‘घुम्तीमा नआउ’ भन्दै अनन्त गोरेटोतर्फ प्रेमध्वजको ‘महाप्रस्थान..’ !

‘घुम्तीमा नआउ’ भन्दै अनन्त गोरेटोतर्फ प्रेमध्वजको ‘महाप्रस्थान..’ !


  • राजन घिमिरे

कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ उहाँ अब । उहाँ त युगौँयुगसम्म नेपाली गीत-संगीत क्षेत्रलाई पुग्ने कालजयी सृजना दिएर गएका छन् । जसको सृजनाले नेपाली गीत-संगीतलाई धनी मात्र बनाएन, एउटा गौरवमय उचाइ पनि प्रदान गर्‍यो । यस्ता स्रस्टालाई हामीले मुटुमाथि ढुंगा राखेर गत बिहीबार ८४ वर्षको उमेरमा सदाका लागि बिदा गर्‍यौँ।

८४ वर्षको उमेरसम्म आइपुग्दा पनि नेपाली गीत-संगीतप्रतिको लगाव, निरन्तरता र त्यो क्षेत्रप्रति प्रेमध्वज प्रधानले देखाउनुभएको उपस्थिति साँच्चै आजको पुस्ताका लागि उदाहरण बन्न पुगेको छ । ८४ वर्षअगाडि सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानको बाल्यकाल काठमाडौंको मखन र असनमा बित्यो भने उनले स्कूलेजीवन विश्वनिकेतनबाट पूरा गरेका थिए । प्रधानले हज़ारभन्दा बढी नेपाली, सयभन्दा बढी नेवारीका साथै तीसभन्दा बढी भजन र राष्ट्रिय गीत गाइसकेका छन् । ‘यो नेपाली शिर उचाली…’ प्रेमध्वज प्रधानले गाएको चर्चित राष्ट्रिय गीतमध्येको एक हो ।

बुबा कपड़ा ब्यापारी भए पनि परिवारमा अन्य सदस्य र, मूलतः आमा नै संगीत-पारखी हुनुभएकोले प्रधानलाई गीत-संगीतमा लाग्न उत्प्रेरणा मिल्यो । आफ्नो लागि लक्की नम्बर ३ मान्नुहुने प्रधानका संगीत गुरु पनि तीन जना थिए । आमा प्राणदेवी प्रधान, उस्ताद गणेशलाल श्रेष्ठ र चलचित्र माइतीघरका संगीतकार जयदेव।

चलचित्र माइतीघरका संगीतकार जयदेव नेपाल आउँदा उनले नै आवाज मन पराएपछि यो चलचित्रमा गीत गाउन लगाउन प्रेमध्वज प्रधानलाई भारत लगेका थिए । यही चलचित्रको लागि प्रेमध्वजले गाएको गीत ‘नमान लाज यसरी… आज पनि चर्चित र कर्णप्रिय छ ।

विंसं. २००९ मा रेडियो नेपालबाट स्वरपरीक्षा पास गरेपछि प्रेमध्वज प्रधानको सांगीतिक यात्राले ब्यवस्थित रूप पाएको थियो । ‘गोरेटो त्यो गाउँको…, २०२० सालमा यो गीत गाउँदा प्रधानले रेडियो नेनालबाट उत्कृष्ट गायकको अवार्ड जितेका थिए । यस गीतको सफलतासँगै प्रेमध्वजले कहिले पनि पछाडि फर्केर हेर्नु परेन ।

२००८ सालमा पहिलोपटक प्रेमध्वज र नारायण गोपालको भेट भएको थियो । यी दुईको भेट र मिलन नै नेपाली गीत संगीत क्षेत्रका लागि वरदान सावित भयो ।

गितार पनि बजाउन सक्ने क्षमताकै कारण त्यतिबेला नै प्रेमध्वजलाई स्टाइलिस गायकका रूपमा चिनिने गरिन्थ्यो । नेपालका पहिलोपटक एकल साँझ कार्यक्रमको आयोजना गरेर प्रधानले नयाँ इतिहास कोरेका थिए । २०२२ सालमा राष्ट्रिय नाचघर जमलमा एकल साँझ कार्यक्रमको आयोजना गरिएको थियो भने यो साँझ तीन दिनसम्म आयोजना गरिएको थियो ।

करिव ६ दशकभन्दा लामो समयसम्म नेपाली गीत संगीत क्षेत्रलाई निरन्तरता दिने एउटा स्वाभिमानी, मख़मली आवाजका धनी, नेपाली संगीत क्षेत्रका लौहपुरूष यी कालजयी स्रष्टा प्रेमध्वज प्रधानको भौतिक शरिर आज हामीबीच छैन । तर, पनि उनको उत्कृष्ट सृजना र आवाज युगयुगसम्म गुञ्जिरहने छ र, हामी सदियौँ उहाँलाई सम्झिरहने छौँ .. ।