रौतहटमा शनिवारदेखि सवारी साधन तथा होटल रेस्टुरेन्ट बन्द हुने

रौतहटमा शनिवारदेखि सवारी साधन तथा होटल रेस्टुरेन्ट बन्द हुने


  • आरके श्रीवास्तव, रौतहट

रौतहटमा आगामी शनिवार (२५ वैशाख) देखि सवारीसाधन तथा होटल रेस्टुरेन्टहरु बन्द हुने भएको छ । बढ्दै गरेको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले वैशाख २५ गते शनिवारदेखि सार्वजनिक तथा निजी सवारी साधन र होटल रेस्टुरेन्टहरु पूर्ण रुपमा बन्द गर्न लागेको छ ।

विश्वभरी अहिले दोश्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेकोले यसलाई रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा सवारी साधन तथा होटल रेस्टुरेन्टहरु बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सवारीसाधन तथा होटल रेस्टुरेन्टहरुमा अस्वभाविक रुपमा मानिसहरुको भिडभाड हुने गरेकोले यसले झन् कोरोना भाइरस फैलन सक्ने खतरालाई मध्यनजर गर्दै शनिवारदेखि जिल्लामा सञ्चालित सम्पुर्ण होटल, रेस्टुरेन्ट तथा निजी एवं सार्वजनिक सवारी साधनलाई बन्द गर्न लागेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पछिलो समय देशसहित रौतहटमा समेत कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएकोले अवस्था भयावह हुन नदिन तथा आमनागरिकलाई कोरोनाबाट सुरक्षित राख्न यस्तो कदम चाल्न लागेको सिडियो यादवले बताए ।

शुरुमा सवारी साधन र होटल रेस्टुरेन्टहरु बन्द गर्ने र पछि अवस्था हेरेर थप कदम चाल्दै जाने जिल्ला प्रशासन कार्यालय रौतहटको तयारी रहेको बुझिएको छ । गृहमन्त्रालयले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन वा निषेधाज्ञा लागु गर्न देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ भने तीव्र गतिमा संक्रमितको संख्या बढ्दै जानुले रौतहटमा अब ५ सय संक्रमितको संख्या पुग्न बेर नलाग्ने अनुमान गरिएको छ ।