उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने


शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई मन्त्रालयले कारवाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।’

यसै क्रममा शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड-१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले त्यस किसिमको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भएको छ ।