका सबैखाले तत्त्वहरूसँगको अन्तरविरोध नै प्रधान हो भन्ने विचार प्रकट गरेका थिए । अन्त्यमा ‘भारतीय विस्तारवाद संरक्षित दलाल नोकरशाही, पुँजीपति वर्ग र सामन्तहरूसँगको अन्तरविरोध नै नेपाली जनताको प्रमुख अन्तरविरोध हो’ भन्ने व्यहोराको निर्णय माओवादीले गरेको छ । स्मरणीय छ, माओवादीले प्रधान अन्तरविरोध कोसँग भन्ने कुराको निर्धारण गर्नु भनेको सम्बन्धित पक्षलाई मुख्य दुश्मन निर्धारण गर्नु हो । यसरी मित्रराष्ट्र भारतलाई मुख्य शत्रु निर्धारण गर्दै माओवादीले ‘नेतृत्वविहीन रहेका’ दक्षिणपन्थीहरू -राजावादी), काङ्ग्रेस, एमालेलगायत अन्य दलहरूभित्र र बाहिर रहेका देशभक्त, गणतन्त्रवादी, सङ्घीयताका पक्षधर तथा वामपन्थीहरूलाई समेटेर एउटा बेग्लै मोर्चा खडा गर्ने निर्णय पनि गरेको बुझिएको छ । तर, त्यस्तो मोर्चाको नाम भने निर्धारण भइनसकेको बताइन्छ । माओवादी नेतृत्वमा ‘सहमति’को सरकार गठन गर्न हदैसम्मको पहल गर्ने र कदाचित यस्तो प्रयास फेरि पनि असफल नै भयो भने माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाउने भएको छ । त्यसनिम्ति सबैखाले ‘देशभक्त’हरूलाई समेटेर मोर्चा बनाउनुपर्ने निष्कर्षमा उक्त पार्टी पुगेको हो । बैठकले मेघालयमा नेपालीभाषीहरूमाथि भएको आक्रमणको घटना, भरतपुर क्यान्सर हस्पिटलका डा. भक्तमान श्रेष्ठ अपहरण काण्ड र महँगी तथा दैनिक जनजीविकासँग सम्बन्धित प्रस्तावहरू पनि पारित गरेको छ । बैठकमा प्रचण्डको कार्यशैली र व्यवहारको कडा आलोचना भएको छ । आन्दोलनको घोषणा गर्दा निर्णायक भन्दै बिनातयारी अनिश्चितकालीन आमहड्ताल भन्नु तथा आन्दोलन फिर्ता लिइँदा त्यसबाट पर्नसक्ने असरबारे विशेष ध्यान पुर्‍याएर मात्र गरिनुपथ्र्यो भनी प्रचण्डको आलोचना भएको र उहाँले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गर्नुभएको बुझिएको छ । यसरी प्रचण्डले आत्मालोचना गर्नुभएपछि गल्तीका लागि उहाँलाई थप कारबाही गरिने छैन, जब कि बैठक सुरु हुनुअघि प्रचण्डलाई कुनै कारबाही नै हुने हो कि भन्ने अनुमान गरिएको थियो । तर, प्रचण्डमाथि कारबाही नभए पनि बैठकमा उहाँको स्थिति रक्षात्मक रहेको थियो ।

