आइतबार कोरानाका कारण १४५ को निधन, संक्रमण र मृत्युदर घट्दो

आइतबार कोरानाका कारण १४५ को निधन, संक्रमण र मृत्युदर घट्दो



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना संक्रमित निको भएको पनि जनाएको छ ।

आइतबार काठमाडौं उपत्यकाभित्र काठमाडौंमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यतिबेला बिरामीको निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ । संक्रमितमध्ये देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमै रहेका छन् । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने मृतकको संख्या १८७ जना रहेको थियो । यस्तै, शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाले ज्यान गुमाएका थिए । यस आधारमा कोरोनाबाट मृत्यु हुने दर क्रमशः घट्न थालेको छ ।