चीनले किन गऱ्यो अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन ?

चीनले किन गऱ्यो अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन ?



चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलियाविरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।

साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ ।

बिहीबारको नयाँ घोषणाले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ । साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया-प्रशान्त क्षेत्रसम्बन्धी अस्ट्रेलियाली कुटनीतिका जानकार केटलिन बायर्नले बताउनुभयो । उनका अनुसार दुवै मुलुकबीच सन् २०१७ यता कुनै छलफल नै भएको छैन ।

चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामानको आयात रोक्का गरेपछि दुवै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसको मस भएको छैन ।

अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नले भनेका छन्, ‘यो साँच्चिकै महत्वपूर्ण र साङ्केतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ ।’

चीन सरकारले अस्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन-अस्ट्रेलिया रणनीतिक आर्थिक संवादअन्तर्गत सबै कृयाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।

चीनले यस्तै संवादहरु अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ ।

‘यो दुर्भाग्यपूर्ण हो । हामीले चीनसँग संवाद गरेकै राम्रो हो,’ अस्ट्रेलियाका विपक्षी नेता एन्थोनी अल्बानेसले सिड्नीमा बताएका एपीले सम्प्रेषण गरेको छ । एन्थोनीले भनेका छन्, ‘यो चीनको मामिला मात्र होइन, दुबै मुलुकसँग यो सम्बन्धित छ ।’

चीनको अस्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ । चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ ।

गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो । खासगरी कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अस्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो ।

चिनियाँ मन्त्रीहरुले अस्ट्रेलियाली समकक्षीले गरेका फोन समेत लिन अस्वीकार गरेका थिए । अस्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा व्यक्त गरेका छन् । उनले आफूहरु संवादका लागि खुला रहेको र मन्त्री स्तरमा छलफल गर्न तयार रहेको जनाएका छन् ।

अस्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुवै देशको दाबी छ । किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन् । अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो ।

गत महिना अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको ‘बेल्ट एन्ड रोड (बिआरआई)’ सँग गरेको दुई वटा सम्झौता रद्द गरिदिएको थियो । अस्ट्रेलियाली विदेशमन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रप्रति लक्षित नरहेको बताएका थिए, तर चीनले अस्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ ।