इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु



इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।

गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकूबीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छन् ।

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट शुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी रहेका छन् ।

शुक्रबार इजरायलअधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो ।

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी इन्तिफादा अर्थात् विद्रोह हुने सम्भावना बढाएको छ । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् ।

सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि यही शनिबार परेको छ । यसदिन अझ बढी हिंसा हुने सम्भावना छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल पुगेका एपीले जनाएको छ। इजरायल-प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक आइतबार बस्दैछ । यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् । उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक समेत सात जनाको ज्यान गएको छ ।

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिबार बिहानैदेखि जारी छ । एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमासलक्षित आक्रमण गर्दा ठूलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गरेका छन् । तर सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने संकेत गर्दै साइरन नबजाइएको स्थानीयको भनाइ छ ।

हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको बताएको छ । तर इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ ।