तानियो मच्छिन्द्रनाथको रथ, धानियो शदियौँदेखिको परम्परा

तानियो मच्छिन्द्रनाथको रथ, धानियो शदियौँदेखिको परम्परा



वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याएका छन् । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार शनिबार अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिँदै गइरहेको नयाँ परिवर्तित रुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुशी व्यक्त गरे । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरीसुस्तरी रथ तानेर परम्परा धानिएको उनको भनाइ थियो । सो स्थानमा उपस्थित भक्तजनले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्व तवरले शदियौँ वर्षअघिदेखि मान्दै आएको चलन जोगाउन सहयोग गरेको उनले जानकारी दिए ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम आज सकिएको जानकारी गराउँदै लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखिएको र आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने अनि रथ फुकाल्ने काम अघि बढ्ने बताए ।

खड्गी, धिमेलगायत बाजा बजाएर सोको धुनमा करुणामयको रथ श्रद्धा र भक्तिका साथ तानिएको स्थानीयको भनाइ छ ।

pict:rss