‘गाली दिएर भएन, अब खराब नेतृत्वलाई चौतर्फी निषेध गरौँ’

‘गाली दिएर भएन, अब खराब नेतृत्वलाई चौतर्फी निषेध गरौँ’


  • मोहनप्रसाद खतिवडा

भनिन्छ, बोरामा एक दाना आलु कुहियो भने त्यसले बोराको पूरै आलु कुहाउँछ । परिवारमा अभिभावक खराब भयो भने सिङ्गो परिवार खराब बन्न सक्छ । देशको नेतृत्व त अझै संवेदनशील विषय हो । यहाँ खराब नेतृत्व हुनासाथ गाउँ बिग्रन्छ, टोल बिग्रन्छ, शहर-बजार हुँदै सिङ्गो राष्ट्र नै आलुजसरी नै कुहिन्छ । अब आक्रोशका कलमहरू पीडाका शब्दमा, विकृतिका दृष्यहरूमा अनि नेतृत्वका कलुषित कर्महरूमा चलाएकै भरमा मात्र यो शताब्दीमा कुनै ठोस परिवर्तन हुन नसक्ने देखिसकिएको छ ।

‘पर्ख र हेर’का राजनीति यो देशमा धेरै भए, धेरै नयाँ अनुहारहरू यही समाजका नेतृत्वमा अल्मलिइरहे । गरिव जनताले तिरेको करसँग खेल्दै शहरका मालिक बने । गरिवका रहर र सपनाहरूलाई तिनले कुल्चिदिए । जनताको जीवनस्तरमा कुनै परिवर्तन भएन । परिवर्तन त त्यही भयो जो राजनीतिको केन्द्रबिन्दुमा वर्षौंदेखि छाइरह्यो । नेतृत्वसँगै उठबस गरिरह्यो । जनतालाई चुनावताका इमोसनल ब्ल्याकमेल गरेरै मत लुटिरह्यो । उ नै मालिक बन्यो, उसलाई नै देवत्वकरण गरिदिए समाजका बुज्रुकहरूले ।

वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले यो देशमा दास प्रथाको अन्त्य गरेका थिए । नेपालबाट दास प्रथा उन्मूलन भइसकेको भए पनि राजनीतिमा भने दासत्व नै स्वीकार्य देखिन्छ । देशमा धेरै तन्त्रहरू अदलबदल भए, संविधान बदलियो, नेतृत्व बदलियो तर बदलिएन नेतृत्वको सोच, परिवर्तन भएन मूल्य मान्यता, अनि परिवर्तन हुँदै भएन बौद्धिक नागरिक भनिएकाहरूको चेतनाको परिधि ।

नेपाली राजनीतिमा सँधै भीडतन्त्र हाबी भयो, हुलहुज्जत गर्नेहरूकै हालीमुहाली भयो र, उदण्डताले स्थान पाउँदै आयो अनि मनी र मसलहरूमा राजनीतिको बक्ररेखा घुमिरह्यो । सत्ता टिकाउने र गिराउनेमा देशले कैयौँ वर्ष ब्यतीत गर्‍यो । थरि-थरिका अनुहारहरू सत्तामा देखिए । पिएचडी स्तरदेखि औँठाछापसम्मका नागरिकहरू यो देशको शासनसत्तामा पुगे । द्वेषको राजनीति चलिरह्यो ।

आजको राजनीतिक दुनियाँ एउटा घोडेदौड हो, यो रेसमा दौडनेहरूको हारजित त अवश्य हुन्छ नै, तर हामीले कहिल्यै दौडने साहस गरेनौँ । घरझगडा र कुर्सी तानातानमै अल्झिरह्यौँ । हामीले अरुलाई दोष मात्रै दिएर आफू पन्छियौँ । परिणामतः देशको हालत यस्तै रहन पुग्यो ।

आगामी कैयौँ वर्ष पनि यसरी नै दोष अरुको टाउकोमा मात्रै थोपर्ने हो भने देश न देश रहला न तपाईं स्वाभिमानी नागरिक । अबको संसारमा तपाईंको नागरिकताले मात्रै तपाईं निर्धक्क नेपाली नागरिक रहनुहुन्न । यो युग विकाश र प्रविधिको युग हो, आर्थिक सर्वोच्चताको युग हो, सक्षमहरूको युग हो, अनि जित्नेहरूको युग हो । दुनियाँसँग हार्नेहरू त अब डाइनोसर जसरी नै बिलाउने निश्चित छ । तपाईं मात्रै बनेर देशको परिवर्तन सम्भव छैन, सिस्टम नै बन्नुपर्छ, संस्कार बन्नुपर्छ अनि आजको युगमा समयसापेक्षित शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनु जरुरी छ । यस देशमा एक तप्का यस्तै विकृतिबाट उम्कन नसक्ने देखिन्छन् पनि ।

हाम्रो शिक्षा पद्धतिले हामीलाई स्वावलम्बी बन्न कहिल्यै सिकाएन, देशसुहाउँदो शिक्षा प्रणाली भएन, मौलिकताले जोड्दै अघि बढ्नुपर्ने शिक्षा प्रणालीको सट्टा भाषालाई जोड दिएर अघि बढाइयो । देशभित्रै विभेदकारी शिक्षा लागु गरियो । वर्ग विभाजन गर्ने शिक्षा प्रणालीको विकाश भयो । परजीवी शैक्षिक वातावरणको विकाश गरियो ।

आजको विश्वमा यिनै कारणहरूले गर्दा नेपाल पछि परिरह्यो । आजसम्म पनि नेपाली राजनीतिमा नातावाद चल्यो, हैकमवादी परिपाटी भयो, भनसुनवादले जरो गाड्यो, योग्यताको कदर भएन बरु चकडी-चाप्लुसीको भरमा अयोग्यले मिच्दै गयो । सत्ताको परिक्रमा तिनैले मात्रै गरिरहे जसले जनताको लागि खासै केही गर्न सकेनन् । मतदान तिनैले मात्र गरिरहे जसले मुलुक परिवर्तनमा नेतृत्व परिवर्तनको अभाव महसूस नै गरेनन् या यथास्थितिवादी सोंचबाट माथि उठ्नै सकेनन् ।

अब सोंच फेर्नुपर्छ तपाईं-हामीले नेपाली पुरातन राजनीतिक मस्तिष्कको ढोका उघार्न जान्नुपर्छ । दोष नेतृत्वलाई दिएर मात्रै परिवर्तन सम्भव छैन देशमा । अब तपाईं-हामीले राजनैतिक पुरातन चेतनाबाट माथि उठ्नैपर्छ । विकल्प नहुँदा बाबुले मतपत्रमा लगाएका छापहरूले देश माथि उठ्नै सकेन अब फरक विचार र मतपत्रहरूमा साहसका साथ फरक छाप लगाउने हिम्मत गर्नैपर्छ ।

थाकेका हलीहरूले यो देशका बाँझा खेतहरू जोत्न सक्दैनन् भन्ने पक्कापक्की भइसकेको छ । अब बलिया र जाँगरिला कर्मठ हातहरूलाई यो देशका बाँझा खेत जोतेर मलिलो बनाउने जिम्मा दिनुपर्छ । उन्नत फसल दिने बिउ छर्न लगाउनुपर्छ । देशै हरियाली बनाइ मोती फुलाउनुपर्छ । पुरानो सोंच त्याग्नुपर्छ बौद्धिक युवाहरू अब जाग्नैपर्छ ।

अब नेपाली राजनीतिमा असक्षम र खराबहरूको झुण्डहरूलाई बहिष्कार र निषेधको थालनी गर्न ढिला भइसकेको छ । हामी युगौँ पछि परिसकेका छौँ, अब पनि डिग्रीका सर्टिफिकेटहरू खातका खात सन्दुकमा राखेर तिनै नातागोता, तिनै पुराना अनुहारको भजन कीर्तन, भोजभतेर, सोमरसको चुस्कीमा मतको सौदाबाजी ग¥यौँ भने भोलि कहालीलाग्दो क्षणको एक्लै सामना गर्नुपर्नेछ । न हुने छ तपाईंको बौद्धिक चेतनाको परिवर्तन न बन्नेछ यो मुलुकको भविष्य, न त तपाईं–हामी बन्नेछौँ स्वावलम्बी !

अब आफै भन्नुहोस् सधैं अर्काको आश र भरोसामा, खाडीको तातो घाममा बसेर कतिन्जेल परिवारको पेट धान्न सक्नुहुन्छ ? कतिन्जेल बालबच्चाको शिक्षामा कतारी रियालले थेग्न सक्नुहुन्छ ? कतिन्जेल परदेशमा खटेर देशलाई रेमिट्यान्सले थेग्न सक्नुहुन्छ ? परदेशमा अनागरिक भएर कतिन्जेल बाँच्न सक्छौँ हामी ? किन विदेशका पीआरप्रति चुहाइरहन्छौँ हामी ? अनि किन देशले रोजगारी दिन सकेन युवाहरूलाई ? किन मेलम्ची उपत्यकासम्म आउन दशकौँ लाग्छ ? किन हुम्लाको स्याउ राजधानी आउन सक्दैन ? किन जुम्लाका जडीबुटी नागरिकलाई काम नलागी खेर जान्छ ? किन पानीको देशमा बसेर काकाकुल झैँ बाँच्नुपरिरहेछ ? यस्तै-यस्तै हामी सारा युवाहरूको आक्रोशका वर्षा, बेदनाका शब्द, दुःखाइका तस्बिरहरू देखाएर, लेखेरै मात्रै निषेध या बहिष्कृत हुँदैन विकृत राजनीति । परिवर्तन हुँदैन राजनीतिक कुसंस्कारहरू ।

परिवर्तित समय निम्त्याउन अब असक्षम र कमजोरहरूलाई यो देशको शासनसत्तामा निषेध र बहिष्कारको थालनी गरौँ । तपाईं-हाम्रो मताधिकारबाटै निषेधको जग बसाऔँ । समाजमा गलतलाई निषेध, विकाशमा गलतलाई निषेध अनि भावी राजनीतिमा गलतलाई बहिष्कारको थालनी गरौँ । अब छातीमा हात राखेर मातृभूमिको कसम खाँदै असक्षम र खराबहरूलाई गालीगलौज गरेर मात्र होइन, सत्तामा निषेधको थालनी गरौँ । अनि अवश्य परिवर्तन हुन्छ देश । संसार यसरी नै सक्षमहरूको चयनले परिवर्तन भइरहेछ भने हामी मात्र किन असक्षमहरूलाई पुजिरहेछौँ ? सफल नेतृत्व चुनेर देश बनाउने त तपाईं-हाम्रो मताधिकारले हो । अब सोंच बदलौँ, पुरानो साइनो बदलौँ, गलत प्रयोगले यसरी नै रुवाइरहनेछ पुस्तौँसम्म फेरि पनि । निषेधको थालनी आजैबाट गरौँ ।
– हाल : टोकियो (जापान)