डेलिसी-पौडेल भेट
नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र अमेरिकी राजदूत स्कट एच. डेलिसीबीच हिजो मंगलबार भेटवार्ता भएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा भएको भेटघाटका क्रममा नेपालको वर्तमान राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको बुझिएको छ ।
भेटका अवसरमा राजदूत डेलिसीले नेपालको राजनीतिक घटनाक्रम, प्रजातन्त्रका मूलभूत मान्यता र दिगो शान्ति स्थापनाका बारेमा चासो र चिन्ता व्यक्त गर्नुभएको नेका उपसभापति पौडेलले जनाउनुभयो ।
राजदूत डेलिसीले शान्ति र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाएर राजनीतिक दलहरू वर्तमान समस्याको समाधानका लागि सहमतिमा पुगून् भन्ने अमेरिकाको चाहना रहेको स्पष्ट पार्नुभएको थियो । त्यसका लागि वातावरण बनाउने काम नेपाली जनता तथा यहाँका राजनीतिक दलहरूको रहेको र त्यसलाई आवश्यक सहयोग गर्न अमेरिका सधैं तत्पर रहेको विश्वास पनि उहाँले भेटका अवसरमा दिलाउनुभयो । काङ्ग्रेस नेता रामचन्द्र पौडेलले चाहिँ राजनीतिक दलहरू संविधान सभाको समयावधि विस्तार गर्न, माओवादी लडाकुको व्यवस्थ्ाापन एवम् वाईसीएलको रूपान्तरण, कब्जा सम्पत्ति फिर्तालगायतका राजनीतिक समस्याको प्याकेजमा सहमति जुटाएर निकास खोज्न लागिपरेको राजदूत डेलिसीलाई बताउनुभएको थियो ।

चिनियाँसँग नेपाली हैरान †
नेपालीहरू परिश्रम र धनलाई भन्दा आरामी र गरिबीलाई नै महत्त्व दिन्छन् भन्ने कुराको दृष्टान्त रसुवामा देखिएको छ । मासु, भात र खाजासहित प्रतिदिन चार सय रुपैयाँ ज्याला लिने कि सुख्खा दुई सय ज्यालामा चित्त बुझाउने भन्ने रोजाइमा नेपालीहरूको छनोटमा सुख्खा दुई सय परेको छ । उनीहरूले सरासर काम गरेर दिनको ४ सय लिनुभन्दा थकाइ मार्दै काम गरेर दुई सय रुपैयाँ लिनु उपयुक्त ठाने । प्रसङ्ग रसुवागढी-स्याफ्रुबेसी सडक निर्माण र स्याफ्रुबेसीदेखि त्रिशूली जोड्ने सडकको हो । मित्रराष्ट्र चीनको सहयोगमा निर्माण भइरहेको रसुवागढी-स्याफ्रुबेसी सडकमा अहिले भीर-पहरा फुटाउनेदेखि बाटो सम्याउनेसम्म कतै पनि नेपाली कामदार देखिँदैनन् । यता, सँगै जोडिएको स्याफ्रुबेसी-त्रिशूली सडकमा भने तराई, पहाड, हिमाल सबैतिरका नेपाली मजदुरी गरिरहेका छन् । फरक कति छ भने नेपालीले निर्माण गरिरहेको सकडमा काम गर्ने मजदुरहरूले दिनको सुख्खा दुई सय रुपैयाँ पाउँछन् उता, सोही सडकमा उस्तै काम गर्ने चिनियाँ मजदुरले भने बिहान मासु भात र दिउँसो खाजासहित दिनको चार सय रुपैयाँ पाउँछन् ।
बाटो उही हो, भूमि आफ्नै हो, धूलोमैलो भीर-पहरा सबै उस्तै हुन्, चिनियाँ सरकारले खाना खाएर चार सय दिने तर यता नेपाली ठेकेदारले भने दुई सय सुख्खा दिएपछि केही नेपाली कामदारहरूलाई आफू पनि उतै काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा जागेछ । सम्बद्ध व्यक्तिहरूका अनुसार, केही नेपाली मजदुरहरूले चिनियाँ ठेकेदारसित आफूहरूलाई काममा राखिदिन आग्रह गरे । चिनियाँ ठेकेदारले नेपाली मजदुरको प्रस्तावलाई स्वीकार गर्दै भने, ‘ठीक छ, हामी तपाईंहरूलाई काममा राख्छौँ, चिनियाँ मजदुरले पाएजति सबै सुविधा दिन्छौँ -बिहान मासु भात, दिउँसो खाजा र दिनको चार सय रुपैयाँ) तर काम तपाईंहरूले चिनियाँहरूसँगसँगै गर्नुपर्छ । छुट्याइएको समयबाहेक बीचबीचमा थकाइ मार्ने, बिँडी खानेजस्ता कामहरू गर्न पाइँदैन ।’ चिनियाँ प्रस्ताव स्वीकार्दै करिब दुई दर्जन नेपाली मजदुर काममा लागे । पहिलो दिन जसोतसो काम गरे, दोस्रो दिन असाध्यै गाह्रो गरेर काम गरे, तेस्रो दिनदेखि भने काममै गएनन् । ती मजदुरहरू पुन: फरि्कएर नेपाली ठेकेदारसँगै काम गर्न थाले । त्यसरी फरि्कने मजदुरहरूको भनाइ छ, ‘ओहो † चिनियाँसँग त काम गर्न सकिँदैन, काम गरेकोगर्‍यै, एकछिन बस्दैनन् । उनीहरू नबसी आफू बस्न पाइँदैन, हामीले पाँच दिनमा गर्ने काम त उनीहरू एकै दिनमा गर्ने रहेछन् ।’ यसरी नेपालीहरूलाई कामभन्दा थकाइ प्यारो भएका कारण दिनको चार सय कमाउनबाट वञ्चित भएर दुई सयमा काम गरिरहेका छन् । सडकको बनावट पनि चीनले बनाइदिएको पट्टि नेपालीले बनाएको भन्दा कैयौं गुणा मजबुत देखिन्छ । यद्यपि अहिले कच्ची सडक बन्दै छ, पिच भइसकेपछि रसुवागढी ठूलो व्यापारिक नाका बन्ने निश्चित छ ।

शान्तिका निम्ति ओलीले बत्ती बाल्ने
संविधानसभाको पूर्वनिर्धारित कार्यकाल सकिनुभन्दा ठीक एक दिनअघि देशमा शान्तिको कामना गर्दै माइतीघर मण्डलामा हजारौँ दीप प्रज्वलन गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनको आयोजनामा जेठ १३ गते साँझ साढे ६ बजे गरिने उक्त दीप प्रज्वलन कार्यक्रमको प्रमुख आतिथ्य लोकप्रिय नेता एवम् फाउण्डेसनका संरक्षक केपी ओलीले गर्नुहुनेछ । शान्ति र संविधान निर्माणको कामना गर्दै गरिने उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागिताका लागि फाउण्डेसन उपत्यकाका अध्यक्ष एवम् एमाले नेता कृष्णगोपाल श्रेष्ठले समस्त शान्तिकामी जनसमुदायलाई आह्वान गर्नुभएको छ ।

कमाण्डर बोल्दा प्रचण्ड मलिन
माओवादी केन्द्रीय समितिको बैठकमा माओवादी सेनाका कमाण्डरहरूको एउटै मत देखिएपछि अध्यक्ष प्रचण्ड गम्भीर भए । कमाण्डरहरू अनन्त, प्रभाकर, बलदेव र पासाङ चारैजनाले एक स्वरमा प्रचण्डलाई भने, ‘अहिलेको अवस्थामा संविधानसभाको म्याद थप गरेर जानु उचित हुन्छ । ०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै जनवादी क्रान्तिको दिशातर्फ लाग्नुपर्छ, अहिले संविधान निर्माणलाई प्राथमिकता दिइनु उचित हुन्छ र त्यसनिम्ति संविधानसभाको कार्यकाल थप गरिनुपर्छ ।’ यसरी चार कमाण्डरहरूको एकै आवाज भएपछि त्यसको प्रतिवाद गर्न प्रचण्डले खोज्नुभएन, तर उहाँको मुहार भने अलिक मलिन भएको महसुस बैठकका अन्य सहभागीले गरेका थिए । कमाण्डरहरूद्वारा प्रस्तुत विचार पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको विचारसँग ठ्याम्मै मेल खाएका कारण प्रचण्ड त्यसरी असन्तुष्ट बन्नुभएको बताइएको छ । ज्ञातव्य छ, माओवादी पार्टीका चारजना कमाण्डरहरूमा चारैजना डा. बाबुराम भट्टराईसँग निकट मानिन्छन् । उल्लिखित चारमध्ये चारैजनालाई आफ्नो पक्षमा ल्याउन प्रचण्डले गर्नुभएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।

