दाङका चौध पत्रकारमा संक्रमण पुष्टि, एकको मृत्यु

दाङका चौध पत्रकारमा संक्रमण पुष्टि, एकको मृत्यु


  • विशेष प्रतिनिधि, दाङ

दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर रहेका छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् ।

साथै जिल्लामा रहेका पत्रकारहरुको अवस्थाको स्वास्थ्यको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख रहेको केसीले बताए । कतिपय पत्रकारको परिवार नै संक्रमित भएको उनको भनाइ छ । संक्रमित सञ्चारकर्मीहरु घरमै बस्दा परिवारलाई नै संक्रमण फैलने सम्भावना अत्यधिक भएकोले पत्रकार महासंघको हलमा ६ बेडको आइसोलेसनको स्थापना गरेको जानकारी केसीले दिए ।

सो आइसोलेसन स्थापना गरिए पनि आइसोलेसन सेन्टरमा अक्सिजनको अभाव रहेको बताइएको छ । पत्रकार देवीराम कुसारीको समन्वयमा घोराही उपमहानगरपालिका १५ का शितल रावतले दुई वटा सिलिण्डर सहयोग गरेको पनि उनले जानकारी दिए । उक्त आइसोलेसन सेन्टरलाई कम्तिमा १० वटा सिलिण्डरको आवश्यकता रहेकोले अक्सिजन सहयोग गर्न सहयोगीदातालाई केसीले आह्वान पनि गरेका छन् ।