कपिलवस्तु अस्पतालमा नगरपालिकाले करोड लागतको अक्सिजन प्लान्ट बनाउने

कपिलवस्तु अस्पतालमा नगरपालिकाले करोड लागतको अक्सिजन प्लान्ट बनाउने


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसँग सहकार्य गरी अक्सिजन प्लान्ट चाँडोभन्दा चाँडो निर्माण गरिने नगर कार्यपालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सहयोग नगरे आफ्नै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने मेयर सिंहको अठोट छ । ुसरकारले बजेट दिएन भने नगरका काम हुन नसकेका सबै बजेट त्यसमै लगाएर भए पनि प्लान्ट बनाउने निर्णय गरेका छौँु, मेयर सिंहले भन्नुभयो । सकेसम्म प्रदेश सरकारसँग साझेदारीको पहल भइरहेको छ । अस्थायी कोरोना अस्पताल निर्माणका लगि कपिलवस्तु अस्पताललाई आवश्यक सहयोग नगरले यसअघिबाटै गर्दै आएको छ ।

मृत्यु भएका कोरोना संक्रमितको शव ब्यवस्थापन र दाहसंस्कारको उचित ब्यवस्था नगरपालिकाले गरेको छ । नगरबासीको मागअनुसार प्लान्ट निर्माण गर्ने निर्णय गरेको मेयर सिंहले बताउनुभयो । यसपालि जनताको जीवनरक्षा गर्ने र अर्को वर्ष विकासका काम गर्ने सोच बनाएको उहाँको भनाइ छ ।