लार्भा पुतलीमा परिणत नभए त्यत्तिकै सकिन्छ : ओली
नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादी पार्टी हिंसाको आडमा सत्ता कब्जा गर्ने रणनीतिबाट चलिरहेको दाबी गर्नुभएको छ । सत्तामा पुग्न वैधानिक र लोकतान्त्रिक पद्धतिको बाटो हुँदाहुँदै एकैचोटि ‘छतबाट हामफाल्ने’ आत्मघाती कदममा माओवादी लागेको बताउँदै यदि सत्ता नै चाहिएको हो भने सर्वप्रथम नि:सर्त यही सरकारमा सामेल हुनुपर्ने सुझाव उहाँले दिनुभएको छ ।
घटना र विचारसँगको कुराकानीमा ओलीले भन्नुभयो, ‘नागरिक पार्टी बन्न पटक्कै नचाहने पार्टीले संविधानसभामा एकतिहाइभन्दा बढी सिट ओगटेको छ । संविधान जारी गर्न दुईतिहाइ चाहिन्छ, तर गलत नीति र सत्ता कब्जाको दुउद्देश्य राख्ने माओवादीको संविधान लेख्ने सोचै छैन । क्रियाकलाप त्यस्तो र सबैभन्दा बढी सिट उसैको भएपछि कसरी बन्छ संविधान -‘ माओवादीले त पहिले प्रधानमन्त्रीको राजीनामा मागेका छन् नि भन्ने सवालमा प्रभावशाली नेता ओलीले ‘माओवादीको मुख्य नारा नै राष्ट्रिय सहमतिको सरकारलाई छलछाम भनी मैले भन्ने गरेको त्यही भएर हो, चाहिएको माधव नेपालको राजीनामा, भन्नेचाहिँ राष्ट्रिय सहमतिको सरकार – चाहियो आफूलाई प्रधानमन्त्री, भन्ने राष्ट्रिय सहमति – त्यो मिल्दैन’ भन्ने जवाफ दिनुभयो । माओवादी लडाकुको व्यवस्थापनबारेको अर्को जिज्ञासामा उहाँको कथन थियो, ‘कहाँ छन् माओवादी लडाकु – सरकारको रासनपानी खाने पनि माओवादी लडाकु हुन्छन् – क्यान्टोनमेन्टमा बसेका त पूर्वमाओवादी लडाकु हुन् । अहिलेसम्म त सरकार लचिलो भएको मात्र हो । अब सरकारले कन्ट्रोल गर्छ । शिविर भनेको माओवादी तालिमखाना होइन । शिविर भनेको मध्यवर्ती क्षेत्र हो । लडाकु त सरकारलाई हस्तान्तरण भइसके ।’ यतिबेला चर्चामा रहेको संविधानसभाको म्याद थपसम्बन्धी चर्चा र जेठ १४ पछि के होला भन्ने आशङ्काबारेको जिज्ञासा मेटाउँदै ओलीले भन्नुभयो, ‘अनेक हल्लाखल्ला भएका मात्र हुन्, जेठ १४ पछि केही हुँदैन, नेपालले लोकतान्त्रिक दिशा पक्रन्छ । अर्को कुरा, लोकतन्त्र भनेको संविधानसभाको म्याद थप्नु होइन, बेलायतमा संविधानसभाको म्याद थपेर लोकतन्त्र रहेको हो र -‘
‘म्याद थप्न सहमति नबने तपाईं प्रधानमन्त्री बन्नुहुन्छ पनि भनिन्छ नि -‘ भन्ने सवालमा ‘आफ्ना शुभचिन्तकले भने होलान्’ भन्दै नेता ओलीले ‘प्रधानमन्त्री हुनलाई मैले यसो मान्छे मिलाउने, झुटमुठ नारा दिने, नभन्नुपर्नेलाई भन्ने, मिलाउने केही गरेको छु र – बहुमत मेरो पुग्दैन, सहमति बनाएर फेरि नौमहिने कर्ुर्सर्ीी पुर्‍याइेदेओ मेरो दिल बसेको छ भन्ने मान्छे म होइन’ भनी तर्कनुभयो । माओवादी रूपान्तरण नभए उसको भविष्य के होला भनी प्रश्न गर्दा उहाँको सटिक जवाफ दिनुभयो, ‘लार्भा या त पुतलीमा परिणत हुन्छ होइन भने लार्भा-जुनीमै त्यो समाप्त हुन्छ ।’

