केपी र माधवबीच भेटवार्ता, विवाद समाधानको लागि कार्यदल गठन

केपी र माधवबीच भेटवार्ता, विवाद समाधानको लागि कार्यदल गठन



दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । दुई नेताबीचको छलफलपछि भेटवार्तापछि पार्टीविवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । करिव २ घण्टाको वार्तापछि नेताहरु पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निचोडमा पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । यस क्रममा आज भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

बताइएअनुसार दुवै पक्षका ५-५ जना सदस्य रहेको कार्यदल बनाउने निर्णय भएको छ, जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन् ।

‘कार्यदलले तीन दिनमा विवाद समाधानको उपायको खाका तयार गर्ने गरी जिम्मेवारी दिइएको छ ।

पार्टीलाई सर्वोच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व (२०७५ जेठ ३) को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको छ । सो विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुन थालेपछि पार्टीमा विभाजन हुन सक्ने आशङ्का अन्त्य भएको एमालेसम्बद्ध नेता कार्यकर्ताको धारणा छ ।