बहुदलीय प्रजातन्त्रमा निर्दलीय उम्मेदवार !

बहुदलीय प्रजातन्त्रमा निर्दलीय उम्मेदवार !



निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका विरूद्ध निर्दलीय उम्मेदवार मैदानमा उत्रिएका छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि आगामी जेठ ६ गते हुने निर्वाचनमा नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । एमालेका तर्फबाट रामबहादुर थापा बादलले बैशाख २४ गते शुक्रवार हेटौँडा पुगेर मनोनयन दर्ता गराएका थिए भने बादलका बिरूद्ध कलम चिन्ह लिएर खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । नेकपा माओबादी र काङ्ग्रेस पार्टीले आफ्ना उम्मेदवार प्रस्तुत गरेका छैनन् ।

हाल दलहीन जस्तै अवस्थामा पुगेका माधवकुमार नेपालका समर्थक देवकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएको हो । उनलाई एमालेबाहेकले मतदान गर्ने विश्वास गरिएको छ । पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सदस्यहरू राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता हुनेछन् । बागमती प्रदेशका पालिकाहरूमा नेकपा एमालेको कुल १३३ मत रहेको छ भने काङ्ग्रेस ६७ र माओवादीको ३३ मत देखिन्छ।

माधवकुमार नेपालले आफ्ना समर्थक मतदाताहरूको सङ्ख्या ३३ देखि ३५ सम्म हुन सक्ने दाबी गरेका छन् । त्यसो भएमा एमालेको करिव एक सय मतदाता हुने देखिन्छ । प्रदेशसभामा एमालेको कुल ५७ सदस्यमध्ये माधवका पक्षमा बढीमा २२ जना छन् भने काङ्ग्रेस २३ र माओवादीका २२ सदस्य रहेका छन् ।

पालिकाका प्रतिनिधिहरूको प्रतिब्यक्ति मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ । करिब साढे नौ हजार मतभार रहेको बागमतीमा एमाले एक्लैको ५१०० भन्दा बढी मत रहेको बताइन्छ। तर उनीहरूमध्ये कतिले निर्दलीय उम्मेदवारलाई मतदान गर्ने हुन्, आम प्रतीक्षाको विषय बनेको छ।