तामाङ हत्यामा माओवादी दु:खी
नेपाल र भारतका केही पत्रपत्रिकामा ‘अखिल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्यामा नेपालका माओवादीको हात’ भनी प्रकाशित समाचारप्रति माओवादी पार्टीले आपत्ति जनाएको छ । प्रकाशित समाचारहरूमा उक्त हत्या-प्रकरणमा आरोपको घेराभित्र परेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पश्चिमबङ्गालको वाम फ्रन्ट सरकारले नेपालका माओवादी लगाएर तामाङको हत्या गरेको आरोप लगाएको उल्लेख गरिएको छ ।
समाचारप्रति आपत्ति र दु:ख प्रकट गर्दै भाषिक पहिचान र जातीय उत्पीडनका विरुद्ध न्यायपूर्ण आन्दोलनको नेतृत्व गर्दै आएका मदन तामाङको हत्याले माओवादीलाई दु:ख लागेको उल्लेख गरिएको छ भने माओवादी प्रवक्ता दीनानाथ शर्माले जारी गरेको विज्ञप्तिमा नेपालीभाषी भारतीय जनताको जीवनको रक्षा हुनुपर्छ भन्ने कुरामा माओवादी पार्टी जोड दिन चाहन्छ भन्ने उल्लेख गरिएको छ ।

फिस्टेलले भित्र्यायो एअर एम्बुलेन्स
नेपालमा बाढी, पहिरो, भीर र पर्वतारोहणका क्रममा अलपत्र परेकाहरूले अब अकालमा ज्यान गुमाउन नपर्ने भएको छ । नेपालका उच्च मनोरम हिमशृङ्खलाहरूको दृश्यावलोकन, उच्च हिमाली र पहाडी क्षेत्रहरूमा आवागमनमा सेवा पुर्‍याउँदै आएको फिस्टेल एअरले एम्बुलेन्स सेवासहितको उच्चस्तरीय उद्धार प्रणाली भित्र्याएको छ । स्वीजरल्याण्डको एअर जर्म्याट नामक प्रख्यात हेलिकोप्टर कम्पनीसँगको प्राविधिक सहयोगमा फिस्टेलले यो सेवा नेपाल भित्र्याएको हो । औषधि र आधुनिक संयन्त्रले सुसज्जित एअर एम्बुलेन्स सेवाका उपकरणहरू क्षणभरमै जोड्न र खोल्न मिल्ने खालको हुने फिस्टेलले जनाएको छ । फिस्टेल एअर र एअर जर्म्याटका विमानचालक र उद्धारविज्ञहरूले नेपालका केही उच्च हिमालहरूमा दर्ुलभ हवाई उद्धारकार्य सम्पन्न गरिसकेका छन् ।

सशस्त्र समूहका सदस्य पक्राउ
सप्तरीमा अपहरण, लुटपाट, फिरौतीलगायतका आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले चलाएको र्सच अपरेसनमा एकपछि अर्को सफलता मिलेको बताइएको छ । यसै क्रममा गत सोमबार मध्यरात प्रहरीले भूमिगत सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका एक कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वनौली गाविस ४ बस्ने २२ वर्षीय रामप्रकाश यादव छन् ।
उनीबाट ७.६५ नम्बरको यूएसए निर्मित ओटोमेटिक पेस्तोल, गोली १२ राउण्ड र म्यागजिन २ थान, भारतीय नम्बरको सिमकार्ड २ थान र नेपाली नम्बरको सिमकार्ड १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । हिजो मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकारसमक्ष उनलाई सार्वजनिक गर्दै प्रहरी निरीक्षक भुवनेश्वर साहले भारतको कुनौली नाका हँुदै हतियार भित्र्याएका उनलाई गोप्य सूचनाको आधारमा जिल्लाको पकरी गाविस क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

