मेयर-उपमेयरका गाडीलाई ‘एम्बुलेन्स’, टिप्परलाई ‘शवबाहन’ बनाउने अमरगढीको घोषणा

मेयर-उपमेयरका गाडीलाई ‘एम्बुलेन्स’, टिप्परलाई ‘शवबाहन’ बनाउने अमरगढीको घोषणा


  • डम्बर निदाल, डडेल्धुरा

महामारी बनेर फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाले नगरप्रमुख, उपप्रमुखले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स र नगरपालिकामा रहेको टिप्परलाई शवबाहन बनाउने घोषणा गरेको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका जनप्रतिनिधिहरूले आफू सवार हुने सरकारी गाडीलाई एम्वुलेन्स बनाउने घोषणा गरेका हुन् ।

जनताको हितका लागि काम गर्नु नै जनप्रतिनिधिको कर्तव्य भएको र, पछिल्लो समयमा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला अमरगढीको यो निर्णयले जनप्रतिनिधिमाथिको दृष्टिकोमा परिवर्तन ल्याउन सक्ने ठानिएको छ ।

अमरगढी नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्ने २३९ नं बोलेरो जिपलाई जनताका लागि एम्बुलेन्स बनाउने र नगरपालिकाको टिप्परलाई शवबाहन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले जानकारी दिए ।

‘अहिले देशैभरी दोस्रो लहरको कोरोना भाइरस तीव्र रूपमा फैलिरहेको र दोस्रो चरणको भाइरस बढी हानिकारक रहेको, साथै यसबाट दिन–प्रतिदिन संक्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । यस्तो अवस्थामा कसलाई कतिबेला अप्ठ्यारो पर्छ थाहा हुँदैन । हरदम जनताप्रति उत्तरदायी भएर काम गर्नु नै कुनै पनि जनप्रतिनिधिमूलक निकायको दायित्व हो । त्यसैले जनताको हितलाई प्राथमिकतामा राखेर जनताको काममा लागिपर्न अमरगढी नगरपालिका अग्रसर रहने छ’– उनले बताए ।

सरकारी गाडीलाई एम्वुलेन्स र शवबाहन बनाउने डडेल्धुरा सम्भवतः पहिलो नगरपालिका बन्न पुगेको छ ।

अमरगढी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको भृकुटी प्राथमिक विद्यालयमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरेको जनाएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेकोे जानकारी दिएको छ । तर अक्सिजन सिलिन्डरका लागि टेन्डरमार्फत प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी साउँदले जानकारी दिए ।

यसैगरी नगरपालिका परिसरमा हप्तामा तीन दिन स्वाब संकलनको व्यवस्था मिलाइएको छ भने सुदूरपश्चिम प्रदेशको एक मात्र सङ्घीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभावलाई राहत गर्नका लागि चार जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । निर्णयलगत्तै चार जना स्वास्थ्यकर्मीलाई बुधबारदेखि नै डडेल्धुरा अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।