गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै !

गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै !



गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सांसदहरुको आवश्यक बहुमतसहितको समर्थन रहेको दाबीसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आवेदन पेश गरे पनि जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीले आफूहरुको समर्थन पोखरेललाई नरहेको लिखित पत्र बुझाएका थिए । तोकिएको समय बुधबार ४ बजेभित्र आफ्नो समर्थनमा आवश्यक बहुमत जुटाउन नसकेपछि कृष्णचन्द्र नेपालीको मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको हो ।

गण्डकी प्रदेशमा कुल संसद संख्या ६० रहेकोमा बहुमत पुग्न ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । पोखरेलले ३१ जनाको समर्थन रहेको दाबी गरे पनि जनमोर्चाका कृष्ण थापा, र खिमविक्रम शाहीले तटस्थता प्रदर्शन गरेपछि पोखरेलको समर्थनमा २९ जना मात्र देखिए, जसले उनको सपना तुहाइदियो ।

यसरी पोखरेलको दाबी नपुगेपछि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले नै पुनः बुधबार मुख्यमन्त्रीको रुपमा शपथ लिने भएका छन् ।