अर्घाखाँची अस्पताललाई पाँच थान इलेक्ट्रिक अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

अर्घाखाँची अस्पताललाई पाँच थान इलेक्ट्रिक अक्सिजन कन्सनट्रेटर हस्तान्तरण


  • जापान प्रतिनिधि

अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको छ । जिल्लामा अक्सिजनको अभाव बढेसँगै कोरोना संक्रमितको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागिअस्पताललाई जिम्मा दिइएको थियो । समाजले मेसिन खरिदका लागि जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । जिल्लाबासीले अक्सीजन नपाइ छटपटाइरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुँदा सहयोग गर्नु दायित्व भएको उहाँको भनाइ छ । अध्यक्ष पौडेलले अभियानमा सहयोग गर्ने जापानवासी नेपालीहरु र समन्वयका लागि पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अभियानबाट संकलीत रकम र समाजको आन्तरिक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष अशोक खनालमार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोपबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

रकम पठाएको छोटो समयमै तीनवटा मेसिन आएको र बिरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले दुईवटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो ।

अक्सीजन सिलिन्डर जस्तो भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।