४१ गाविसका जनतालाई राहत
नेपाल-भारत सीमामा पर्ने रौतहटको गौर र भारतको बैरगनिया जोड्ने गरी बागमती नदीमाथि निर्माण भएको पुलको गत साता प्रधानमन्त्री माधव नेपालले उद्घाटन गर्नुभयो । नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत भारत सरकारको दुई करोड ७१ लाख अनुदान सहयोगमा निर्मित सो पुलले उक्त क्षेत्रका ४१ गाविसका तीन लाख नागरिकका निम्ति सुविधा प्रदान गर्ने भएको छ । नेपाली जनताका निम्ति मात्र नभई सीमाक्षेत्रका भारतीयका लागि पनि यसबाट राहत पुग्ने बताइएको छ ।

शक्ति सञ्चयमा माओवादी : डा. महत
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले संविधानसभाको म्याद थप गर्न माओवादीले सहयोग नगरे जेठ १४ पछि देशमा कुनै प्रकारको दुर्घटना भए त्यसको जिम्मेवारी माओवादीले लिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सप्तरीको चौथो जिल्ला अधिवेशनको गत सोमबार राजविराजमा उद्घाटन गर्दै डा. महतले एकीकृत नेकपा माओवादी नागरिक पार्टीमा रूपान्तरित नभएसम्म सहमति कायम हुन नसक्नेमा जोड दिनुभयो । उहाँले संविधान निर्माणमा प्रधानमन्त्री र सरकार बाधक नभएकोले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र संविधानसभाको म्याद बढाउँछु भन्नु माओवादीको बल मिच्याइँ हो भन्नुभयो ।
माओवादी शान्तिप्रक्रियाप्रति इमान्दार नभई त्यसको रणनीतिक उपयोग गरेर सत्ता कब्जा गर्न शक्ति सञ्चयमा जुटेको आरोपसमेत उहाँले लगाउनुभयो । माओवादीले आफ्नो लडाकु यथावत् राखी विद्रोहमा जाने तयारी गरिरहेको दाबीसमेत डा. महतले गर्नुभयो । नेपाल प्रेस युनियन सप्तरीका कावा अध्यक्ष ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शम्भु झा, नेपाली काङ्ग्रेस सप्तरीका सभापति रामकुमार चौधरी, सप्तरीका सहअध्यक्ष दिनेशकुमार यादव, नेपाल टे्रड युनियन सप्तरीका अध्यक्ष उमेश साह, नेपाल प्रेस युनियनका पूर्वाञ्चल उपाध्यक्ष शेखर रेग्मी, नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष अवधेश झा, प्रेस चौतारीका अध्यक्ष श्यामसुन्दर यादवलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।- हेमशंकर सिंह

शान्ति मन्त्रालयमा स्वामीको प्रवचन
प्रबन्धन गुरु आचार्य श्री स्वामी ध्रुवले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा जिम्मेवारी र कार्यक्षमता वृद्धिको लागि एकदिवसीय माइन्ड म्यानेजमेन्ट कार्यशाला बेसिक कोर्स सञ्चालन गर्नुभयो । गत साता आयोजित सो कार्यशालामा सहसचिव तोपनारायण शर्मालगायत ६० जना कर्मचारीको सहभागिता रह्यो । सृष्टि साधना केन्द्रको तर्फबाट आयोजित उक्त शिविरमा स्वामी ध्रुवले ध्यान सिकाउँदै सन्तुलित आहार, समझ र मानसिक क्षमता बढाउने एवम् दु:खमुक्तिको मार्ग बुझाउने प्रवचन दिनुभएको थियो ।

जिल्ला परिषद्मा संविधानका कुरा
परासी । समुन्नत र समतामूलक नागरिक समाजको सिर्जना, सन्तुलित र समग्र दिगो विकासको चाहना भन्ने नाराका साथ जिल्ला विकास समिति नवलपरासीको अठारौँ जिल्ला परिषद् सम्पन्न भएको छ । जिल्ला परिषद्ले स्थानीय स्वायत्त ऐन २०५५ को मर्म र भावनाअनुसार गाउँ परिषद्, इलाकास्तरीय बैठक, विषयगत समितिको बैठक एवम् समतामूलक योजनाका आधारमा छनोट भएका विकास लक्ष्यलाई प्राथमिकतामा राखेको छ ।
शिक्षा, स्वास्थ्य सडक, विद्युतीकरण, खानेपानी, सञ्चार, सहरी विकास, महिला विकास, बालकल्याण समिति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकतामा दिइएको जिल्ला परिषद्मा स्थानीय विकास अधिकार वसन्त अधिकारीले कुल तीन अर्ब अठसट्ठी करोड सन्ताउन्न लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको थियो ।
जिल्ला परिषद् उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री रामबच्चन यादवले जनतासँग प्रत्यक्ष सरोकार हुने विकास निर्माणप्रति सबै राजनीतिक दल इमानदार भई विकासप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै तोकिएको मितिमा नयाँ संविधान बन्न नसक्नुमा एकीकृत माओवादीको बखेडा जिम्मेवार रहेको आरोप लगाउनुभयो । नेपाली काङ्ग्रेसका सभापति कृष्णचन्द्र नेपालीले लोकतन्त्रको सन्देशलाई आत्मसात् गर्दै नेपालीको बलिदानीपूर्ण इतिहासलाई कसैले बिर्सन नहुने बताउनुभयो । परिषद्को उद्घाटन समारोहमा एमाले अध्यक्ष तिलक महत, फोरम लोकतान्त्रिकका सुभाष गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनबहादुर प्रधान, पत्रकार कृष्णबहादुरलगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
– आरपी उपाध्याय

उच्च माविमा अयोग्य शिक्षक †
इलामका अधिकांश उच्च माध्यमिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका शिक्षकले अध्यापन गराउने गरेको पाइएको छ । योग्यता नपुगेका शिक्षकलाई नियुक्ति दिई दस जोड दुई कक्षा सञ्चालन गरिरहेका इलामका उमाविलाई सर्वोच्च अदालतले योग्यता पुगेका प्राचार्य राखी अध्यापन गराउन निर्देशन जारी गरे पनि अहिलेसम्म उमाविहरूले अयोग्य शिक्षकलाई हटाउने प्रक्रिया थालेका छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्को नियमअनुसार दस जोड दुई कक्षा सञ्चालन गर्ने उमाविमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातकोत्तर हुनुपर्ने व्यवस्था रहे पनि जिल्लाका अधिकांश उमाविमा स्नातक शिक्षकले नै दस जोड दुईको कक्षामा अध्यापन गरिरहेका छन् । माध्यमिक तहमा अध्यापन गराइरहेका जिल्लाका अधिकांश शिक्षकले स्नातकोत्तर गरेकाको प्रमाणपत्र पेस गरेर अध्यापन गराउँदै आएका छन् । कतिपय उमाविमा प्रधानाध्यापक स्नातकोत्तर हुनुपर्ने प्रावधान राखिए पनि अधिकांश योग्यता पुगेका छैनन् ।
उमावि व्यवस्थापन समितिले योग्यता नपुगेका शिक्षकबाट दस जोड दुईको कक्षा गुणस्तर दिन नसके पनि स्रोतको अभावमा नयाँ शिक्षक राख्ने अवस्थामा नरहेको एक सञ्चालक सदस्यले बताएका छन् । शिक्षक योग्यता पुगे-नपुगेको विषयमा उच्च माध्यमिक शिक्षा परिषद्ले समेत अनुगमन गर्न नसकेको उनले बताए ।
उमावि शिक्षा परिषद्ले इलाममा २४ वटा माध्यमिक विद्यालयलाई दस जोड दुई कक्षा सञ्चालनको अनुमति दिएको छ । परिषद्ले उमाविको कक्षा सञ्चालनका लागि अनुमति दिए पनि त्यसका लागि आवश्यक जनशक्ति दिन नसक्दा योग्यता पुगेका शिक्षकको सङ्ख्या कमी भएको हो । गाउँगाउँमा दस जोड दुईको कक्षा सञ्चालन हुन थालेपछि ग्रामीण क्षेत्रका विद्यार्थीलाई सदरमुकाममा चर्को घरभाडा तिरेर पढ्नुपर्ने बाध्यता त हटेको छ, तर पढाइको गुणस्तर भने आशालाग्दो हुन सकेको छैन ।
– फणीन्द्र संगम

