मेडिकल सामाग्रीको लागि बेलायतबासी नेपालीले गरे यस्तो पहल

मेडिकल सामाग्रीको लागि बेलायतबासी नेपालीले गरे यस्तो पहल



नेपालमा कोरोना महामारीबीच बिरामीको संख्या बढ्दै जाँदा अभाव हुँदै गएको अस्पतालको बेड, अक्सिजन र भेन्टिलेटरको समाचारले स्वदेश मात्र नभइ विदेशमा बस्ने नेपालीहरुलाई पनि पिरोलेको देखिन्छ । यस्तोमा कतिपयले आफू बसेको देशबाट गर्न सकिने सहयोगको लागि प्रयास गरिरहेका समाचार प्राप्त भएको छ।

विदेशस्थित दूतावास मात्र हैन संघसंस्था र व्यक्तिगत तवरले पनि आफ्नो सम्बन्धलाई सदुपयोग गर्दै मेडिकल सामाग्री व्यबस्थाको निम्ति लागिपरेका छन् ।

यस सिलसिलामा बेलायतमा रहेका बेजिंगस्टक मल्टिकल्चरल फोरमका अध्यक्ष शिवजी श्रेष्ठले सो संस्थामार्फत मेडिकल सामग्रीको लागि पहल गरेका जानकारी मिलेको छ । २७ देशका सांस्कृतिक समुदाय समेटिएको सो संस्थाले पाँच वर्षअघि नेपालमा भूकम्प आएको बेला पनि सहयोग गरेको थियो ।

जानकारीअनुसार सत्तारुढ पार्टीका सांसद पूर्वमन्त्री एवम् बेलायती संसदका महिला तथा समानता छनौट समितिका सभापति मारिया मिलरलाई पत्र लेख्दै शिवजी श्रेष्ठले नेपालमा बढ्दो विकराल स्थितिमा बेलायती सरकारको तर्फबाट हुन सक्ने मेडिकल सामाग्री सहयोगको लागि पहल गरिदिन गरेको अनुरोधलाई तत्कालै जवाफ पठाउँदै सभापति मिलरले आगामी शुक्रबार मिटिङको लागि निमन्त्रणा दिएकी छन् ।

सांसद मारिया मिलर अध्यक्ष रहेको रिफरेन्स समितिमा सांसदद्वारा मनोनित सदस्य श्रेष्ठले सोही समितिमा सदस्य रहेका ह्याम्प्सायर हस्पिटल फाउन्डेसन् ट्रष्टका सीइओसँग पनि यसबारेमा पनि आफ्ना कुरा राखेका छन् । त्यसैगरी श्रेष्ठको अनुरोधमा श्रेष्ठसम्बद्ध बेलायतको प्रतिपक्षी लेबोर पार्टीका स्थानीय काउन्सिल लिडर एन्डी म्याकोर्मिकले काउन्सिल र पार्टीका सदस्यहरुलाई पनि नेपालमा बढ्दै गएको कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर जस्ता सामाग्रीको लागि सहयोगको लागि पहल गरेका छन् ।

आफूले गरेको पहलको सकारात्मक प्रतिक्रियाबाट उत्साहित श्रेष्ठले संसारभर रहेका नेपालीहरुले आफु रहेको देशका सरकार र अन्य सहयोगी संस्थाहरुलाई आफ्नो सम्बन्ध सदुपयोग गर्दै नेपालमा मेडिकल सामाग्री पठाउने कार्यमा लागि पर्न अनुरोध गरेका छन् । विशेषगरी बेलायती सांसदहरु मार्फत बेलायती सरकारलाइ ध्यानाकर्षण गराउन सके त्यसले सकारात्मक परिणाम ल्याउन सक्ने उनले बताए ।

यसअघि पनि आफ्नो जन्मथलो ओखलढुंगाको जिल्ला अस्पतालमा भक्त श्रेष्ठसंग मिलेर शिवजी श्रेष्ठले अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका थिए ।