दश महिनामा ४,८०० सवारी साधन कारवाहीमा

दश महिनामा ४,८०० सवारी साधन कारवाहीमा



२८ लाख ७७ हजार राजस्व संकलन

  • डम्बर निदाल, डडेल्धुरा

ट्राफिक नियम उल्लंघन गर्ने चार हजार आठ सय यातायातका सवारी साधन चालु आर्थिक वर्षको दश महिना अवधिबीच कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले (डडेल्धुरा)ले चालु आर्थिक वर्षको साउन वैशाख महिनासम्म ट्राफिक नियम उल्लंघन गर्ने साना–ठूला गरी चार हजार आठ सय यातायातका साधनलाई कारवाही गरिएको जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेर कारवाही पर्नेमा जिप १ हजार ८ सय ६२, बस २ सय ५३, मोटरसाइकिल ९ सय १४, ट्याक्टर ४ सय २९, टेम्पो ९२ र ट्रक १ हजार २ सय ५० गरी जम्मा ४ हजार ८ सय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये दश महिनाको अवधिमा २८ लाख ७७ हजार राजस्व समेत संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए । यसरी राजस्व रकम जम्मा भएको अहिलेसम्मकै बढी रहेको जिल्ला ट्राफिक प्रमुख खत्रीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियताका कारण कारवाही हुने यातायातका सवारी साधनको संख्या बढी हुनुका साथै राजस्व रकम पनि ज्यादा संकलन भएको बताइएको छ । यसैगरी, १० महिनाको अवधिमा २३ सवारी साधनलाई मापसेअन्तर्गत कारवाही गरिएको छ, जसबाट २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, १० महिनाको अवधिमा २६ वटा यातायातका सवारी दुर्घटना भएका छन् । जसमा परेर ६ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा स–साना मात्रै दुर्घटना भएका छन् । ट्राफिक प्रहरीको सक्रियताका साथै चालकहरू सजहग भएका कारण जिल्लामा ठूला दुर्घटना नभएको बताइएको छ ।