बेल्जियममा कडा मापदण्डसहित मे ८ बाट होटल तथा रेष्टुरेन्टहरू खुल्दै

बेल्जियममा कडा मापदण्डसहित मे ८ बाट होटल तथा रेष्टुरेन्टहरू खुल्दै


  • सनत आचार्य (युरोप प्रतिनिधि), बेल्जियम

कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको कडा मापदण्डबीच बेल्जियम सरकारले मे ८ (२५ वैशाख) बाट होटल तथा रेष्टुरेन्टहरू खोल्ने अनुमति दिएको छ ।

अधिकांश रेष्टुरेन्टमा ग्राहकले गत ३–४ दिन देखि नै बुकिङका लागि अग्रिम अनुरोध गर्न थालेका छन् ।

सरकारको पछिल्लो निर्णयले गत ६ महिनादेखि बन्द रहेका होटल तथा रेष्टुरेन्टहरू आंशिक रूपमा खोल्न पाउँदा यस क्षेत्रमा लगानी गर्ने नेपाली व्यवसायी, कामदार र ग्राहकहरू समेत उत्साहित भएका छन् भने यतिबेला सबै आवश्यक सामग्रीको धमाधम तयारी गर्न थालिएको छ ।

लुभेन क्षेत्रमा खोल्ने अधिकांश टेरस भएको होटल तथा रेष्टुरेन्टहरूको बाहिरी र भित्री सरसफाई तथा सजावट गर्न थालिएको छ । कुर्सी–टेबुललगायत झ्याल–ढोका र भाँडाकुडा सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

केही व्यवसायीले रेष्टुरेन्टलाई आकर्षित बनाउन भित्री भागमा समेत रङ्गरोगन गरेका छन् । बाहिर बाल्ने बत्तीहरूलाई व्यवस्थित गरिएको छ ।

सर्वसाधारण भने होटल तथा रेष्टुरेन्टहरू खोल्दा कतै पुनः कोरोनको संक्रमण बढ्ने त होइन भन्दै आशंका गर्न थालेका छन् ।

तथापि व्यवसायीहरू सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको बारेमा सजग रहेको भन्दै यसको पूर्ण पालना गराउनेतर्फ अग्रसर रहने बताएका छन् ।

सरकारले ६५ वर्षमाथिका ८० प्रतिशत जेष्ठ नागरिकहरूले खोप लगाइसकेको र सघन उपचार कक्षमा गत दुई हप्ता अगाडिको अवस्था भन्दा कम बिरामीहरू भएकोले होटल र रेस्टुरेन्टका टेरसहरू खोल्न अनुमति दिइएको जनाएको छ ।

सरकारको निर्णयअनुसार अहिले पनि ग्राहकहरू होटल र रेष्टुरेन्टको भित्र बसेर खान पाउने छैनन् । उनीहरू टेरसमा मात्र सीमित रहनुपर्ने छ ।

सरकारले टेरस बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म खोल्न पाइने, एउटा टेबुलमा चार जना भन्दा बढी बस्न नपाइने, एउटा टेबुलदेखि अर्काे टेबुलसम्मको दूरी डेढ मिटर हुनुपर्ने नियम बनाएको छ ।

त्यस्तै, ग्राहकले टेरसमा मात्र बसेर खान पाउने, होटल तथा रेष्टुरेन्टका कर्मचारीहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, ग्राहकहरूले खानाको समय बाहेक अन्य समयमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने जस्ता मापदण्ड तोकेको छ ।

यसका बाबजुद सरकारले मध्यराति अर्थात् १२ बजेदेखि बिहान ५ बजेसम्म तीन जना भन्दा बढी मानिस जम्मा हुन निषेध गरिएको छ । एकाघरमा भने यो नियम लागु हुने छैन ।

साँस्कृतिक कार्यक्रम तथा पूजापाठका लागि बाहिर ५० जना भन्दा बढीको भेला गर्न पाइने छैन ।

मनोरञ्जन पार्क तथा दैनिक उपभोग्य बस्तु खरिद गर्ने स्थानमा २५ जना भन्दा धेरै भेला हुन पाइने छैन भने खेल प्रतियोगिताहरू दर्शकविहीन हुने छन् ।

यसैबीच शुक्र र शनिबार अपरान्ह १० देखि १२ बजेसम्म बेल्जियमको राजधानी ब्रसेल्समा कर्फ्यू आदेश गरिएको छ । उक्त समयमा घरबाट कसैलाई ननिक्लन र जो जहाँ छ त्यहीँ रहन भनिएको छ । कर्फ्यू उल्लंघन गर्ने व्यक्तिलाई प्रतिब्यक्ति २५० युरो अर्थात् करिव ३५ हजार रुपैयाँ जरिवाना हुने पनि जनाइएको छ ।