गैंडा तस्करीमा संलग्न २४ जना पक्राउ

गैंडा तस्करीमा संलग्न २४ जना पक्राउ



गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक गैंडा शिकार गरेको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ गरिएका श्रेष्ठलाई जिल्ला अदालत पेश गरिएको र अदालतले रु दुई लाख ५० हजार धरौटीमा छाडेको पनि उनले जानकारी दिए ।

यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका मध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैंडा मारेको अभियोग लागेको छ । यही वैशाख २३ गते पक्राउ परेका श्रेष्ठलाई पनि सोही अभियोग लागेको हो ।

अन्य तीनजना अघिल्ला आर्थिक वर्षका मुद्दामा फरार रहेका अभियुक्त रहेको अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा मारिएका गैंडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सात जनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाइएको थियो ।

पुराना मुद्दामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको जनाइएको छ । निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैंडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालको भनाइ छ ।

file photo