खबटा तस्करीमा चिनियाँ र भारतीय एकसाथ
३० केजी सालकको खबटासहित बाह्रबिसेमा चाइनिज नागरिक याओ फुजु जियाङ र भारतीय नागरिक अमिल जय पक्राउ परेका छन् । उनीहरूका मतियार अन्य दुईजनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको बा.१च ६५०३ नम्बरको कारलाई प्रहरी टोलीले चेकजाँच गर्दा लुकाइ-छिपाइ लैजान लागेको अवस्थामा शनिबार बिहान अभियुक्तहरू पक्राउ परेका थिए । यसैबीच एक १४ वर्षीया बालिकालाई बलात्कार गर्ने मकवानपुरका २६ वर्षीय मदन लामालाई प्रहरीले जोरपाटीबाट पक्राउ गरेको छ । अभियुक्तले गत ७ गते दिउँसो गुरुङ थरकी ती बालिकालाई जबर्जस्ती करणी गरी घाइते तुल्याएका थिए । बालिकाको थापाथली अस्पतालमा उपचार गरिएको बताइएको छ ।

साना-ठूला सबै योगदान सराहनीय
सामुदायिक सेवा तथा विकास समाज केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरको आयोजनामा ग्रामर कलेज कोटेश्वरमा गत शनिबार शान्ति सुरक्षाको अवस्था र सामुदायिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक मदनबहादुर खड्काले सामुदायिक सेवाले जनता र प्रहरीबीच दूरी कम गर्ने उल्लेख गर्दै सामाजिक रूपमा हुने साना या ठूला सबै प्रकारको योगदान सराहनीय हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का, प्रहरी उपरीक्षक रमेश खरेल, ग्रामर कलेजका अध्यक्ष जयराम राई, प्राचार्य राजकुमार राई, नेपाल पत्रकार महासङ्घका महासचिव पोषण के.सी. र नागरिक समाजको तर्फबाट दीपक तिवारी, तुलसी गौतम र सुरेन्द्र पौडेललगायतले वर्तमान अवस्थामा शान्तिसुरक्षा कायम गर्ने सम्बन्धमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सामुदायिक सेवा तथा विकास समाज केन्द्र कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रहरी नायव उपरीक्षक गणेशबहादुर ऐरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फर्पिङमा फुड फेस्टिबल
नेपालको पहिलो जलविद्युत् आयोजनास्थल फर्पिङ पर्यटकीय गन्तव्यमा परिणत भएको छ । जलविद्युत्को सुरुवात भएको अवसर पारेर सो क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन नहुने भएपछि त्यहाँ रहेका सामग्रीहरू सङ्कलन गरी सङ्ग्रहालयको रूपमा विकास गरिएको छ भने सङ्ग्रहालयको प्रचार गर्ने उद्देश्यले त्यहाँ पर्यटकको चहलपहल बढाउन फुड फेस्टिबेल हुने भएको छ । फेस्टिबलमा विभिन्न परिकारसहित सांस्कृतिक कार्यक्रम पनि गर्ने कार्यक्रम तय भएको बुझिएको छ । जलविद्युत्को पोखरी परिसरमा फेस्टिबल हुन लागेको हो ।
अत्यन्त आकर्षक र शान्त सो पोखरीमा एकान्त चाहने युवायुवती जाने गरेका छन् । जलऊर्जा पार्क निर्माणको क्रममा रहेको छ भने पानी उत्पादन गृहमा सङ्कलित पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरिएको छ । सल्लाघारीको गुम्बामा बस्ने भिक्षुभिक्षुणीहरू पनि दैनिक शारीरिक अभ्यासका लागि पोखरी र पावरहाउसको बीचमा रहेको खुड्किलाहरू ओर्लने र चढ्ने गर्दछन् । पर्यटकहरूको सुविधाका लागि त्यहाँ सामान्य स्तरका चमेनागृहहरू सञ्चालनमा छन् । जलऊर्जा पार्क निर्माणका लागि स्थानीयवासीले सरकारसँग १३ करोड अनुदान माग गरेका छन् ।