काबुलमा विद्यालयबाहिर भिषण बिस्फोट, ५० जनाको मृत्यु

काबुलमा विद्यालयबाहिर भिषण बिस्फोट, ५० जनाको मृत्यु


अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालयबाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

स्थानीय प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालयबाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अरु १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोट जस्तो देखिएको छ भने अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको हो ।

विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाई छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्सर्ना गरेका छन् । घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन उनले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।