अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग

अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग


  • राजन घिमिरे

कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् ।

यसैक्रममा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीका कोरोनासंक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियन्ता केपी खनालको संस्था मैनादेवी फाउन्डेशनलाई अक्सिजन खरिद गर्न उनले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण समस्यामा रहेका अन्य व्यक्तिलाई पनि आफूले सहयोग गर्ने उनले बताए ।

‘आज म जहाँ छु, त्यो दर्शककै कारण छु । आज उनै दर्शकलाई गाह्रो हुँदा म मौन बस्नु हुँदैन भनेर सहयोगी हात अगाडि बढाएको हुँ । कोरोनाका कारण धेरैलाई बिहान बेलुका हातमुख जोर्न पनि समस्या भएको छ । उहाँहरुलाई पनि सहयोग गर्ने सोचमा छु,’ उनले भने, ‘यो महामारी हामी सबै मिलेर लड्नु पर्छ । यतिबेला सरकारको मुख हेर्ने भन्दा पनि हामी सबैले सकेको सहयोग गरौँ ।’

पुष्प अगाडि भन्छन्, ‘हाम्रो फिल्म इन्डस्ट्री सानो भए पनि कलाकार संघ लगायत धेरै संघ(संस्था छ । कोरोना महामारीको यस्तो परिस्थितिमा ती सबै संस्थाहरुले अभियान अगाडि बढाएर हामीहरुलाई तताउनु पर्छ । यो भएको छैन भने पनि हामीले गर्न सक्ने सहयोग गर्नुपर्छ ।’ उनले यसअघि पनि आफ्नो गृहजिल्ला कैलालीको एक बालआश्रममा नगद र खाद्यान्न सहयोग गरेका थिए ।