थप ४२ मिलियन डोज भ्याक्सिन किन्दै अष्ट्रिया

थप ४२ मिलियन डोज भ्याक्सिन किन्दै अष्ट्रिया


  • प्रतीक्षा खड्की (सुवेदी), अष्ट्रिया

कान्सलर (प्रधानमन्त्री) सेबास्टियान कुर्ज नेतृत्वको मिलिजुली सरकारले २०२२ को लागि अतिरिक्त ४२ मिलियन डोज कोरोनाविरुद्धको भ्याक्सिन किन्ने निर्णय गरेको छ ।

४२ मिलियन डोज भ्याक्सिनका लागि आवश्यक ८०० मिलियन युरो छुट्टाइएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जानाकारी दिए । पत्रकार सम्मेलनमा कुर्जले बताएअनुसार अष्ट्रियाले यो बाहेक ७२.५ मिलियन डोज १२०० मिलियन युरोमा किन्ने सम्झौता पहिला नै गरिसकेको छ, सोही सम्झौताअनुशार हरेक दिन ३० हजार जनाभन्दा बढी नागरिकलाई खोप दिइँदै आएको छ ।

कुल ८.५ मिलियन जनसंख्या रहेको अष्ट्रियामा यतिका संख्यामा भ्याक्सिन किन खरिद गरिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा चान्सलर कुर्जले भने, ‘हामीलाई आवश्यक भन्दा बढी भएको भ्याक्सिन बेच्न पनि सकिने तथा सहयोगस्वरुप कुनै देश वा कुनै सहयोग निकायहरुलाई अनुदानस्वरुप वितरण गर्ने सोच हामीले बनाएका छौँ ।’

४२ मिलियन अतिरिक्त डोज मध्ये ३५ मिलियन डोज फ़ाइजर र बायो एन टेक, ३ मिलियन मोर्डना र ४ मिलियन डोज जोन्सन जोन्सन कम्पनी बाट खरिद गरिने जनाइएको छ।

कोभिड १९ सम्बन्धमा कुन खोप कहिलेसम्म या प्रथम चरण दुई पटक खोप लिएका नागरिकहरुलार्इ कति समयको अन्तरमा पुनः खोप लगाउने भन्ने बारेमा स्पष्ट कुरा बाहिर आइनसकेको भन्दै चान्सलर कुर्जले अगाडी भने, ‘हाम्रो प्रथम प्राथमिकता भनेको यो कठिन परिस्थितिसँग बाहिर आएर हाम्रो जब मार्केट तथा हाम्रो अर्थतन्त्रलाई ढल्न नदिनु हो ।’ यसका लागि सरकारबाट गर्न सकिने सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने उनले बताए ।

स्मरण रहोस्, अष्ट्रियाले करिव एक महिना तेस्रो पटक गरिएको लकडाउनलाई क्रमवद्ध खुलाउँदै लैजाने भन्दै मे ३ सोमबारबाट लकडाउनलाई खुकुलो बनाएको छ भने यसै महिनाको १९ तारिकबाट रेस्टुरेन्ट तथा होटलहरु पनि विशेष सावधानीका साथ खुला गर्ने भनिएको छ ।

symbolic pict:google