भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित



कोरोना भाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।

भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको बताइएको छ । कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि त्यहाँ दिनप्रतिदिन बढ्दो छ ।