कोरोना महामारीविरुद्ध एकताबद्ध हुन काङ्ग्रेस महामन्त्रीको आग्रह

कोरोना महामारीविरुद्ध एकताबद्ध हुन काङ्ग्रेस महामन्त्रीको आग्रह



देशभरिका अस्पतालमा अक्सिजन अभाव भइ हाहाकार मच्चएपछि नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने धारणा अघिसार्नुभएको छ ।

एक वक्तव्य जारी गर्दै महामन्त्री खड्काले अक्सिजन अभावका कारण नागरिकले अकालमा ज्यान गुमाउनुका साथै बिरामीको उपचारमा कठिनाइ परेकोप्रति सङ्घीय सरकार र विशेषगरी कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

वक्तव्यमा महामन्त्री खड्काले भन्नुभएको छ- ‘देशभरिका अस्पतालका अलावा कर्णाली प्रदेश अस्पतालका साथै अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकले ज्यान गुमाउनुपरेको छ । बिरामीको उपचारमा परेको कठिनाइप्रति सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । एक वर्षअघिको कोरोना महामारीको प्रकोपपश्चात् विज्ञहरूद्वारा कोरोनाको दोस्रो लहर आउन सक्ने भनी दिइएको सुझाव र सचेतनालाई हल्का रूपमा लिइ पर्याप्त समय हुँदाहुँदै अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु सङ्घीय र प्रदेश सरकारको चरम लापर्वाही हो, जसका कारण नागरिकको जीवन दिन-प्रतिदिन असुरक्षित हुँदैछ ।’

सबैले गल्ती-कमजोरी सच्याउँदै जिम्मेवारी बोध गरेर समय छँदै एकताबद्ध भइ महामारीविरुद्ध अघि बढ्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

आफ्नो वक्तव्यमा महामन्त्री खड्काले कर्णाली प्रदेश अस्पतालमा केही समय भएको अक्सिजन अभावलाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी र कर्णाली प्रदेश अस्पतालको समन्वयका साथै सबै तरिकाको प्रयत्नबाट रातारात नेपालगञ्जदेखि अक्सिजन आपूर्ति शुरु भएकोले स्थिति भयावह हुनबाट केही कमी आएको पनि उल्लेख गर्नुभएको छ । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुन र नागरिक तहले पनि आफू बच्दै अरुलाई बचाउन उहाँले आग्रह गर्नुभएको छ ।