को हुन् जापानमा ओलम्पिक मशाल उचाल्ने कान्छा लामा ?

को हुन् जापानमा ओलम्पिक मशाल उचाल्ने कान्छा लामा ?


  • विशेष प्रतिनिधि (जापान)

नेपाली युवा कान्छा लामाले २०२० टोकियो ओलम्पिकको मशाल दौडमा सहभागी हुने अवसर पाएका छन् । जापानको सागा प्रान्तस्थित काराकाचु शहरमा व्यावसायिक कृषि पेशा गर्दै आएका लामा मे ९ तारिखका दिन शहरमा आयोजित मशाल दौडमा सहभागी भएका हुन् ।

उक्त अवसरमा लामाले करिव एक किलोमिटर दूरी टोकियो ओलम्पिकको मशाल बोकेर दौड गरेका थिए । यहाँको राष्ट्रिय सार्वजनिक संचारमाध्यम एनएचकेले समेत प्रत्यक्ष प्रशारण गरेको ओलम्पिक मशाल दौडमा सहभागी भएपछि लामाले ओलम्पिक मशाल बोकेर दौडमा सहभागी हुन पाएकोमा आफूलाई धेरै भाग्यमानी ठानेको बताउँदै सम्बन्धित सबैमा धन्यवाद ब्यक्त गरे ।

विश्वभर नै जीवनमा राष्ट्रिय स्तरको योगदान दिएका तथा चर्चित र लोकप्रिय व्यक्तिहरुले मात्र अवसर पाउने मशाल दौडमा यसपटक सहभागी हुन पाउने लामा एक मात्र नेपाली हुन् ।

सन् २००७ मा अध्ययनको लागि जापान आएका ३७ वर्षीय लामा हाल प्रान्तमा नै जापानी महिलासँग विवाह गरेर बस्दै आएका छन् । गोलभेंडालगायत कृषिजन्य बस्तुको खेती गर्दै आएका लामाले गत महिना जापानको राष्ट्रिय कृषिमन्त्री पुरस्कार जितेका थिए ।