जनशक्ति अभावले डडेल्धुरा अस्पतालको उपचार-प्रणाली प्रभावित

जनशक्ति अभावले डडेल्धुरा अस्पतालको उपचार-प्रणाली प्रभावित


  • डम्बर निदाल, डडेल्धुरा

संघीय सरकारमातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावले उपचारमा समस्या पैदा भएको छ । सात पहाडी जिल्लाको केन्द्र भएकाले डडेल्धुरा अस्पताल केही समययता कोरोना भाइरसका बिरामीले भरिएको छ, तर अस्पतालमा दक्ष जनशक्ति नहुँदा उपचारमा समस्या हुने गरेको हो ।

डडेल्धुरा अस्पताल सुदूरपश्चिमका अन्य पहाडी जिल्लाको केन्द्रका रूपमा रहनुका साथै अन्य अस्पतालको तुलनामा सुविधासम्पन्न भएकाले अन्य जिल्लाका कोरोना भाइरसका बिरामी उपचारका लागि डडेल्धुरा अस्पताल आउने गरेका छन् । यसले गर्दा यस अस्पतालमा कोरोनाका बिरामीको चाप बढेको छ ।

अस्पतालमा अहिले क्षमताभन्दा पाँच गुना बढी संक्रमितहरूको उपचार भइरहेको छ । स्वास्थ्य सिद्धान्तअनुसार एक जना बिरामीका लागि एक नर्स हुनुपर्ने भए पनि डडेल्धुरा अस्पतालको आइसीयुमा जम्मा पाँच जना मात्रै नर्सिङ स्टाफ रहेका छन् ।

अस्पतालमा अहिले २५ जना सक्रिय कोरोना संक्रमितको उपचार भइरहेको छ । पाँच नर्समा पनि केही मात्रै दक्ष रहेको डडेल्धुरा अस्पताल स्रोतको भनाइ छ । आईसीयुमा उपचार गराइरहेका बिरामीका लागि २४सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।

२४सै घण्टा सेवा दिँदा एक दिन बिदा दिनुपर्ने प्रावधान भए पनि अहिले नर्सहरू मात्र मात्रै नभई चिकित्सकले समेत आराम गर्ने समय पाएका छैनन् । आराम गर्ने समय नपाउँदा स्वास्थ्यकर्मीहरू नै बिरामी हुन सक्ने भन्ने चिन्ताले सताएको डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदिशचन्द्र बिष्टले बताए ।

अस्पतालमा भएका नर्समा पनि कोही स्वयम् कोरोना संक्रमित हुँदा उपचारमा समस्या आउन सक्ने भएकाले समयमा जनशक्तिको व्यवस्था गरिदिन अस्पतालले आग्रह गरेको छ । नर्स मात्रै नभई विषयविज्ञ चिकित्सकको समेत अभाव भएको उनले जानकारी दिए ।

आईसीयुका लागि एमडी एनेस्थेसियाको आवश्यक पर्छ । तर यतिबेला डडेल्धुरा अस्पतालमा एक जना मात्रै ऐनेस्थेसिया रहेकाले सेवा दिनका लागि समस्या भइरहेको छ । एमडी एनेस्थेसियाले पनि २४सै घण्टा बिरामीको निगरानी गर्नुपर्ने भए पनि एक जना मात्रै हुँदा समस्या परेको अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले दुई जना फिजिसियन रहेका छन् । आईसीयुमा रहेका बिरामीका लागि फिजिसियन चिकित्सकले पनि नियमित रूपमा निगरानी गर्नुपर्ने भए पनि त्यो नहुँदा कोरोना भाइरस संक्रमितको उपचारमा थप जटिलता परेको अस्पताल सुत्रको भनाइ छ ।