इजरायली सेनाले नियतवश आफ्नो कार्यालय ध्वस्त पारेको ‘एपी’ र ‘अल-जजिरा’को आरोप

इजरायली सेनाले नियतवश आफ्नो कार्यालय ध्वस्त पारेको ‘एपी’ र ‘अल-जजिरा’को आरोप



अमेरिकी समाचार एजेन्सी ‘द एसोसियट प्रेस (एपी)’ र कतारको विख्यात समाचार च्यानल ‘अल-जजिरा’ले शनिबार इजरायलद्वारा उनीहरूको कार्यालयमा गरिएको हवाइ हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

एपीले इजरायलको हवाइ हमलालाई ‘भयावह एवम् चकित तुल्याउने खालको’ भनेको छ भने अल-जजिराले चाहिँ इजरायलले गाजामा पत्रकारहरूलाई आफ्नो काम गर्न रोक लगाउने दुष्प्रयास गरेको आरोप लगाएको छ ।

शनिबार इजरायलले गाजास्थित एक बाह्रतल्ले भवनमा हवाइृ आक्रमण गरी ध्वस्त पारेको थियो । सो भवनमा उल्लिखित दुवै सञ्चार संस्थाको कार्यालय रहेको थियो । उक्त भवनमा ‘हमास’को कार्यालय रहेको भन्दै इजरायलले बम हमला गरेको थियो ।

एपीले जनाएअनुसार भवनमा आक्रमण हुन लागेको जानकारी पाएपछि शनिबार इजरायली सेनालाई कैयन पटक कल गरेर सम्भावित हमला रोक्न हारगुहार लगाइएको थियो, तर इजरायली सेनाले उक्त अनुरोधको सुनुवाई गरेन ।

एपीले भनेको छ- ‘भवनमा हमासको उपस्थिति रहेको प्रमाण दिन हामीले इजरायली सरकारसँग अनुरोध गऱ्यौँ तर कुनै प्रमाण दिइएन । एपीको ब्यूरो यस भवनमा विगत पन्ध्र वर्षदेखि रहँदै आएको थियो । हामीले आजसम्म कुनै सङ्केत पाएका थिएनौँ कि यस भवनमा हमासको कार्यालय पनि रहेको छ भनेर । गाजामा यतिबेला जे-जति भइरहेको छ, निकै भयावह अवस्था हो यो । हाम्रो कार्यालय ध्वस्त पारिएपछि गाजामा के भइरहेको छ भन्ने अब दुनियाँले कमै मात्र जानकारी पाउने भए !’

एपीले थप भनेको छ- ‘शनिबार जतिबेला भवनमा आक्रमण गरिँदै छ भनेर जानकारी दिइयो, हाम्रा बाह्र जना पत्रकार काम गरिरहेका थिए । भाग्यले बाह्रै जना पत्रकारले आफ्ना जरुरी सामानहरूसहित बाहिर निस्कन सके । त्यको केही बेरमै इजरायलले तीन वटा मिसाइल यस बाह्र तल्ले भवनमा प्रहार गऱ्यो र हेर्दाहेर्दै भवन ध्वस्त भयो ।’

प्रेस स्वतन्त्रताको वकालत गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूले इजरायलको यस आक्रमणको निन्दा गरेका छन् । ती संस्थाहरूले इजरायली सेनामाथि कथित युद्ध-अपराधहरूबारे संसारलाई जानकारी नहोस् भनी मिडियामाथि सेन्सर लगाउने कोशिस गरिएको आरोप लगाएका छन् ।

त्यस्तै, अल-जजिराले पनि इजरायली सेनाले कार्यालय खाली गराउन केवल एक घण्टाको समय दिएको उल्लेख गर्दै समय केही थपिदिन आग्रह गर्दा सुनुवाइ नगरेको र आफूहरूले ठूलो क्षति ब्यहोर्नुपरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।