३० जेष्ठ २०७८, आईतवार

कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

  प्रकाशित मिति
२ जेष्ठ २०७८, आईतवार ११:०४



भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।

जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, ‘हामी तपाईंलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौँ ।’

शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।

उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चारमाध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड’१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भने, ‘यी शव कोभिड-१९ बाट पीडित व्यक्तिका होइनन् ।’

उनले केही मानिसले हिन्दु परम्पराअनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए ।

एक जना वरिष्ट प्रहरी अधिकृत केपी सिंहले कोभिड-१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताउनुभयो । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उनले भने ।

उनले प्रचार गरिएजस्तो नभइ नदी किनारामा सानो संख्यामा शव भेटिएका उल्लेख गर्दै वास्तविक संख्या दिन इन्कार गरे ।

दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताएका एपीले जनाएको छ । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यत्तिकै गाडिदिने गरेको जानकारी दिनुभयो ।

हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ ।

राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।

उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताए ।

भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड-१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन्, तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् ।

केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा भीके पलले बताए ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो ।

तर मृत्यु दरमा भने कमी आएको छ । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

रासस जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार

शिक्षक, वकिल हुँदै कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीसम्मको यात्रा बाबु गोबर्द्धन शर्मा राणाशासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबर्द्धन शर्मा नेपाली