तिलोत्तमाका मेयर उपमेयर चढ्ने गाडी अब ‘एम्बुलेन्स’ बन्ने

तिलोत्तमाका मेयर उपमेयर चढ्ने गाडी अब ‘एम्बुलेन्स’ बन्ने


  • सुरेश परियार, बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ । मेयर बासुदेव घिमिरेले लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

नगरपालिकाभित्र दिन–प्रतिदिन कोरोना संक्रमितको संख्या थपिँदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।

‘नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छट्पटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ मेयर बासुदेव घिमिरेले भनेका छन् । उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उनले जानकारी दिए ।

साथै, नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ। दैनिक करिव दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित छन्।