प्रमुख तीन दलको आग्रहअनुरुप राष्ट्रपतिबाट धारा ७६ (२) अनुसारको सरकार गठन गर्न आह्वान

प्रमुख तीन दलको आग्रहअनुरुप राष्ट्रपतिबाट धारा ७६ (२) अनुसारको सरकार गठन गर्न आह्वान



प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रियाबारे सर्वत्र चासो बढेको छ । यसबारे राष्ट्रपतिबाट चालिने कदमतर्फ सबैको ध्यान केन्द्रित भइरहेको परिवेशबीच राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । यसका लागि राष्ट्रपतिबाट यही वैशाख ३० गतेसम्मको म्याद दिइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई मिति २०७८ वैशाख ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ ।

ज्ञात रहोस्, नेपालको संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी प्रावधानहरु समेटिएका छन्, जसअनुसार धारा ७६ को (१) ले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । धारा ७६ को (२ मा) प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ भने धारा ७६ को (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

यसअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेका हुन् ।

‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उल्लिखित तीन दलका नेताहरुको अनुरोधअनुरुप नै राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको छ ।